• ९ मंसिर २०८१, आइतबार

आख्यानकार पुष्कर लोहनी : एक मूल्याङ्कन

blog

आम पाठकका लागि पुष्कर लोहनी एउटा सन्दिग्धताको नाम हो, जसलाई पढ्दा होस पु-याउनुपर्छ । किनभने उनी ‘वर्जित क्षेत्र’ का स्रष्टा हुन् । समालोचक तथा अध्येताहरूका लागि उनी चुनौती हुन्, किनकि उनको अध्ययनको दायरा ज्यादै फराकिलो छ र अलिकति भुलचुक भयो भने उनीमाथि न्याय गर्नै सकिन्न । एकल लेखनका कृतिहरूमा चहकदार मइन्टोल र पिलपिले लालटिन, धरहराको टुप्पो र अदृश्य मान्छे जस्ता पुस्तक देखापर्छन् जबकि आकाश विभाजित छ, पीपलबोट र केराको थाम जस्ता केही कृति सहलेनखमा प्रकाशित छन् । उमेरले पचासी छोइसकेका लोहनीले एकल कृतिको सङ्ख्याको यस न्यूनतालाई कहिल्यै उनको साहित्यकारिताको दुरुहताका रूपमा परिभाषित हुन दिएनन्, कारण उनी पत्रपत्रिकामा छाइ नै रहे । बाटोमा तगारो तेस्र्याउनेहरूलाई र समग्र साहित्यलाई छद्म बौद्धिकता र पूर्वाग्रही ठेकेदारीको बाली ठान्नेहरूलाई गाली गरि नै रहे । 

वर्जित विषयको लेखन, व्यापक अध्ययन र निर्भीक अभिव्यक्तिका कारण एक टापु बन्न पुगेका एकल यात्री हुन् पुष्कर लोहनी । तर पनि साहित्यको कुनै पनि इमानदार इतिहासकार वा समालोचकले कविता या कथा विधामा यौन साहित्यको एक उन्नायकका रूपमा उनको उपेक्षा गर्ने साहस त के कल्पना पनि गर्न सक्दैन । 

पुष्कर लोहनी एक मूर्तिभञ्जक हुन्, एक विद्रोही हुन् । उनको विद्रोह कुनै निश्चित समयसीमाभित्र बाँधिएको एक राजनीतिक विद्रोहभन्दा नितान्त फरक छ । यो मानसिकताको विद्रोह हो, एक वैचारिक ‘म्युटिनी’ हो । उनी समाजको अग्रगतिलाई शदियौँदेखि कुण्ठित पारिरहने जडसूत्रवादी सोचका विरुद्ध आधा शताब्दीदेखि सतत विद्रोह गरिरहेका छन् । यौन र यसको वरिपरिको यथार्थ, जुन सबै वयस्कहरूको सपना–विपनाको एक नैसर्गिक आयाम हो, उनको लेखनीको अन्तर्वस्तु हो । अरूले बिरलै बटुलेको साहस उनीसँग छ, जसको ल्याकतको आकलन उनका आख्यानहरूमा सहजै गर्न सकिन्छ । यौन फगत उनको कुण्ठा मात्र होइन, यो समाजको यथार्थ हो जसको कालो र गोरो दुवै स्वरूपको इमानदार चित्रण उनको कथाका पात्रहरूले गरिरहेका हुन्छन् । यस अर्थमा पुष्कर लोहनी मानवीय मनोविज्ञानका एक वाचाल अध्येता हुन् । 

