गोरखापत्र अनलाइन
काठमाडौं, असार ३० गते । नेकपा (एमाले) ले वर्तमान सत्ता गठबन्धनले संविधानको उल्लङ्घन गरिरहेको आरोप लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा आज बसेको बैठकले सो आरोप लगाएको हो ।
संवैधानिक संस्थाहरुमा हस्तक्षेप गरी लोकतन्त्रलाई खल्बल्याउने काम पनि सरकारले गरिरहेको एमालेको टिप्पणी छ । कोशी प्रदेश सभामा सत्ता गठबन्धनले संविधान बिरोधी क्रियाकलाप गरेको ठहर बैठकले गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्य मान्यता एवं आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको प्रहार भएको ठहर बैठकले गरेको उहाँले बताउनुभयो ।
असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न एमालेले माग गरेको उहाँले बताउनुभयो । देशभर फैलिएको लम्पी स्किनबाट हालसम्म ७ लाख ६४ हजारभन्दा बढी चौपाया संक्रमित भएको, २७ हजार गाईवस्तुको ज्यान गएकाले त्यसको नियन्त्रणमा ध्यान दिन एमालेले सरकारसँग आग्रह गरेको छ ।
बैठकले वागमती प्रदेशको इन्चार्जमा गुरु बराललाई जिम्मेवारी तोकेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न, बीमा रकम तत्काल भुक्तान गर्न, खोपको प्रभावकारी प्रवन्ध गर्न र किसानलाई राहत दिन सरकारसँग माग गरेको ज्ञवालीले जानकारी दिनुभयो ।
किसानले सुलभ रुपमा रासायनिक मल पाउने व्यवस्था गर्न पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । मिटरब्याजसम्बन्धी विधेयकलाई लिएर एमालेप्रति नकारात्मक भ्रम फैलाइएकोप्रति आपत्ति जनाउँदै विधेयक पास गर्न तत्काल आवश्यक कानूनी प्रवन्ध गर्न एमाले माग गरेको छ ।
त्यसका लागि अविलम्व नयाँ विधेयक ल्याई समस्या समाधान गर्न एमालेको आग्रह छ । त्यस्तै, बैठकले स्वतन्त्र र स्वायत्त प्राज्ञिक संस्थामाथि सत्तापक्षबाट हस्तक्षेप भइरहेको भन्दै सरकारको कदमको भत्र्सना गरेको छ । बैठकले अविरल वर्षाका कारण आएको विपद्ले गरेको क्षतिको परिपूर्ति गर्न पनि एमालेले सरकारसँग माग गरेको छ ।
प्राकृतिक बिपत्तिमा परेका नागरिकको राहत र उद्धारका लागि तत्काल काममा खटिन पार्टी संवद्ध युवा, विद्यार्थी, भूपुसैनिक, प्रहरीसहित पार्टी पङ्तिलाई एमालेले आह्वान गरेको छ ।