• ११ असोज २०८१, शुक्रबार

सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्छ : सांसद शेर्पा

blog

राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पा ।

काठमाडौं, असार १९ गते । राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने उहाँको भनाइ थियो । मङ्गलबार राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद शेर्पाले हेलिकोप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरूलाई पनि सगरमाथा चढेको मान्यता दिने गरेको भन्दै आपत्ति समेत जनाउनुभयो ।

सांसद शेर्पाले पर्यटकहरूकै कारण हिमाली क्षेत्रको वातावरण प्रदूषित हुन पुगेको उल्लेख गर्नुहुँदै  त्यस्तो हुन नदिन पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद शेर्पाले पर्यटनले विकास मात्रै नभई विध्वंस पनि निम्त्याउन सक्छ भन्ने मान्यतालाई आत्मासाथ गरेर पर्यटन नीति ल्याउन पनि सरकारलाई सुझाव दिनुभयो ।

‘‘आज पनि लाजमर्दो कुरा के भइराखेको छ भने सगरमाथा चढ्ने पनि एउटा मापदण्ड हुन्छ । सगरमाथा कहाँबाट चढेर कहाँबाट झर्नेलाई मान्यता दिने भन्ने पनि हुन्छ । तर नेपालको कुनै पनि ऐन, कानुनमा सगरमाथा यहाँदेखि यहाँबाट चढेर फर्कियो भने मान्यता दिने भन्ने काहीँ लेखिएको छैन । त्यसकारण कहिलेकाहीँ विवाद हुने गर्छ । हेलिकोप्टरबाट गएर चढेको मान्छेलाई समेत मान्यता दिइन्छ । कोही मान्छे बेसक्याम्पबाट गएर चढेका हुन्छन् । यसलाई सगरमाथा चढेकै मानिन्छ ।,’’ सांसद शेर्पाले भन्नुभयो, ‘‘आखिर कुनलाई चाहिँ सगरमाथा चढेको मान्ने ? त्यसकारण यो व्यवस्था हुनुपर्‍यो कि सगरमाथा कहाँबाट चढेर कहाँबाट झरेकोलाई मान्यता दिने भनेर ऐनमा व्यवस्था हुन जरुरी छ । आज सगरमाथालगायत विभिन्न हिमालको आधार शिविरमा जानुहोस् । त्यहाँ सिजनल टुरिष्ट बस्दाखेरी कति प्रदूषण भएको छ । त्यसतर्फ सरकार गम्भीर छ कि छैन त ? सरकारले त्यो बेसक्याम्प कसरी बस्ने भनेर मापदण्ड बनाएको छ कि छैन ? म त केही पनि देख्दिन । पर्यटन खाली विकास मात्रै गर्ने होइन, विध्वंस पनि ल्याउन सक्छ । त्यसलाई ध्यानमा राखेर सरकारले पर्यटन नीति बनाउनु पर्छ भन्ने धारणा राख्न चाहन्छु ।’’

सांसद शेर्पाले पर्यटन क्षेत्रको विकासका लागि सरकारले गुरु योजना नै तय गर्नुपर्ने पनि पटक–पटक दोहोर्‍याउनुभयो ।