• १५ वैशाख २०८१, शनिबार

किसानलाई कृषि यन्त्र र चल्ला वितरण

blog

किसानलाई च्याप कटर मेसिन र पम्पिङसेट वितरण गर्दै मन्त्री अहिर । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २३ गते । लुम्बिनी प्रदेशका कृषि तथा भुमि ब्यवस्थामन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारले गरिब र विपन्न तथा वास्तविक किसानलाई कृषि उत्पादनमा सहयोग गर्ने बताउनुभएको छ । 

उहाँले किसानको नाममा ठूलाबडाले सरकारी सहयोग लिनेगरेको गुनासो बारम्बार आउनेगरेको जनाउँदै सो बारेमा वर्तमान सरकार गम्भीर र सचेत रहेको बताउनुभयो । शनिबार नेपालगञ्जस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा आयोजना गरिएको एक कार्यक्रममा बाँकेका पशुपंछीपालक किसानलाई निःशुल्क कृषि उपकरण र चल्ला वितरण गर्दै मन्त्री अहिरले सो कुरा बताउनुभएको हो । 

सो अवसरमा उहाँले पशुपंछी उत्पादन बृद्धि गर्दै किसानलाई व्यावसायिक कार्यतर्फ आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले विभिन्न प्रकारका कार्यक्रम र योजना बनाइरहेको बताउनुभयो । 

मन्त्री अहिरले भन्नुभयो, ‘कुन क्षेत्रमा के–के राम्रो उत्पादन हुन्छ सोको अध्ययन गरेर सरकारले किसानलाई विभिन्न सहयोग गरी प्रोत्साहन गर्नेछ । किसानले उत्पादन गरेको पशुपंछीको बजारीकरणमा पनि सरकारले सहयोग गर्नेछ ।’

सो अवसरमा मन्त्री अहिरले बाँकेका २३ जना किसानलाई च्याप कटर मेसिन र पम्पिङसेट मेसिन वितरण गर्नुभयो । उहाँले गरिब, अल्पसंख्यक तथा दलित समुदायका २० जनालाई जनही ५० वटाको दरले कुखुराको चल्ला पनि वितरण गर्नुभयो । 

कृषि उपकरण र चल्ला पाएका किसानले पहिलो पटक सरकारी सहयोग पाएको जनाउँदै यसबाट उत्पादन बृद्धिका लागि विशेष सहयोग पुग्ने आशा प्रकट गर्नुभयो । सो अवसरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगन्जका प्रमुख कमला अधिकारीले बाँकेका अधिकांश किसानले आधुनिक उपकरणमार्फत आधुनिक तरिकाले कृषि र पशुपालन गर्दैआएको बताउनुभयो ।