• १३ वैशाख २०८१, बिहिबार

विश्वासको मत प्राप्त गर्ने मुख्यमन्त्री थापाको भनाइ

blog

गृह क्षेत्र झापाको विर्तामोडमा आयोजित सम्मान कार्यक्रमपछि मुख्यमन्त्री उद्धव थापा। तस्बिर : लीलाराज खड्का

विर्तामोड, असार २३ गते।  कोशी प्रदेशका मुख्यमन्त्री उद्वब थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ। मुख्यमन्त्रीमा निर्वाचित भएपछि आफ्नो गृहनगर विर्तामोडमा शनिवार  नेपाली कांग्रेस झापाद्वारा आयोजित स्वागत–सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेश सभामा विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको हो। मुख्यमन्त्री थापाले आफूले पहिला विश्वासको मत लिएपछि मात्रै सरकारका महत्वपूर्ण कारबाही गर्ने बताउनुभयो। 

महिना दिनभित्र  विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी सुरु हुने र गठबन्धन सरकारले बाँकी चार वर्षको कार्यकालसमेत पुरा गर्ने थापाले बताउनुभयो। 

विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने  थापाको भनाइ छ। सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको भन्दै  यो सबैको साझा उपलब्धि भएकोसमेत थापाको  भनाइ थियो।

कार्यक्रममा कांग्रेस झापाका सभापति देउकुमार थेवे, सचिव कृष्ण हुमागाई, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल, गोमा भट्टराई, प्रदेश सभा सांसद गोपाल तामाङ र लख्खीदेवी गणेश, नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्य, पार्टीका जिल्ला पदाधिकारी, सदस्य, स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका विभिन्न तहगत समितिका पदाधिकारी–सदस्य एवं कार्यकर्ताको सहभागिता रहेको थियो।