• १५ मंसिर २०८१, शनिबार

मदन भण्डारी स्मृति उद्यानमा वृक्षारोपण

blog

वृक्षारोपण कार्यक्रममा एमाले वरिष्ठ नेता ईश्वर पोखरेलसहितका नेताहरु । तस्बिर : कृष्णगोपाल श्रेष्ठ

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३० गते । नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका –१३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ । शनिबार काठमाडौं विष्णुमती कोरिडोरस्थित निलबराहीको टंकेश्वर वडा १३ मा वृक्षारोपण गरिएको हो ।

स्व.मदनकुमार भण्डारीको ७२ औँ स्मृति दिवसको अवसरमा काठमाडौं उपत्यकालाई सहरीकरण, सौन्दर्यकरण र मनोरम सहर बनाउने अभियान अन्तर्गत वृक्षारोपण गरिएको सो दलले जनाएको छ ।

वातावरण सुन्दर होस् र कोही पनि भोको रहनु नपरोस् भन्ने हेतुले सहरी सौन्दर्यीकरण बढाउन र खाद्य सम्प्रभुताको विषयलाई पनि आम जनताको बीचमा चेतना फैलाउन यो अभियान सञ्चालन गरेको एमाले वडा १३ कमिटीका सदस्यले बताएका छन् । 

वृक्षारोपण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलले वातावरण, नदी, सम्पदा संरक्षणको क्षेत्रमा, सुविधा उपलब्ध गराउने क्षेत्रमा वृक्षारोपणको कार्यक्रम सुरु गरिएको बताउनुभयो । 

सो क्षेत्र काठमाडौं उपत्यकाको पिछडिएको क्षेत्र भएकाले त्यसको प्रवर्धनका लागि वृक्षारोपण गरेको उहाँको भनाइ छ । वातावरण संरक्षणका साथै नदी संरक्षणका लागि पनि पहल गरेको उहाँको भनाइ छ । अब काठमाडौं सहर संरक्षणको काममा सबैले हातेमालो गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।