जहाँसम्म लोहनीको आख्यानको प्रश्न छ, पुष्कर लोहनीको लेखन तीन दृष्टिकोणले महत्वपूर्ण छ । पहिलो, उनको विषयको ऐक्य, दोस्रो अश्लील मानिएको विषयको चयन र तेस्रो विषयवस्तुको गहन ज्ञान । उनले १७ वर्षको उमेरमा पहिलो पल्ट यौन विषयमा कलम चलाए । २०१७ मा २२ वर्षको उमेरमा । २०२० मा २५ वर्षको उमेमा इन्दु र रूपरेखा पत्रिकामा क्रमश ‘परिस्थिति’ र ‘कौडी’ शीर्षकका यौन कविता छपाए । तीमध्ये ‘कौडी’ उनको साहित्यिक परिचयको कोसेढुङ्गो बन्न पुग्यो । कथातर्फ फर्कंदा २०१६ सालमा ज्योति पत्रिकामा सर्वप्रथम उनको ‘चिसो चुह्लो तातो खरानी’ शीर्षकको कथा प्रकाशित भएको पाइन्छ ।  अहिलेसम्म उनले तीन दर्जन जति कथा प्रकाशित गरेका होलान् तर धरालाको टुप्पो उनको एक मात्र प्रकाशित कथा–सङ्ग्रह हो । छोटा आकारको कथाको सङ्ग्रह पनि प्रकाशनको मिति पर्खेर बसेको छ । यस्ता कथालाई उनले ‘कुथुङ्ग्री’ भनेका छन् । 

एउटा अल्लारे युवकमा यौनको चासो, जिज्ञासा र कुण्ठा हुनु स्वाभाविकै हो तर यौन मनोविज्ञानको समान्य विश्लेषणलाई पनि चुनौती दिँदै आज करिब ८५ वर्षको उमेरमा पनि उनी यौन विषयमै कलम चलाइरहेका छन् । आश्चर्यको कुरो यो छ, अरूहरूले सामान्य रूपमा ग्रहण गरेका दृश्य, विम्ब र घटनाहरूको उनी यौनिक विश्लेषण गरिदिन्छन् र बडो सहजताका साथ त्यसको पुष्टि गरिदिन्छन् । यस विलक्षणतलाई कतिपयले कुण्ठित मानसिकताको पूर्वाग्रही विश्लेषण भनेको पनि सुनिन्छ तर हरेक कुरालाई आफूले साधना गरेको मूल विषयको प्रवाहमा जोडन सक्नु र तार्किकताका साथ पुष्टि गर्न सक्नु आफैँमा एक विशेष क्षमता हो । उनले आफ्नो यस प्रतिभाको यसरी विश्लेषण गरेका छन्, कुनै ठाउँमा ‘आफैँमा तृप्ति–अतृप्तिका कारण हल्लिँदै हल्लिँदै, हाँस्दै तर जुरुक्कै सम्पूर्णतालाई उठाएर एकै पल्ट फ्याँकिदिने प्रबल जोस । सेलाउँछ, सल्किन्छ र आफँैमा बलेर आफैँले निभाउनुपर्ने ।‘

जहाँसम्म अश्लील मानिएको विषयको चयनको प्रश्न छ, हामी  अनुमान गर्न सक्छौँ– राणा शासनको क्रूर, भयावह र दमनकारी शासन व्यवस्थामा बालापन गुजारेका लोहनीले असामाजिक र अमान्य मानिएको यौन विषयलाई निर्भीकताका साथ लेख्दै जानु, त्यसपछिका पुरातनवादी सामाजिक व्यवस्थामा पनि समाज र सत्ताबाट अनुमोदित हुन नस्कनु, तै पनि आफ्नो बाटोबाट बिल्कुल विचलित नभई निरन्तर अगि बढ्नु र आजपर्यन्त यस प्रवाहलाई अक्षुण्ण राख्नु पुष्कर लोहनीको अभूतपूर्व प्राप्ति हो । 

