• १५ मंसिर २०८१, शनिबार

सीमा क्षेत्रका गाउँ रित्तिँदै

blog

चित्र मिजार

सिन्धुपाल्चोक, असार ३१ गते । युवा जनशक्ति बिदेसिन थालेपछि सिन्धुपाल्चोक जिल्लाका भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका आधा दर्जन गाउँ रित्तिँदै गएका छन्। 

घरपरिवार चलाउन वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता भएपछि पाँच वटा वडा रहेको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका दुई वटा वडाका घरमा ताल्चा लाग्न थालेको हो। भोटेकोशीको तातोपानी, लिस्ती, दुगुनागढी, फुल्पिङकट्टी, मार्मिङ, बोक्चेन र बाह्रबिसे नगरपालिकाको घुम्थाङ, गातीलगायत गाउँका युवा जनशक्ति विदेश पलायन भएका हुन्। 

भोटेकोशी गाउँपालिकामा अहिले १७ हजार जनसङ्ख्या छ। उक्त जनसङ्ख्यामध्ये आधाभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन्। बाह्रबिसे नगरपालिका–५, ६ र ७ का गरी दुई हजारभन्दा बढी युवा बिदेसिएका छन्। वैदेशिक रोजगारीमा गएका अधिकांश युवा खाडी मुलुकमा छन्। केही अमेरिका, जापान, पोर्चुगल गएका छन्। 

यी गाउँका बालबालिका र ज्येष्ठ नागरिकबाहेक काम गर्न सक्ने सबै वैदेशिक रोजगारीमा गएका छन्। विदेश जाने र बजार झर्ने क्रमले गाउँमा मलामी र जन्ती जाने मान्छेसम्म भेटिँदैन। यी गाउँमा युवा विदेश गएपछि वृद्धवृद्धा मात्रै भेटिन्छन्। केही महिला छोराछोरीलाई बोडिङ स्कुलमा पढाउन बजार झरेका छन्। यहाँको मुख्य पेसा कृषि र पशुपालन नै भए पनि निर्वाहमुखी कृषिले युवा जनशक्तिलाई रोक्न सकेको छैन। युवा जनशक्ति नै नभएपछि अहिले त गाउँका खेतबारी बाँझिन थालेको स्थानीयले बताएका छन्। 

गाउँमा रोजगारीका अवसर नभएको र तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा नआएपछि उत्तरी सीमा क्षेत्रका युवा रोजगारीका लागि बिदेसिएका हुन्। तातोपानी नाका पूर्ण रूपमा सञ्चालन भएको अवस्थामा यी गाउँका युवकयुवती सामान्य झोलेपोके व्यापार, ठुला व्यापारीका सामान आयात–निर्यातमा मजदुरी गर्नेलगायतका काम गरेर घरपरिवार चलाउने गर्थे। २०७२ वैशाखको भूकम्पपछि यो नाका धेरै समय बन्द रहेको र खुला हुँदा पनि पूर्ण रूपमा सञ्चालन नभएपछि सीमा क्षेत्रका युवकयुवती बेरोजगार भई रोजगारीका लागि विदेश पलायन हुन थालेका हुन्। 

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले युवा शक्ति गाउँमै बसेर स्वरोजगार र रोजगारी बन्न सक्ने अभियानमा लागेको जानकारी दिनुभयो। युवा, महिला, दलित, विपन्नलाई इच्छाएको विषयमा तालिम, सिप सिकाएर क्षमतावान् बनाउने, उनीहरूको सर्वाङ्गीण विकासमा गाउँपालिका सचेत भएर लागेको उहाँले बताउनुभयो।