• २१ वैशाख २०८१, शुक्रबार

बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न

blog

बैतडी, असार २३ गते । बैतडीमा रोपाइँ गर्ने कार्य अन्तिमतिर पुगेको छ । असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो ।    

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार यहाँ हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि  रोपाइँ सम्पन्न भएको भए पनि र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि हाल रोपाइँ भइरहेको छ । उहाँले भन्नुभयो, “वर्षमा तीन खेती गर्ने बेँसीतिर रोपाइँ गर्न बाँकी रहेको र केही अन्य स्थानमा पछि बाँकी रहेको छ । यो महिनाको अन्तिमसम्म सबै सकिन्छ ।” 

जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । वर्षा भएपछि रोपाइँ गर्न सहज भएको बैतडीको दोगडाकेदार ३ श्रीकोटका किसान वीरसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै रोपाइँमा व्यस्त छौँ । वर्षा नहुँदा यसअघि रोपाइँ गर्न सकिएको थिएन, हाल रोपाइँको चटारो परेको छ ।” 

पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् ।  बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । रासस