• २० असोज २०८१, आइतबार

पाथीभरा पदमार्गमा फाइबरको छहारी

blog

पाथीभरा पदमार्गमा फलामे ट्रस जडानगरी लगाइएको फाइबरको छहारी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ट्रस (फलामे डण्डी) जडानगरी फाइबरको छहारी लगाइएको छ । पाथीभरा पदमार्गअन्तर्गत करिव एक किलोमिटर बाटोमा फाइबरको छहारी लगाउने कार्य पूरा भएको हो ।

पाथीभराधामदेखि माथिल्लो फेदीतर्फ पदमार्गमा फाइबरको छहारी लगाउने कार्य भइरहेको छ । फाइबर छहारी लगाउने कार्यको निरन्तरतासँगै हालसम्म ९२० मिटर दूरीभित्र छहारी लगाई सकिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । काफ्लेकाअनुसार छहारी लगाउने कार्यका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारको ५० लाख र पाथीभरा क्षेत्र विकास समितिको ४६ गरी कुल ९६ लाख रुपियाँ खर्च भएको छ । 

पदमार्गलाई तीन मिटर चौडाइमा विस्तारगरी फाइबरको छहारी लगाएको समितिले जनाएको छ । समितिका अनुसार सोलिङ गरेर पदमार्गको स्तरोन्नति गरिएको छ भने दायाँ–बायाँ भागमा ट्रसको रेलिङ लगाइएको छ । हिउँद मौसममा पदमार्ग ढाक्नेगरी हिउँ पर्नेगरेका कारण तीर्थयात्रीको यात्रामा भएको असहजतालाई दृष्टिगतगरी पदमार्गमा छहारी लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो । 

पदमार्गमा फाइवरको छहारी लगाएपछि तीर्थयात्रीको यात्रा सहज भएको अध्यक्ष थेबेको भनाइ छ । उहाँका अनुसार हिउँ परेको समय तथा वर्षाको समय दुवै मौसममा छहारीका कारण यात्रा गर्न सजिलो भएको छ । पाथीभराधाम तीन हजार ७९४ मिटरको उचाइमा रहेका कारण हिउँद मौसमभर बाक्लो हिउँ पर्नेगर्छ । त्यस्तै, बर्खा मौसममा पनि तुलनात्मक रुपमा पाथीभरा क्षेत्रमा बढी पानी पर्ने गरेको छ ।