• २० असोज २०८१, आइतबार

नागरिकता बनाइदिन्छु भन्दै एक लाख उठाउने भारतीय नागरिक पक्राउ

blog

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख २५ गते । झापाको दमकमा भारतीय नागरिकहरूलाई नागरिकता निकालिदिन्छु भनेर रकम उठाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । यस्तो गिरोह तथा व्यक्तिहरूलाई प्रहरीले निगरानी बढाएको हो ।

भारत घर भएका २७ वर्षीय मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेर ठगी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मीले जानकारी दिनुभयो । ठाकुर विहार राज्य दरवंगा जिल्ला अलिनगर ग्राम पञ्चायतको स्थायी बासिन्दा रहेको जनाइएको छ । दमक वडा नं. ९ मा डेरा गरेर बस्ने ठाकुरले तीन जना भारतीय नागरिकहरूलाई नागरिकता निकालिदिने भनेर जनही एक लाख रुपियाँ उठाएको हो ।

नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपछि जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि ठाकुरले भारतीय नागरिकहरूबाट र नागरिकता बनाउन अति आवश्यक कागजपत्र मिलाउन नसकेकाहरूबाट पैसा उठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि रेग्मी जनाउनुभयो ।

ठाकुरले पैसा उठाए पनि नागरिकता निस्कने अवस्था नदेखेपछि ठगिएकाहरूले नै प्रहरीलाई सूचना दिएपछि यो विषय बाहिर आएको प्रहरीको भनाइ छ । २०७२ साल असोज ३ गतेभन्दा अगाडी जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने र उसको उमेर १६ वर्ष पुरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने अवस्था छ । त्यसका लागि तोकिएका कागजपत्र तथा प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

नागरिकताका लागि सिफारिस लिनका लागि दमकका वडा कार्यालयहरू र नागरिकता वितरण गर्ने इलाका प्रशासन कार्यालय दमकमा भिड लाग्दै आएको छ । कहिल्यै नदेखेका र यहाँ नबसेकाहरू समेत नागरिकता पाइन्छ भनेर आएको थाहा पाएपछि सिफारिस दिन कडाइ गरिएको दमकका एक वडाध्यक्षले बताउनुभयो । “हामीले कहिल्यै नदेखेकाहरू पनि यही बसोबास छ भन्दै आएको पनि पाइयो”, वडाध्यक्षले भन्नुभयो ।

जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालय झापाले भिड थेग्न नसकेर टोकन प्रणाली लागु गरेर नागरिकता वितरण गर्दै आएको छ । भदौ महिनासम्मको लागि अहिल्यै नै टोकन वितरण भइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।