• १५ मंसिर २०८१, शनिबार

राशि र नक्षत्रका आधारमा वृक्षरोपण

blog

राममणि दाहाल

हेटौँडा, असार ३० गते । मकवानपुरमा नयाँ प्रयोगसहित धर्म, प्रकृति र संस्कृतिको समायोजन गर्दै नक्षत्र बगैँचा निर्माण गरिने भएको छ।  नक्षत्र अनुसारको बिरुवा रोपण, सेवा र पूजाले नक्षत्रले मानिसमा पार्ने प्रतिकूल प्रभावसमेत कम हुने विश्वासका साथ मकवानपुरमा पहिलो पटक राशि र नक्षत्रका आधारमा वृक्षरोपण गर्दै नक्षत्र बगैँचा निर्माण सुरु गरिएको हो।

डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरको आयोजनामा बिहीबार भीमफेदी गाउँपालिका–१, बुङ्दलस्थित दरबारडाँडा सामुदायिक वन क्षेत्रमा २७ नक्षत्रका आधारमा २७ प्रजातिका वृक्षरोपण गरिएको हो। 

डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले एकादशीको दिनसमेत पारेर वृक्षरोपण गर्ने भूमि र बिरुवाको पूजाआजा गरी वृक्षरोपण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार १०८ फिट लम्बाइ र १०८ फिट चौडाइको जमिनमा प्रकृति र संस्कृतिको समायोजन गरी नक्षत्र वाटिका बनाउने उद्देश्यसहित वृक्षरोपण गरिएको हो। 

“नयाँ प्रयोग गरेका छौँ, एकै स्थानमा २७ प्रजातिका बिरुवा रोपेर जैविक विविधताको संरक्षण गर्ने प्रयाससमेत भएको छ। पूर्वीय दर्शन अनुसार ग्रह, नक्षत्रको सन्तुलन बिरुवाद्वारा हुन्छ। सोही अनुसार वृक्षरोपण गर्ने प्रयास पनि भएको छ। वृक्षरोपणका सहभागीले आफ्नो राशि अनुसार बरपिपल, पलाँस, लहरेपिपल, केरा, बाँसलगायतका बिरुवा रोपे,” उहाँले भन्नुभयो। 

शारीरिक, मानसिक, आध्यात्मिक हिसाबले २७ नक्षत्रका लागि सिफारिस गरिएका र नक्षत्र वाटिकामा नक्षत्रसँग मेल खाने गरी बिरुवाको चयन गरिएको जानकारी उहाँले दिनुभयो। 

नक्षत्र अनुसारको बिरुवा रोपण, सेवा र पूजाले नक्षत्रले पार्ने प्रभावसमेत कम हुने विश्वासका साथ वृक्षरोपण गरिएको उहाँले बताउनुभयो। यस्तै नक्षत्र बगैँचा जनकपुरधाममा रहेको भन्दै उहाँले नक्षत्र अनुसारको २७ प्रजातिका बिरुवामध्ये २३ प्रजातिको मात्र पाइएको र बाँकी चार प्रजातिको बिरुवा जनकपुरबाट मगाइएको छ।