काठमाडौँ, असार ३१ गते । राष्ट्रिय जनगणना २०४८ देखि २०७८ सम्म आइपुग्दा जनगणनाको त्रुटि क्रमिक रूपमा कम हुँदै गएको छ । राष्ट्रिय जनगणनाको त्रुटि पत्ता लगाउन गरिने जनगणना जाँच परीक्षणका नतिजा अनुसार क्रमिक रूपमा त्रुटि कम हुँदै गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको हो ।
कार्यालयले केही दिनअघि सार्वजनिक गरेको गणना जाँच सर्वेक्षणको प्रतिवेदनमा अनुसार २०४८ सालमा गरिएको जनगणनामा कुल जनसङ्ख्याको ११ प्रतिशत जनसङ्ख्याको जनगणना गर्न छुटेको, २०५८ सालमा पाँच, २०६८ सालमा ३.६ र २०७८ सालमा आइपुग्दा सो प्रतिशत घटेर २.७३ प्रतिशतमा झरेको कार्यालयले जनाएको छ ।
कार्यालयले गत चैतमा सार्वजनिक गरेको नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ थियो । उक्त जनसङ्ख्यामा अहिले सात लाख ७१ हजार ९९८ जनसङ्ख्या गणना गर्न छुट भएको देखिएको छ ।
कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनाको प्रभावकारी जाँच गर्न प्रत्येक वर्ष राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक भएको केही महिनाभित्र जनगणनाको जाँच परीक्षण गर्ने गरिएको बताउनुभयो । उहाँले विगतमा चार पटक भएको जनगणनाको नतिजालाई आधार मान्दा नेपालमा जनगणनाको त्रुटि हुने क्रम क्रमिक रूपमा कम हुँदै गएको प्रस्ट भएको बताउनुभयो ।
सर्वेक्षणबाट पत्ता लागेको छुट जनसङ्ख्यालाई यसअघि सार्वजनिक गरिएको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मा नजोडिने कार्यालयले स्पष्ट गरेको छ । उहाँले भन्नुभयो, “जनगणनापछिको प्रक्रिया मात्र पूरा गरिएको तर यो सङ्ख्या कुल जनसङ्ख्यामा जोडिँदैन ।” यसअगाडिको जनगणनापछि गरिने जनगणना जाँच परीक्षणका नतिजालाई पनि कुल जनगणनामा जोडिने गरिएको थिएन ।
जनगणना जाँच परीक्षणका गर्दा जनगणना गर्न छुटेको प्रतिशत २.५९ र दोहोरो गणनामा परेको ०.१४ प्रतिशत भएको पाइएको छ । जनगणना जाँच परीक्षणको त्रिभुवन विश्वविद्यालयलाई जिम्मेवारी दिएको थियो । कार्यालयका निर्देशक लामिछानेले जनगणना जाँच परीक्षणले गणना हुनुपर्ने व्यक्ति छुटेको, दोहोरिएको वा गलत गणना भएको विवरण पत्ता लगाउन सहयोग पुगेको बताउनुभयो । जाँच परीक्षण गर्दा नमुना सर्वेक्षणको विधि अनपाइएको थियो ।
राष्ट्रिय जनगणनाका क्रममा हरेक देशमा यस्तो त्रुटि हुने गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । उहाँले नेपालमा भने हरेक गणनामा क्रमिक रूपमा त्रुटि कम हुँदै जानु सकारात्मक भएको बताउनुभयो ।