• १६ वैशाख २०८१, आइतबार

हाम्रो सम्पदा

दर्शनार्थी भीड लाग्ने बेहडाबाबा मन्दिर (फोटो फिचर)

blog

धनगढी, असार १६ गते । कैलालीको धनगढी उप महानगरपालिका  वडा नं १६ को उर्मारामपुरको जङ्गलमा रहेको प्रख्यात बेहडाबाबामा हिजोआज दर्शनार्थीको भीड लाग्ने गरेको छ । पहिले यो स्थानलाई बेडा भन्ने गरिन्थ्यो।

यसको उत्पत्ति सम्बन्धमा जनश्रुति अनुसार एक जना महात्माले शिव पार्वतीलाई सन्तुष्ट बनाई शालिग्राम प्राप्त गरी लिएको ठाउँमा आइपुग्दा पिसाब लागेकोले भुइँमा राख्नुपर्ने अवस्था आयो तर शिव भगवानले शालिग्रामलाई निर्दिष्ट ठाउँमा नपुगी भुइँमा नराख्नु भनेका थिए। निकै नै समस्या परेपछि एक बटुवालाई समाउन दिई  महात्मा पिसाब फेर्न गए, तर उनले ती बटुवालाई भुइँमा नराख्नु भनेका भने थिएनन्। केही समय पश्चात् बटुवाले भुइँमा राखेर आफ्नो गन्तव्य तिर गए। महात्मा पिसाब गरेर फर्कदा शालिग्राम भुइँमा देखेर निकै नै अचम्म परे। उक्त शालिग्राम भुईँबाट उचाल्दा गाडिँदै गयो। 

ती महात्माले उठाउन सकेनन्। कालान्तरमा गएर त्यस ठाउँमा गोठालाहरूको गाईले सोही स्थानमा दूध चुहाई रहेको देखेर उत्खनन गर्दा शिवलिंग उत्पन्न भएको किंवदन्ती छ । त्यसै बेलादेखि सो शिवलिंगको पूजा अर्चना गर्न थालिएको थियो । हालको मन्दिर १९८२ मा बाला चन्द, तुलसी मुखिया र लडेपुजारीले निर्माण गराएका थिए। यस मन्दिर परिसरमा अन्य विभिन्न देव देवताका मन्दिरहरू छन् । 

एकतले यस मन्दिरभित्र शिवलिङ्ग र नजिकमा शालिग्राम छ। यस मन्दिरमा हिन्दुहरूको महानपर्व शिवरात्रिमा ठुलो मेला लाग्ने गर्दछ। साथै दशहरा पर्वमा ५ दिनसम्म ठुलो मेला लाग्ने गर्दछ। उक्त दिन नेपाल लगायत छिमेकी राष्ट्र भारतबाट अत्यधिक भक्तजनको भिड हुने गर्दछ। साथै शिवगङ्गामा स्नान गर्दछन्। यो मन्दिर भारतमा निकै नै प्रख्यात रहेको छ। स्थानीयवासीको अनुसार यस जङ्गलमा रहेको बेहडाबाबा मन्दिर परिसरमा राती रथ उड्ने गर्दछ र समय समयमा राती आफै घण्टहरू बज्ने विश्वास छ । 

थारु जातीको तराईमा प्रवेशको साथै यस मन्दिरको पनि महत्त्व निकै नै बढेको छ। मन्दिरका पुजारीका अनुसार भक्तहरूको इच्छापूर्ण गरिदिने, दुख कष्ट हरण गरिदिने, गाई भैँसीको दूध अत्यधिक चढाएर दुधालु पारी दिने, दूध दिने जस्ता जनविश्वास बाबाबाट जनताले पाएका हुन्।

मन्दिरको प्रवेशद्वार निकै नै आकर्षक रहेको छ भने मन्दिरभित्र सुन्दर बगैँचाले सजिएको छ। यस मन्दिरलाई यस क्षेत्र कै प्रख्यात मन्दिर मानिएको छ।