जहाँसम्म पुष्कर लोहनीको आख्यानकारिताको प्रश्न छ, उनको विकासको ग्राफ पनि एक औसत लेखककै जस्तो सरलबाट जटिलता र समान्यबाट परिष्कारकै बाटोमा हिँडेको देखिन्छ । वि.सं. २०१६ मा प्रकाशित कथा ‘धरालाको टुप्पो’ चरित्रचित्रण र विषयवस्तु दुवै हिसाबले कमजोर र परम्परागत छ । यो कथाले वास्तवमा यौन साहित्य हुनुको न्यूनतम मापदण्ड पनि पूरा गर्दैन । फगत एक घटनाको चित्रणमा सीमित छ । यौनक्रीडा छ तर यौन मनोविज्ञानको किनारसम्म छुँदैन । त्यसपछिका तीन कथा ‘मुतको न्यानो’, ‘लहर फुस्किएको अवस्थामा’ र ‘ओझेल परेको छाया’ मा यौन कुण्ठाबाट विकसित विचलनको चित्रण छ तर यौनबारे परम्परागत बोधबाट पृथक् र नयाँ आयाम थप्ने खालका भने छैनन् । रचनाका दृष्टिले अलि बढी परिष्कृत देखिए पनि विषयवस्तुमा परम्परागत नै छन् । तर ‘सहयोगी’ र ‘प्यारी रमा’ जस्ता पछिल्लो समयका कथामा विषयवस्तु र प्रस्तुतीकरणको नवीनता र परिपक्वता पुष्कर लोहनीको सशक्त कथाकारिताका प्रमाण हुन् । ‘खै’  र ‘कपडाका झुम्राहरू’ जस्ता कथा उनको यौन मोविज्ञानमा रहेको गहिरो दखलका परिचायक हुन् र उनलाई कालजयी अस्तित्व दिन सक्ने कथाहरू हुन् । ‘गुजुल्टो’ जस्ता कथामा भने उनले अतृप्त यौन कुण्ठाका कारण विकसित हुन सक्ने समलैङ्गिकता जस्ता विशेष र अप्राकृतिक यौनिक अवस्थाको पनि राम्रो चित्रण गरेका छन् । कथाकी मूल पात्र हुन् निना । श्रीमान्सँगको यौन सम्बन्धमा तृप्त हुन नसकेपछि सपना उनको तृप्तिको एक मात्र माध्यम बन्न पुग्छ र सपनामा उनी समलैङ्गिक सम्बन्धमा पनि सरिक हुन्छिन् । यो कथा गहन मनोवैज्ञानिक विश्लेषणका लागि एउटा सुन्दर खुराक हो । ‘मेरो राजा’ शीर्षकको कथा पनि समलैङ्गिकताको अध्ययनका लागि एक विशेष सिर्जना हो । 

लोहनीको आख्यानकारिताको एउटा विशेष पक्ष के भने पितृसत्तात्मक समाजकै एक सन्तनी भए पनि पुष्कर लोहनीले लेखनमा यौन, यौन दोष, यौन कुण्ठा, हिस्टेरिया, समलिङ्गी चरित्र, नपुङ्शकता, अतृप्ति, अति कमुकता जस्ता यथार्थको चित्रणमा उनले पुरुष र महिलालाई बराबर हिस्सेदारका रूपमा उभ्याएका छन्, जुन धेरै अन्य यौन साहित्यकारले गर्न सकेनन् । फेरि उनका सम्पूर्ण कथामा सुधारका स्वर छन्, दुराचारको विरोध छ, आत्मनियन्त्रणको आह्वान छ, अनियन्त्रित यौन कुण्ठाले निम्त्याएको भद्रगोल, विचलन, पारिवारिक कलह, हत्या, हिंसा र पागलपनको यथार्थ चित्रण छ । तर कतै पनि अनियन्त्रित र अमर्यादित यौन व्यावहारको अनुमोदन भने उनका आख्यानमा पाइँदैन । साक्ष्यका रूपमा धरालाको टुप्पो सङ्ग्रहमा तथा केही पत्रपत्रिकामा प्रकाशित उनका ‘गुजुल्टो’, ‘ओझेल परेको छाया’, ‘भेलभित्रको फोका’, ‘फर्सीको झोल’, ‘मौन इच्छा’, ‘उत्तेजित म्वाइँ’, ‘मेरो राजा’, ‘डरभित्रको स्वरूप’ र ‘शङ्काको पोका’ जस्ता उनका चर्चिक कथा  पढ्न सकिन्छ ।

