• ४ वैशाख २०८१, मङ्गलबार

कैलालीमा साढे पाँच हजार टन चैते धान उत्पादन

blog

थ्रेसिङ गरेर भजनीमा चैैते धान सुकाइँदै । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार २५ गते । कैलालीमा यसवर्ष पाँच हजार ५०० टन चैते धान उत्पादन भएको छ । एक हजार १०० हेक्टर जमिनमा यस वर्ष चैते धानखेती गरिएको थियो । 

जिल्लामा चैते धानखेती गरेका सबै किसानले चैते धान भित्र्याइसकेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो । यो जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिकामा बढी चैते धानखेती हुनेगरेको छ । चैते धान बर्खे धानभन्दा राम्रो हुनुका साथै उत्पादन पनि बढी हुनेगर्छ । 

खास गरेर बाढी, डुबानको समस्या रहेको क्षेत्रमा किसानले चैते धान खेती बढी गर्दैआएका छन् । यसैबीच, कैलालीमा बर्खे धानको रोपाइँ अन्तिम चरणतिर पुगेको छ । जिल्लामा ८५ प्रतिशतभन्दा बढी रोपाइँ पूरा भइसकेको शर्माले बताउनुभयो । 

अब सिंचाइ सुविधा नरहेका ठाउँमा मात्रै केही रोपाइँ गर्न बाँकी छ । प्रमुख शर्माका अनुसार आकाशे पानीको भरमा खेती हुने पहाडी क्षेत्र चुरे र मोहन्याल गाउँपालिकामा रोपाइँ सकिएको छैन । यसैगरी, पूर्व–पश्चिम राजमार्गकोे उत्तरतिरको भावर क्षेत्रमा पनि रोपाइँ जारी छ । 

“तराईको अन्य क्षेत्रमा भने रोपाइँ लगभग सकिएको छ” उहाँले भन्नुभयो, “भजनी, कैलारी, जोशीपुर, टीकापुरतिरका अधिकांश किसानले रोपाइँ सम्पन्न गरेका छन् ।” तराईमा किसानले रोपाइँ सम्पन्न गरेपछि खेतमा हरियाली छाउन थालेको छ ।