• ६ जेठ २०८१, आइतबार

दिनहुँको धर्नाले कुरूप बन्दै माइतीघर (फोटो फिचर)

blog

आन्दोलन गर्ने थलो बन्दै माइतीघर । तस्बिर : सागर बस्नेत

शब्दचित्र : सागर बस्नेत
काठमाडौं, असार ११ गते । 
सडक सबैको साझा भए पनि सवारी चलाउन र पैदल हिँड्नका लागि बनाइएको स्थान हो । राजधानीको यातायात सहज बनाउन ठुलो धनराशि खर्चिएर सडक चौडा, फराकिलो र सुन्दर बनाउने काम हुनु पक्कै राम्रो हो । त्यसमध्येको राजधानीको केन्द्रमा रहेको सुन्दर माइतीघर क्षेत्र पनि एक हो ।

तर विगत केही वर्षदेखि भने माइतीघर आन्दोलन गर्ने थलो बन्दै गइरहेको छ । दैनिक कुनै न कुनै आन्दोलन भइरहेका छन् । कतिपय आन्दोलन त हप्तौँसम्म चलिरहेका हुन्छन् । यसरी दिनदिनै आन्दोलन भइरहँदा माइतीघर कुरूप बन्दैछ ।

चीनको सिमाना जोड्ने अरनिको राजमार्गको सुरु माइतीघरबाटै हुन्छ । त्यसैले बीपी राजमार्ग र अरनिको राजमार्गबाट आउने सवारीको चाप यहाँ अत्यधिक हुन्छ । बानेश्वरबाट आउँदा देब्रे तर्फको  ‘लेन’ हरेक दिन आन्दोलनकारीको कब्जामा हुन्छ ।


सडक, पेटी तथा  रुख बिरुवाहरूमा जताततै आन्दोलनकारीका ब्यानर देख्न सकिन्छ । सडकबीचका सुन्दर डिभाइडरमा त्रिपाल टाँगेर भात भान्सादेखि सुत्नेसम्म गरेको पाइन्छ ।

देशभरबाटै आफ्ना पीडा र गुनासा केन्द्रलाई सुनाउन चाहनेको मुख्य रोजाइ पनि माइतीघर बन्दै आएको छ । कतिपय अवस्थामा ठुला दलका नेता पनि त्यही माइतीघरमै आन्दोलन गर्न पुग्ने गर्छन् । तर उनीहरूका माग कति दिनसम्म त्यहाँ बस्दा पूरा हुने हो कसैलाई थाहा छैन ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले माइतीघरमा आन्दोलन गर्न नदिने बताए पनि हालसम्म कार्यान्वयन भने भएको छैन ।