कर्णाली प्रदेश ब्युरो
सुर्खेत, असार ११ गते । कर्णाली प्रदेशका अधिकांश स्थानीय तहले आइतबार आफ्ना नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। प्रदेशका ७९ वटा स्थानीय तहमध्ये यो समाचार तयार पार्दासम्म आधा जति स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट ल्याएका छन्। कतिपयले शक्रबार र शनिबार नीति र कार्यक्रम ल्याइसकेका छन्।
यस पटकको नीति तथा कार्यक्रममा पनि स्थानीय तहले विगतकै योजना तथा कायक्रमलाई निरन्तरता दिएका पाइएको छ। शिक्षा, खानेपानी, कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य, रोजगारलाई ती तहले प्राथमिकता दिएका छन्।
वीरेन्द्रनगरमा तीन अर्ब ९४ करोड
काँक्रेविहार समाचारदाता नवीन शाहीका अनुसार कर्णाली प्रदेशकै सबैभन्दा ठूलो वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि तीन अर्ब दुई करोड ६१ लाख रुपियाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरले यस पटक ल्याएको बजेट अघिल्लो वर्षको तुलनामा बढी हो । चालु आव २०७९/८० मा एक अर्ब ९४ करोड ११ लाख बराबरको बजेट ल्याइएको थियो ।
आइतबार वीरेन्द्रनगरको १३औँ नगर सभामा उपप्रमुख नीलकण्ठ खनालले प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रममा कुल बजेटमध्ये वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको छ। नगरस्तरीय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको छ ।
प्रस्तुत बजेट तथा कार्यक्रममा वर्तमान आवश्यकता, रोजगारी, पूर्वाधार विकासलगायतलाई प्राथमिकतामा राखिएको छ। ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय सहर स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ मूल नारा बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ। साथै नगर प्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । यसमा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउन पहल गर्नेदेखि उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना अघि बढाइने नीति तथा कार्यव्रmम रहेको छ ।
कर्णाली बसपार्क निर्माण, काँक्रेविहार संरक्षित क्षेत्रलाई चिडियाखानाका रूपमा विकास गर्ने, एक वडा एक वन उद्यम रणनीति अवलम्बन गर्ने, नगर हरियाली प्रवर्धन कार्यक्रमलगायतलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
लेकबेँसी नगरपालिकाले आव २०८०/८१ का लागि ६६ करोड ८१ लाखको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ। कुल बजेटमध्ये ४४ करोड ६३ लाख चालुतर्फ र १८ करोड २५ लाख रुपियाँ पुँजीगततर्फ विनियोजन गरिएको नगर प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार शिक्षातर्फ कृषि क्याम्पसको प्रशासनिक र आवासीय भवन निर्माणका लागि एक करोड ६० लाख विनियोजन गरिएको छ। नगरका चार वटा मुख्य सडकलाई प्राथमिकतामा राखिएको छ। ती सडकका लागि तीन करोड ७८ लाख, सिँचाइ कुलो निर्माणका लागि एक करोड रुपियाँ विनियोजन गरिएको छ।
यस्तै हेल्भेटास नेपालको साझेदारीमा पाँच करोड लागतको खानेपानी संरचना निर्माणका लागि एक करोड २० लाख, स्वास्थ्य चौकी लेकफर्साको भवन निर्माणका लागि ५० लाख र दुग्ध उत्पादनमा आधारित कृषकका लागि बजारीकरण गर्न मूल्यमा अनुदान वितरणमा २० लाख रुपियाँ नगरको प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको नगर प्रमुख पौडेलले बताउनुभयो।
हातहातमा लालपुर्जा
बुलबुले समाचारदाता रजनी योगीका अनुसार पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आगामी आवको बजेट, नीति तथा कार्यक्रम ल्याएको छ। १४ औँ गाउँ सभामार्फत गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले आव २०८०/८१ का लागि ६६ करोड २९ लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको छ।
