• ११ पुस २०८१, बिहिबार

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

लगानी बढाउने विषयमा सकारात्मक छलफल भएको छ: उपप्रधानमन्त्री श्रेष्ठ

blog

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिरः उपप्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, असार १७ गते। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताउनुभएको छ। 

सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको पाँचदिने भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सो कुरा बताउनुभएको हो। 

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो। यस्तै चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सचिव एवं सिचुवान प्रान्तीय जनपरिषद्को स्थायी समितिका अध्यक्ष वाङ सिवहुइसँगसमेत भेटवार्ता भएको थियो। 

वार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषय र चीनद्वारा नेपालमा थप सहयोग बढाउन उपप्रधानमन्त्री श्रेष्ठले गरेको विशेष आग्रहमा सकारात्मक छलफल भएको थियो। 

“आर्थिक साझेदारी बढाउनेबारे चिनियाँ उपप्रधानमन्त्री र सिचुवान पार्टी कमिटीका सचिवले हामीलाई सकारात्मक विश्वास दिलाउनुभएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो। थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवतजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो। 

चीन र नेपालबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा हस्ताक्षर भइसकेको र त्यसबाट लाभ लिन नेपालले गरेको तयारीबारेको चिनियाँ जिज्ञासामा उपप्रधानमन्त्री श्रेष्ठले बिआरआइ कार्यान्वयनको ढाँचा बन्दै गरेको र दुई पक्षीय छलफलबाट पूर्णता दिइने बताउनुभएको थियो।

उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएकोले नेपालमा लगानी गर्न आग्रह गर्नुभएको थियो।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा नेपाल–चीन सम्बन्ध बारे सम्बोधन मन्तव्य दिनुभएको थियो। उहाँले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गर्नुभएको थियो।

यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा उहाँले छेन्दु–काठमाडौं रुटमा दैनिक हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा व्यावसायिक उडान सुरु गर्न आग्रह गर्नुभएको थियो।

छेन्दुमा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो। 

प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा चीनकै पुरानो पूरा छेन्दुलाई सिञ्चित गर्ने गरी निर्माण गरिएको दुजियाङ सिँचाइ प्रणालीको अवलोकनसमेत गरेको थियो।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति चीन प्रस्थान गर्नुभएको थियो।