• ११ पुस २०८१, बिहिबार

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित

blog

अर्थमन्त्री प्रकाशशरण महत संघीय संसद् भवन नयाँबानेश्वरमा बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक,२०८० का विभिन्न शीर्षकहरू माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै। तस्बिरः नवीन पौडेल/रासस

काठमाडौं, असार २८ गते । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । 

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । 

बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो । प्रतिनिधि सभाबाट यही असार १३ गते आगामी आवको बजेट पारित भएको थियो । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । 

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ । राष्ट्रियसभाको अर्को बैठक आजै १३ मिनेटपछि बस्ने गरी स्थगित भएको छ । रासस