गाउँपालिकाले चालुतर्फ ३६ करोड ५७ लाख ८१ हजार र पुँजीगततर्फ २९ करोड ७१ लाख ९५ हजार गरी जम्मा ६६ करोड २९ लाख ७६ हजार २८ रुपियाँको बजेट सार्वजानिक गरेको छ। आव २०८०/८१ को बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भूमि सुधारलगायतका विषयलाई प्राथामिकतामा राखिएको छ। गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमार्फत तीन वर्षमा सबै नागरिकको हातमा लालपुर्जा वितरण गर्ने उद्देश्यले भूमिसुधारको विषयलाई प्राथमिकतामा राखिएको जनाएको छ।
सुर्खेतको बराहताल गाउँपालिकाले ५९ करोड ५८ लाख ८७ हजार बराबरको बजेट ल्याएको छ। गाउँपालिकाले पेस गरेको बजेटमा चालुतर्फ ३४ करोड ५६ लाख १४ हजार र पुँजीगततर्फ २५ करोड दुई लाख ७३ हजार बजेट विनियोजन भएको छ। बराहताल गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार र विकास निर्माणका योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ। १३ औँ गाउँ सभामार्फत गाउँपालिले बजेट तथा कार्यक्रम ल्याएको हो।
सुर्खेतकै पञ्चपुरी नगरपालिकाले झन्डै ६६ करोड बराबरको बजेट प्रस्तुत गरेको छ। पञ्चपुरी नगरपालिकाले आव २०८०/८१ का लागि ६६ करोड ९८ लाख ३४ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ। चालुतर्फ ३७ करोड ३३ लाख ३३ हजार र पुँजीगततर्फ २९ करोड ६५ लाखको बजेट विनियोजन गरिएको छ। नगरपालिकाको १३ औँ नगर सभाबाट आव २०८०/८१ को बजेट प्रस्तुत गरिएको हो। नगर उपप्रमुख मुक्तिदेवी रेग्मीले बजेट प्रस्तुत गर्नुभएको हो।
उत्पादन र स्वरोजगारलाई प्राथमिकता
मुसीकोट समाचारदाता राजु लामिछानेका अनुसार रुकुमपश्चिमका छ वटा स्थानीय तहले आव २०८०/८१ का लागि नीति तथा कार्यक्रम ल्याएका छन्। जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाले उत्पादन र स्वरोजगारलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएका छन्।
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले शिक्षासँग श्रम कार्यक्रम गर्ने, विद्यार्थी सहायता कोषको स्थापना गर्ने, एक वडा एक नमुना उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रम ल्याएको नगर प्रमुख पुष्प वादीले जानकारी दिनुभयो। नगर सभामा उपप्रमुख ईश्वरी शर्मा बिएमले कुल ८१ करोड एक लाख चार हजार ८६६ रुपियाँको बजेट पेस गर्नुभएको छ। त्यसमध्ये चालुतर्फ ५८ करोड ६६ लाख ६४ हजार ७६६ अर्थात् ७४.४१ प्रतिशत रहेको छ। पुँजीगततर्फ २२ करोड ३४ लाख ४० हजार एक सय अर्थात् २७.५८ विनियोजन गरिएको छ।
जिल्लाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष अध्यक्ष गणेशकुमार केसीले पेस गर्नुभएको नीति तथा कार्यक्रममा आवासीय नमुना विद्यालय सञ्चालन गर्ने, कमाउँदै पढ्दै कार्यक्रमलाई प्रभावकारी रूपमा लागु गर्ने, गाउँपालिकाभित्रका अशक्त, अभिभावकविहीन र सीमान्तकृत बालबालिकाका लागि आवासीय सुविधासहितको विद्यालय खोल्ने योजना समावेश गरिएको छ। गाउँ सभामा उपाध्यक्ष राजकुमारी रेउलेले ५० करोड ९६ लाख ४० हजार ५२२ रुपियाँको बजेट पेस गर्नुभएको छ। कुल विनियोजित बजेटमध्ये चालुतर्फ ३८ करोड चार लाख २८ हजार रहेको छ । यो कुल बजेटको ७४.६५ प्रतिशत हो। पुँजीगततर्फ भने कुल बजेटको २५.३५ प्रतिशत मात्र रहेको छ। पुँजीगततर्फ कुल बजेटमध्ये १२ करोड ९२ लाख १२ हजार ५२२ रुपियाँ रहेको छ। जिल्लाका आठबिसकोट नगरपालिका, मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफीकोट गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएको जनाएका छन्।
पूर्वाधार विकासमा प्राथमिकता
हुम्ला समाचारदाता राजन रावतका अनुसार गाउँपालिकाले बजेट नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, आय आर्जन र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्।
सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया भामका अनुसार गाउँ सभामा आव २०८०/८१ का लागि ४९ करोड ६७ लाख छ हजारको बजेट पारित भएको छ। बजेटले स्थानीय रैथाने बालीको उत्पादन, आय आर्जन, स्वास्थ्य, शिक्षा र सिप विकासलाई प्राथमिकतामा राखेको छ। सिमकोटको प्रस्तुत बजेटमा आयतर्फ आन्तरिक आयबाट ८० लाख, राजस्व बाँडफाँटतर्फ आठ करोड ७३ लाख ९० हजार, सङ्घीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण ३३ करोड, प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण छ करोड १६ लाख र जिआइजेडबाट ७५ लाख रहेको छ। व्ययतर्फ चालु खर्चतर्फ ३३ करोड ५१ लाख ९८ हजार (६७. ४८ प्रतिशत) र पुँजीगततर्फ १६ करोड १५ लाख आठ हजार (३२.५३ प्रतिशत) रुपियाँ रहेको छ।
खार्पुनाथले आगामी वर्षका लागि ३८ करोडभन्दा बढीको बजेट ल्याएको छ। गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले आव २०८०/८१ को बजेट ३८ करोड ६९ लाख ७५ हजार १४५ रुपियाँको रहेको जानकारी दिनुभयो। उहाँले बजेट तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्र, पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले आफ्नो पाँचवर्षे कार्यकालभित्र गाउँपालिकाका पाँच वटै वडामा सडक सञ्जाल जोड्ने गरी बजेटको व्यवस्था गरिएको बताउनुभयो। सडक र सञ्चार क्षेत्रलाई प्राथमिकता दिँदै नाम्खा गाउँपालिकाले ३१ करोड ३८ लाख आठ हजार रुपियाँको बजेट ल्याएको छ।
सो गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले त्योसँगै शिक्षा, स्वास्थ्य, पर्यटक र आय आर्र्जन पनि प्राथमिकतामा परेको बताउनुभयो। ताँजाकोट गाउँपालिकाले आठ वटा क्षेत्रमा बजेट तथा कार्यक्रम निर्धारण गरेर २८ करोड बजेट ल्याएको छ। गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले ‘खेतबारीमा फलफूलका बोट, आर्थिक समृद्धिका लागि उत्पादनमा जोड’ कार्यक्रम सञ्चालन हुने बताउनुभयो। सर्केगार्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर रावतले पूर्वाधारमा सडक, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिई ४६ करोडको बजेट सभाबाट पारित भएको बताउनुभयो।
पूर्वी सुर्खेतमा घट्यो बजेट
छिन्चु समाचारदाता नवीन सुवेदीका अनुसार पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले विकास बजेट चालु बजेटभन्दा झन्डै तीन गुणा कम बराबरको बजेट सार्वजनिक गरेको छ। गुर्भाकोट नगरपालिका ९७ करोड ९१ लाख ५० हजार सात सय ५६ रुपियाँ बराबरको बजेट आएको छ। जसमा चालुतर्फ ७४ करोड ३६ लाख ४३ हजार छ भने पुँजीगततर्फ २३ करोड ५५ लाख सात हजार रहेको छ। यो चालु आर्थिक वर्षको बजेटभन्दा झन्डै तीस करोडले बढी हो। गत आवमा गुर्भाकोटले ६४ करोड ३७ लाख ५५ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो।
भेरीगङ्गा नगरपालिकाले ६८ करोड ९९ लाख ८१ हजार १३९ रुपियाँ बराबरको बजेट ल्याएको छ। सिम्ता गाउँपालिकाले आगामी वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा झन्डै आठ करोड बजेट घटाएर ल्याएको छ। आगामी नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सिम्ताले ५८ करोड १७ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। चालुतर्फ ३९ करोड ९७ लाख चार हजार तीन सय ५० र पुँजीगततर्फ १८ करोड २८ लाख ६६ हजार रहेको छ। चालु आर्थिक वर्षमा सिम्ताले ६४ करोड ३९ लाख आठ हजार नौ सय २७ रुपियाँ बजेट रहेको छ। पालिकाले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको छ।