• १० पुस २०८१, बुधबार

नेपालमा तत्कालका लागि थप विश्वविद्यालयको आवश्यकता छैनः सांसद देवकोटा

blog

राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटा ।

काठमाडौं, असार १८ गते । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद खिमलालले सो दाबी गर्नुभएको हो ।

सांसद देवकोटाले शिक्षा मन्त्रालय, नेपाल सरकारको थिंकटयांकको रुपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको हालै सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक नभएको उल्लेख गरिएकोतर्फ पनि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ, छैन भन्ने कुराको निष्कर्षमा पुग्न पनि सरकारलाई सचेत गराउनुभयो ।

‘‘शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले संयुक्त रुपमा शिक्षा मन्त्रालयमा सहसचिवसहित संयुक्त रुपमा गरेको अध्ययनले यो विश्वविद्यालय आवश्यक छैन, जरुरी छैन । आवश्यक पूर्वाधार पनि पुगेको छैन । र यो विश्वविद्यालयका लागि अहिलेसम्म एक धुर, एक आना पनि जग्गा छैन । भौतिक, वित्तिय कुनै पनि व्यवस्था छैन । त्यसैले यो अहिले आवश्यक छैन । जरुरी छैन भनेर शिक्षा मन्त्रालयकै एउटा प्रतिवेदन छ । त्यसकारण हामीले यो पाटो हुर्नु पर्छ कि पर्दैन सभामुख महोदय ।,’’ सांसद देवकोटाले भन्नुभयो, ‘‘मैले भर्खर नेपाल सरकारको थिंकटयांक नीति अनुसन्धान प्रतिष्ठानले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा नयाँ विश्वविद्यालय स्थापना गर्नुभन्दा अगाडि यसको आवश्यकता र औचित्यको बारेमा समग विश्लेषण गरी हाल भइरहेका विश्वविद्यालयहरुको क्षमता विकास र स्तरोन्नत्तिबाट पनि त्यो आवश्यकता पूर्ति हुन नसक्ने अवस्थामा मात्र नयाँ विश्वविद्यालय खोल्न सकिने सो अनुसन्धानको निष्कर्ष हो । यो नेपाल सरकारको थिंकटयांक हो सभामुख महोदय ।’’

सांसद देवकोटाले प्लस टू पास गरेपछि विद्यार्थीहरु धमाधम विदेश जाने, तर यहाँ विश्वविद्यालय खोल्ने कुरा परस्पर विरोधी भएकाले यसतर्फ पनि सरकार गम्भीर हुुनुपर्ने आवश्यकता औंल्याउनुभयो । सांसद देवकाटाले वित्तिय र भौतिक पूर्वाधार केही पनि नभएकाले अहिले नेपाल विश्वविद्यालय खोल्न आवश्यक नरहेको तर्क गर्नुभयो ।