उनको आख्यानकारिताको विषयमा कुरा गर्दा उनको एक मात्र प्रकाशित एकल उपन्यास अदृश्य मान्छेको पनि सङ्क्षिप्त विश्लेषण गर्नु जरुरी छ । 

कथानक नै उपन्यास हो भनेर पढ्दै आएका पाठकहरूका लागि ‘अदृश्य मान्छे’ फगत एउटा हाटबजार जस्तो लाग्छ, जहाँ अनेक थरिका, असान्दर्भिक मान्छे आउँछन् जान्छन् । तर मान्छेको नैसर्गिक स्वभाव थाहा पाएका पाठकहरूका लागि यो उपन्यास, मान्छेभित्रको मान्छेको शल्यक्रिया हो । धर्म, कर्म, मान, मर्यादा, संस्कार, संस्कृति, लोकलाज, नियम, कानुन र जनअपेक्षाका बन्धनहरूमा बाँधिएको एउटा ‘सामाजिक’ मान्छे कति खुल्छ र कति खुम्चिन्छ, त्यो छलफलको कुरा हो । तर नियमन र नियन्त्रणका यी तमाम ‘सामाजिक’ सूत्रहरूलाई फुस्काइदिन हो र मान्छेलाई स्वइच्छामा बाँच्न र विचरण गर्न दिने हो भने ऊ केके गर्दो हो– त्यो हामी सबैको नलेखिएको आत्मकथाको विषय हो । 

‘अदृश्य मान्छे’ को कथाले, पात्रले वा संवादले कुन सामाजिक मूल्य स्थापित गर्छन् र कसलाई के प्रेरणा दिन्छन् भन्ने दृष्टिले यो उपन्यास पढ्न थाल्यौँ भने हामी लेखकको उद्देश्यको निकट पुग्न सक्दैनौँ । जुन प्रकारको क्रमभङ्गता यस उपन्यासको कथानकमा देखिन्छ र उद्देश्यविहीनता, अस्पष्टता, अपरिभाष्य स्वभाव, अस्थितिर चरित्र र अविश्वसनीय आचरण यसका पात्रमा देखिन्छ । त्यसैको प्रकटीकरण यस उपन्यासको उद्देश्य हो जस्तो बुझिन्छ । विसङ्गत पात्रहरूका विसङ्गतिपूर्ण स्वभावको फेहरिस्त हो यो उपन्यास र त्यस विसङ्गतिलाई कुनै मूल्यविधान वा साझा उद्देश्यसँग लगेर जोड्न खोज्नु भनेको यस उपन्यासको मूलभूत स्वभाव र लेखकीय उद्देश्यलाई समाउन नसक्नु पनि हो । 

मोटामोटी दुई परिवारको एक एक खण्ड कथा यस उपन्यासमा लेखिएको छ । पहिलो परिवारको हो शङ्करको र दोस्रो, बुढा साहुको । यिनै परिवारको सम्बन्धको जालोमा मिसिन आउने अन्य परिवार मूल कथाका सहायक तत्व हुन् । यी दुवै परिवारको बुनोट हेर्दा लाग्छ यिनका कुनै पनि सदस्य र तिनसँग गाँसिएका अन्य परिवारका सदस्य एकै चोटि अनेक जीवन बाँचिरहेका छन् । एकैछिन्मा सभ्य, सुसंस्कृति र संयमित देखिन्छन् भने एकैछिन्मा कुण्ठित, अर्धपागल, दुव्र्यसनी, अनियन्त्रित, असभ्य, पाशविक, र विक्षिप्त देखिन्छन् । आपसमा विश्वास छ पनि छैन पनि । एकका लागि  अर्को पात्र अपरिहार्य छ पनि, छैन पनि । निर्विकल्प छ पनि, छैन पनि । बन्धनमा पनि छन्, मुक्त पनि छन् । स्थिर पनि छन्, र अस्थिर पनि । देख्दा, सम्बन्धहरू स्वाभाविक छन् तर तिनका आचरण र संवादको फेरो समाएर विश्लेषण गर्ने हो भने ती पात्र एकैचोटि अनेक जीवन बाँचिरहेका छन्– देखिने पनि र नदेखिने पनि । 

