• १२ साउन २०८१, शनिबार

बाढी र पहिरोको जोखिममा दर्जनौँ बस्ती

blog

बाढीपहिरोको जोखिममा परेको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान बजार।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ३ गते। ताप्लेजुङमा दर्जनौ बस्ती बाढी र पहिरोको जोखिममा परेका छन्। निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा पहिरो र खोला नदीमा बाढी जान थालेपछि बस्ती जोखिममा परेका हुन्। 

जिल्लाका नौवटै स्थानीय तहमा बाढीपहिरोले जोखिम निम्त्याएको छ। सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो ठूलो बजारका रुपमा रहेको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको छ। तमोर नदी र मैवाखोलाको किनार (तटीय) भागमा रहेको दोभान बजार खोला तथा नदीमा आएको बाढी र पानीको सतह बढेका कारण जोखिममा परेको हो। 

स्थानीय टङ्कप्रसाद खतिवडाका अनुसार दोभानको तीनवटा घर उच्च जोखिममा परेका छ। खोला नदीले तटीय भाग निरन्तर कटान गरिरहेका कारण सिङ्गो दोभान बजार नै जोखिममा परेको खतिवडाले जानकारी दिनुभयो। बाढीपहिरोको उच्च जोखिम भएकाले वर्षा हुन थालेदेखि नै दोभान बजारका बासिन्दा रातभर नसुती जाग्राम बस्दै आएका बताइएको छ। 

यस्तै मैवाखोला गाउँपालिकामा पनि दर्जनौ घर बाढीपहिरोको जोखिममा परेका छन्। वर्षापछि बाढीपहिरोका कारण हालसम्म भएको क्षतिको विवरण आइतबार सार्वजनिक गर्दै मैवाखोला गाउँपालिकाले पालिकाभित्र १० घर उच्च जोखिममा र बाँकी २६ घर जोखिममा परेको जनाएको छ। घरपरिवार तथा बस्ती जोखिमसँगै बाढीपहिरोले पु¥याएको अन्य भौतिक संरचना, पशुपन्छी लगायतमा पुगेको क्षतिको विवरणसमेत मैवाखोला गाउँपालिकाले सार्वजनिक गरेको छ।

त्यस्तै सिदिङ्वा गाउँपालिका–३ आँखोपमा स्थानीय महेश्वर सेलिङ, प्रेम सेलिङसहित चार पहिरोले बगाएको प्रहरीले जनाएको छ। आँखोपको खिर्लाबोटे बस्ती नै बाढीपहिरोको जोखिममा रहेको र केही परिवार आफ्नो घर छोडेर सुरक्षित स्थानमा सरेका स्थानीय शिक्षक चैतन्य बुडाक्षेत्रीले जानकारी दिनुभयो। सोही गाउँपालिका वडा ४ साब्लाखुमा पनि इन्द्रावती खोलामा आएको बाढीले स्थानीय सञ्जय पन्दाकको घरलाई जोखिममा पारेको छ। खोलाले तटीय भाग कटान गरेसँगै घर जोखिममा परेपछि अहिले सुरक्षित ठाउँमा सरेको पन्दाकले जानकारी दिनुभयो।

यसैगरी शनिबार राति नै वर्षासँगै पहिरो बगेपछि सिदिङ्वा गाउँपालिकाकै वडा ६ मेहेले पनि जोखिममा परेको छ। मानवीय क्षति हुनेगरी मेहेलेको भालुखोप क्षेत्रमा गएको पहिरोले दुई घर पूर्णरुपमा बगाएको छ भने दर्जनौ घरहरु जोखिममा परेका स्थानीय किरण लिङ्देनले जानकारी दिनुभयो। सोही पालिकाको वडा ७ सुरुम्खिमको केही टोल, सिरिजङ्घा गाउँपालिका–५ पेदाङ, वडा ६ मामाङ्खे, वडा ७ खेबाङ र वडा ८ याम्फुदिनका बस्तीहरु बाढीपहिरोको जोखिममा परेका छन्। 

खेबाङका दर्जनौं बस्तीहरु उच्च जोखिममा परेका कारण सुरक्षित ठाउँमा स्थानान्तरण भएका बताइएको छ। त्यस्तै याम्फुदिनमा पनि डेढदर्जन घरपरिवार सुरक्षित ठाउँमा सरेका स्थानीय मनकुमार राईले जानकारी दिनुभयो। फुङ्लिङ नगरपालिका–११ फावाखोलाका केही टोल, फक्ताङ्लुङ गाउँपालिकाको सावादिन, इखाबु, लेलेपजस्ता गाउँहरु पहिरोको जोखिममा रहेका छन्। मिक्वाखोला गाउँपालिकाको वडा १ र २ खोक्लिङ तथा वडा ३ लिबाङ पहिरोको उच्च जोखिम रहेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो।

यता बाढीपहिराको उच्च जोखिममा रहेको बस्तीका बासिन्दालाई सचेत रहन र सुरक्षित स्थानमा बस्नलाई सम्बन्धित स्थानीय तहका पदाधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आग्रह गर्दै आउनुभएको छ। हालसम्म बाढीपहिरोको जोखिम तथा अप्ठ्यारोमा परेकाहरुको खोज तथा उद्धारमा कमी हुन नदिइने पनि प्रजिअ चेम्जोङको भनाइ छ।