• १० पुस २०८१, बुधबार

नेपाली सेनाको सङ्ख्या कटौती गर्न आवश्यक छैन : रक्षामन्त्री खड्का

blog

रक्षा मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं, असार ११ गते । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सङ्ख्या कटौती गर्न उपयुक्त नहुने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको सङ्ख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताउनुभएको हो ।

रक्षामन्त्री खड्काले नेपाली सेना संविधानप्रति प्रतिबद्ध सङ्गठन भएको र यसले आफ्नो जिम्मेवारी सोही अनुसार निर्वाह गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

‘‘संविधानप्रति प्रतिबद्ध एक नेपाली सेनाको सङ्गठन रहने हाम्रो संवैधानिक व्यवस्था र प्रावधान रहेको ब्यहोरा माननीय सदस्यहरूलाई अवगत नै छ । त्यसैले हाम्रो नेपाली सेनाको सङ्ख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहु प्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु । हाम्रो राष्ट्रिय सुरक्षा नीतिको विषयमा उठेको विषय छ ।,’’ रक्षामन्त्री खड्काले भन्नुभयो, ‘‘त्यस सन्दर्भमा विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौती तथा खतराहरूको सामना गर्नु परिरहेको छ । बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतङ्कवाद, आर्थिक सङ्कट, महामारी लगायतका सुरक्षा चुनौतीहरूले मानव जीवनमानै कठिनाइ निम्त्याइरहेका अवस्थाहरू छन् ।’’

रक्षामन्त्री खड्काले विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने गरी नेपाली सेनाको सङ्गठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।