यी दुई परिवार पनि कुनै सङ्गतिपूर्ण उद्देश्यले जोडिएका छैनन् । तर एउटा परिवारको एउटा खण्डित पात्र, आफ्नो पूरक अर्को परिवारको अर्को खण्डित पात्रमा भेटिरहेको छ । नभेटेको खण्डमा ऊ, त्यस पूरकलाई गाउँमा, बजारमा, सहरमा वा अन्यत्र खोजिरहेको छ । पुरुषको पूरक महिला र महिलाको पूरक पुरुष बुझ्दै आएको समाजमा यस उपन्यासका पात्रहरूले एउटा प्रतिआख्यान प्रस्तुत गछन् । पुरुषका पूरक पुरुष पनि छन्, महिला पनि छन् । महिलाका पूरक पुरुष पनि छन्, महिला पनि छन् । अथवा दुवैका दुवै पनि छन् । बुढाहरू तन्नेरीसित आकर्षित छन् । तन्नेरीहरूको सम्बन्ध बुढाहरू पनि छ । महिलाहरूमा पुरुष स्वभाव छ अथवा दुवै छ । पुरुषहरूमा महिला स्वभाव छ । अथवा दुवै छ । के छ, के छ । 

महिला–पुरुष द्विचरकै जगमा सम्बन्धहरूलाई परिभाषित गर्र्दै आएको समाज हो हाम्रो । तर यस द्विचरका अतिरिक्त पनि लैङ्गिक स्वभाव छन् र यो प्राकृतिक र वैज्ञानिक यथार्थ हो । मर्यादाका चाङहरूले जति नै किच्न खोजे पनि यी स्वभाव किचिँदैनन् । हो, यही कठोर सत्यलाई हिम्मतका साथ उपन्यासकार पुष्कर लोहनीले यस उपन्यासमा उतारेका छन् । 

र उनले एउटा सन्देश पनि दिएका छन् । स्वभावले अनिवार्य विपरीत लिङ्गीहरू, आआफ्ना प्रेमी, प्रेमिका वा दम्पत्तिबाट यथेष्ठ माया, रेखदेख र सन्तुष्टि पाएको खण्डमा स्थिरता र सन्तोषको जीवन बाँच्न सक्छन् । तर यो प्राप्य भएन भने लैङ्गिकता, मर्यादा र उमेरका पर्खाल नाघेर उनीहरू पर्भर्ट बन्न सक्छन् र अस्वाभाविक यौन– स्वभाव र चरित्र देखाउन पुग्छन् । कुण्ठित हुन्छन्, पीडित हुन्छन्, दुःखी हुन्छन् । स्वभावले विपरीतलिङ्गी भएको मान्छे एक्कासि समलिङ्गी पनि बनिदिन्छ वा दुवै लिङ्गहरूसँग उत्तिकै आकर्षित हुन पुग्छ । कहिलेकाहीँ त ससाना बालबच्चातिर पनि झुक्न पुग्छ । तर यिनका सम्बन्धहरूको एउटा स्थायी ‘टुङ्गो’ भयो भने, यिनको समस्याको पनि समाधान भेटिन्छ । यो सन्देश यस उपन्यासमा स्पष्ट छ । लेखको उमेर हेर्दा असीको दशक पार गरेका पुष्कर लोहनीले यस उमेरमा देखाएको यो हिम्मत र साहस असामान्य हो । 

विविध यौनिक सम्बन्धहरूका बारेमा सिद्धान्तकारहरूले बुझाउन नसक्ने कतिपय जटिल यथार्थलाई सरल भाषा र बोधगम्य कथानकका माध्यमबाट उनले हामीलाई बुझाएका छन् । यो उनको अध्ययन, सुझबुझ र परिपक्वताको परिणाम हो ।