• १२ असोज २०८१, शनिबार

फुटबल क्लब सङ्घको अध्यक्षमा शेर्पा

blog

नेपाल फुटबल क्लब सङ्घका पदाधिकारीहरु ।

काठमाडौं, असार २६ गते । नेपाली फुटबलको विकास र क्लब फुटबललाई व्यावसायिक बनाउने लक्ष्यसहित कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नेपाल फुटबल क्लब सङ्घ गठन गरिएको छ ।

काठमाडौंमा सोमबार राति भएको ए, बी र सी डिभिजन क्लबका प्रतिनिधिहरूको भेलाले शेर्पाको अध्यक्षतामा नेपाल फुटबल क्लब सङ्घ तदर्थ समिति गठन गरेको हो । शेर्पा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

कार्यसमितिमा ए डिभिजन लिगबाट ६, बी डिभिजनबाट चार र सी डिभिजनबाट तीन जना गरी १३ सदस्य रहेको छ । समितिको उपाध्यक्षमा मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले र आरसीटीका कुमार राजभण्डारी रहनुभएको छ ।

यस्तै महासचिवमा मध्यपुर यूथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंह, सचिवमा सानेपा क्लबका ध्रुव विक्रम पाण्डे र कोषाध्यक्षमा एसएमएस स्पोर्ट्स साँगाका मनोरथ आचार्य रहनुभएको छ । 

यस्तै सदस्यहरूमा सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर, फ्रेन्ड्स क्लबका विश्वास विक्रम शाह, सातदोबाटो यूथ क्लबका कपिल राना, एनआरटीका डिकेन सुवाल, नयाँबस्ती युवा क्लबका रामकुमार तामाङ, सरस्वती यूथ क्लबका शिक्षित पराजुली र मनोहरा युनाइटेड क्लबका दीपक ज्ञवाली रहनुभएको छ ।

क्लबहरूले आफ्नो हक, हित र अधिकारका लागि सङ्गठित रूपमा अगाडि बढेको बताएका छन् । भेलामा सहिद स्मारक ए, बी र सी डिभिजन लिग खेल्ने ४२ मध्ये ३२ क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो ।