• १३ मंसिर २०८१, बिहिबार

बाँसका सामग्री बनाउन उद्योग

blog

अमरराज नहर्की

तनहुँ, असार ९ गते ।  तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँसका सामग्री उत्पादन गर्ने उद्योग सञ्चालनको तयारी गरिरहेको छ । 

सञ्चालन गर्न लागिएको बाँस तथा कृषि औजार उत्पादन उद्योगका लागि चीन र भारतबाट आवश्यक उपकरण आइपुगेको गाउँपालिकाले जनाएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा उद्योग स्थापना गर्न लागिएको र उपकरण जडानको काम असार १५ गतेबाट पूरा हुने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो। 

गरिबी निवारणका लागि बाँस र फलामबाट विभिन्न सामग्री उत्पादनका लागि उद्योग स्थापना गर्न लागिएको अध्यक्ष चुमानले बताउनुभयो। 

उद्योगबाट बाँसजन्य सामग्री सोफा, कुर्ची, टेबल निर्माण गरिने छ। अध्यक्ष चुमानले भन्नुभयो, “विपन्न समुदायलाई घरेलु सिप सिकाएर आयआर्जनसँग जोड्न चाहेका छौँ।” 

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत बाँस र फलामबाट विभिन्न सामग्री उत्पादनका लागि उद्योग स्थापना गर्न लागिएको गाउँपालिकाले जनाएको छ। उद्योगका लागि दुई वटा भवन निर्माण गरिएको उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो। उपाध्यक्ष अर्यालले भन्नुभयो, “गोडमेल गर्न नपर्ने, सिँचाइ नभएको  र बाँदर लाग्ने ठाउँमा पनि बाँस सप्रिने र यहाँका आदिवासीको पुख्र्यौली पेसा भएकाले उद्योग सञ्चालन गर्न लागेका हौँ।” 

यसै गरी उद्योगबाट कृषि उत्पादनका लागि सहयोगी फलामजन्य आधुनिक सामग्री पनि बनाइने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार सामुदायिक विद्यालयका लागि आवश्यक फलामका डेस्क, बेञ्चलगायत सिकाइ सामग्री उद्योगबाट तयार गरिने छ। उद्योगलाई दिगो रूपमा सञ्चालनका लागि कम्पनीका रूपमा विकास गर्ने योजना छ। त्यसका लागि गाउँपालिकाभित्रका वित्तीय संस्था एवं समूहसँग साझेदारी गरिने पालिकाले जनाएको छ। 

उद्योगमा गाउँपालिकाको ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत सेयरको व्यवस्था गरिने छ। उद्योगको कुल लागत दुई करोड एक लाख रुपियाँ रहने बताइएको छ। त्यसका लागि गण्डकी प्रदेश सरकारले एक करोड ४० लाख ७० हजार रुपियाँ अनुदान दिएको छ। गाउँपालिकाले ६० लाख ३० हजार रुपियाँ लागत साझेदारी गर्ने छ। 

स्थानीय स्रोत र सिपको प्रवर्धन गरी उद्यमशीलता विकास गर्ने नीति अन्तर्गत गाउँपालिकाले सबैभन्दा सीमान्तकृत र पिछडिएको भुजेल तथा मगर समुदायका ३४ जनालाई बाँसजन्य सामग्री उत्पादनको तालिम दिइसकेको छ। तालिम लिएकाले बाँसजन्य सामग्री उत्पादन सुरु गरेका छन्। पुख्र्यौली ज्ञान र सिपलाई आधुनिकतामा परिणत गरेर  आयआर्जनमा जोड्ने उद्देश्यसहित बाँसबाट निर्माण गर्न सकिने कुर्ची, सोफालगायत उत्पादन हुन थालिसकेको छ। गाउँपालिकाले यसअगाडि घरेलु बाँसबाट डस्टबिन बनाउने तालिम पनि दिइसकेको छ। उक्त डस्टबिन गाउँपालिकाले नै खरिद गरेर स्थानीय विद्यालयमा वितरण गरेको थियो। 

प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेकाले बाँसका उत्पादन वातावरणमैत्री तथा स्वस्थकर रहेकाले विद्यालयलाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो। शर्माका अनुसार मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत गाउँपालिकाका ७०५ घरधुरीका तीन हजार ५२९ जना लाभान्वित हुने छन्। जसमा एक हजार ७६५ महिला र एक हजार ७६४ पुरुष लाभान्वित हुने भएका हुन्। त्यसमध्ये चार सय दलित, बाह्मण क्षेत्री ६७७, आदिवासी जनजाति दुई हजार २९२ र अन्य १६० जना रहेका छन्। मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो। 

कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणापत्र पेस गरेपछि दुवै पक्षबिच सम्झौता भएको शर्माले जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो, “गाउँघर छेउछाउका रुखो पाखो जमिनमा व्यावसायिक सोचका साथ बाँस हुर्काएर आयको एउटा गतिलो स्रोत बनाउन सकिन्छ।” जन्मेदेखि मृत्युसम्म चाहिने बाँस सबभन्दा सस्तो र भरपर्दो वस्तु भएको शर्माको भनाइ छ।  

नेपालमा डोको–डालो, थुन्से, नाङ्लो, चाल्नो, मान्द्रो, चित्रा, भकारी र बारबेरका लागि बाँस रोप्ने गरिएको छ तर बाँसबाट नबन्ने चिज कमै छ । 

बाँसबाट हस्तकलाका आकर्षक डोको, डालो, नाङ्लो, थुन्से, मान्द्रो, खेलौना, टेबुल–कुर्सी, सोफालगायतका फर्निचर बनाउन सकिन्छ। पछिल्लो समय खुलेका विभिन्न होमस्टे र होटलमा स्थानीय बाँसका सामग्री प्रयोग हुन थालेकाले उद्योगले उत्पादन गरेको सामग्री बिक्री हुने अपेक्षा गाउँपालिकाको छ। 

त्यस्तै बन्दीपुर गाउँपालिका–६, साराङबागथल र ग्याजाटारका महिला मिलेर मुडा बनाउने व्यवसाय सुरु गरेका छन्। वडा कार्यालयले महिलालाई तालिम प्रदान गरेपछि मुडा बनाउने व्यवसाय सुरु गरेका हुन्। वडा कार्यालयको आयोजनामा वडाका २८ जना महिलालाई १५ दिनसम्म मुडा बनाउने तालिम दिइएको थियो। वडाको आर्थिक वर्ष २०७९/८० को महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट तालिम सञ्चालन गरिएको बन्दीपुर गाउँपालिका–६ का अध्यक्ष बलबहादुर गुरुङले बताउनुभयो।