कबिराज घिमिरे
हिले, असार १७ गते । धनकुटा नगरपालिका –४ छारा गाउँका घनश्याम बरालले तत्कालिन कुरुले गाबिसमा रहेको घर छाड्नुभएको ७ बर्ष पुग्यो । घर वरिपरि केही बोट आँप, लिची, अनारलगायतका फलफुल छन् । फलफुल फल्छ पाक्छ र झर्छ । खाइदिने कोही छैन ।
२०७३ सालमा कुरुले छाडेर आए यता कुरुले उहाँका लागि बिरानो बनेको छ । “जागीर पछिको जीवन उतै बस्ने योजना थियो तर सकिएन” उहाँले भन्नुभयो, “करिब एकसय २० रोपनी जमिन छ, तर सबै बाँझै छ ।”
उहाँहरुकोजस्तै अरु केहीको अवस्था पनि त्यस्तै छ । गाउँमा कोही नबस्दा धेरैको घरको रङ्गरोगन उडेको छ । माकुराको जालोले झ्यालढोका ढाकेको छ । धनकुटाको कर्णाली भनेर चिनिने कुरुलेमा बसाइसराइका कारण बस्ती नै रित्तिएको छ ।
घर वरिपरि अनि बस्तीमा अहिले लटरम्म फलफूल फलेका छ । गाउँका धेरै स्थानमा यस्तो समस्या रहेको चौबिसे गाउँपालिका –४, कुरुलेका सुरेन्द्र तामाङले भन्नुभयो । दुई दशकको अबधीमा कुरुलेवाट धेरै बसाइ सरेर गएपछि अहिले धेरैको घर मात्र बाँकी छ । घरको हेरचाह गर्ने पनि कोही नभएको उहाँको भनाइ छ ।
कुरुलेमा २०४५ सालको भुकम्पपछि पानीको मुहान सुक्न थालेपछि बसाइ सर्नेक्रम सुरु भएको थियो । द्वन्द्वताका कुरुलेमा बसाइसराइ अत्यधिक भयो । अहिले पनि सोक्रम रोकिएको छैन । अधिकांश क्षेत्र झाडिमा परिणत हुँदैगएको छ । घरहरु भत्कन थालेको उहाँले बताउनुभयो ।
धनकुटाको कुरुले तेनुपा मात्र नभई बजारक्षेत्रबाहेक धनकुटाका अधिकांश ग्रामीण क्षेत्रबाट बसाइसराइक्रम उस्तै छ । कुरुले पछि साविकको तेलिया, ताङ्खुवा, चुमाङ्ग, चानुवालगायतको क्षेत्रमा बसाइसराइ बढी मात्रामा भएका छन् । यी स्थान अहिले बिरुप बनेका छन् ।
जागिरको सिलसिलामा पहिले नै बसाइसरेको, पछि परिवारका अन्य सदस्य बस्न नसकेर बसाइ हिडेको धनकुटा नगरपालिका –४ का उपेन्द्र खनालले बताउनुभयो । यो सिजनमा त अझ फलफलको कारणले धेरै सम्झना आउने उहाँको भनाइ छ ।
“राम्रो व्यवस्था भएमा गाउँमा आउजाउ गर्न सकिन्थ्यो, खानेपानीलगायत अन्य सुबिधा भएमा जागीरपछिको जीवन उतै कटाउन सकिन्थ्यो” खनालले भन्नुभयो ।