जीवन समस्याको परिधिभित्र रहनाले मानिस समस्या समाधानका लागि सङ्घर्ष गरिरहेका हुन्छन् । व्यवहारमा समस्या आफसेआफ आउने गरे पनि धेरै जसो समस्या हामी आफूले चाल नपाई आफैँ ल्याउने गर्छौं, त्यो हो इच्छा । समस्याको प्रक्रियाले मन, विचार चेतनाले सिर्जना गरेको हुन्छ । मनले इच्छा गर्छ, चेतनाले योजना बनाउँछ, विचारले संरचना गरी कार्यान्वयन गर्छ । समस्याको मूल जड के हो भनी बुझी निराकरण नगरेसम्म हामी समस्याको भुमरीमा परिरहेका हुन्छौँ । हामी आफ्नो अनुभवबाट सिद्ध गर्न सक्छौँ, आँखा, कान, नाक, जिब्रोलगायत यो देहले मनलाई धित मारी आनन्द लिन खोज्छौँ, यही समस्याको जड हो । मनलाई धित मार्न, मनको इच्छा पूर्ति हुनु पर्छ ।
समस्या समाधान गर्न र दुःख निवारण गर्न ज्ञानले यथार्थ रूपमा बुझेर जीवनको वास्तविकता पत्ता लगाउन सक्छौँ । विवृत्त पाङ्ग्रा जस्तो मनको इच्छा भयो भने इच्छा पूरा भए पनि समस्या बारम्बार दोहोरिन्छ । जसरी हामी जति अघाउने गरी खाना खाए पनि केही छिनपछि भोक लाग्छ । यस्तो प्रक्रियाले जीवन रहुन्जेलसम्म समस्या बल्झिरहन्छ । अतुल सम्पत्ति भएर पनि इच्छा धेरै गर्ने व्यक्ति झुपडीमा गृहस्थी चलाइराखेको व्यक्तिभन्दा गरिब हुन्छ । झुपडीमा बसेर सन्तोष लिने व्यक्ति त्यो गरिब भएर पनि धनी हुन्छ ।
अतुलनीय आशा नै निराशाको कारखाना हो, सन्तोषले सुख आनन्द पाइन्छ, असन्तोषले दुःख । अझ जीवनलाई बुझेर सांसारिक सुखसुविधालाई तुच्छ ठानी मायामोहबाट वितृष्णा भई आएको आनन्द अनन्तकालसम्म रहन्छ । चेतना विकास भएपछि चित्तले संवेगात्मक भाव गहन गरी सघन रूपमा तीव्रता पाउन सक्छ । चेतनाको विकासका क्रममा एकचित्त निरुद्ध भएर अर्को वैराग्य चित्त उत्पत्ति हुन्छ । प्रत्येक चित्तले एउटा गोचरलाई अनुभव गर्नै पर्दछ । मनका छ द्वारमार्फत भिन्न आलम्बन गोचरलाई अनुभव गर्दछ । चक्षुद्वारा अनुभव गर्ने चित्त दर्शन हुन जान्छ । यसैबाट विभिन्न सामानको नामकरण भएको छ । कुनै वस्तु देखिएपछि त्यो वस्तुको चिन्तन गर्नु त्यो चित्त हो । जुन चित्तलाई मनद्वारा अनुभव गर्छ । त्यो स्रोत दर्शनदेखि भिन्न चित्त हो ।
प्रत्येक चित्त उत्पन्न हुनुको एउटा कारण हुन्छ । आँखाले देखेर, नाकले सुँघेर, अर्थात् जिब्रोले स्वाद लिएर जुन रसानुभूति गर्छ अरू इन्द्रियबाट हुँदैन । कुनै एक समयमा एउटै मात्र चित्त हुने हुनाले एक समयमा एउटै मात्र गोचरलाई अनुभव गर्न सकिन्छ । यो चित्तको स्वभाव हो । चित्त कुशल र अकुशल हुन्छ । कुशल चित्त शील पालना, दान, विनम्रता, आदर, उपदेश, हुन् । अकुशल चित्तमा लोभ, मोह, द्वेष पर्दछ । अकुशल चित्तले कुनै कार्य सहजीकरण भए पनि भित्र मनमा दुःखका विपाक हुन्छन् ।
अकुशल चित्तको कारण ध्रुवकी सौतिनीआमा सुरुचि जलन भएर ध्रुवलाई आफ्नो पिता उत्तानपादको काखबाट हटाइदिइन् । धु्रवकी आमा सुनीतिले आफ्ना पति उत्तानपादले सौता सुरुचिलाई अत्यन्त प्रेम गरेको कारण केही बोल्न सकिन । यो विपाक चित्तले गर्दा ध्रुव पाँच वर्षको उमेरमा विपत्तिबाट मुक्त हुन नारायणको तपस्या गरे । नारायण ध्रुवका अभिलाषा जानी आफ्नो दर्शन दिएर तिमीलाई यस्तो लोक दिन्छु भनी सप्तर्षि पनि घुमिरहने ज्योतिचक्रले घुमिरहने प्रलयकाल नहुने लोक दिए । धु्रवले विपत्तिबाट उन्नति गर्न थाले ।
त्यस्तै राजा हरिश्चन्द्र सत्यवादी धर्मत्मा भएका कारण छोरी पद्मिनीकी सहस्रबाहु अर्जुन जस्तो छोरो भयो । सहस्रबाहु अर्जुनले त्रिलोक विजयी रावणलाई दह्रो एक झापड दिई बेहोस् बनाई बन्दी बनाएका थिए । उनका गुरु दत्तात्रय थिए तर पनि अकुशल चित्तले परशुराम अनुपस्थितिमा आमा रेणुकालाई अपमान गरी पिता जगदग्निलाई मारे । यही कारणले परशुरामले सहस्रबाहु अर्जुनको वध गरिदिए । यसरी चित्तले अनकौँ समस्या थप्दै जान्छ । एक अकुशल चित्तले गर्दा अर्कोले अकुशल चित्त गर्नुपर्ने हुन्छ । यो चौपट महामारी भए पनि यसलाई मनन गर्न सकिँदैन । यसका लागि अभिधर्मको अध्ययन गरेपछि अकुशल चित्त, होस पु-याउन सक्छ । हामीले जानीनजानी व्यवहारमा कुशल र अकुशल चित्त गरिरहेका हुन्छौँ ।
कसैले कसैलाई रुखो वचन बोलेको सुन्यो भने हामी आफैँलाई त्यो मन परेको हुन्न । त्यस क्षणमा हामी आफैँमा पनि द्वेषसहितको अकुशल चित्त रहेको हुन्छ । अरूले गर्ने अकुशल चित्तमा ध्यान हामी आफैँ अकुशल चित्त नगर्न लागि सजग हुनु पर्दछ । परिणामस्वरूप त्यस्ता व्यक्तिले अज्ञानताले अनजानमा अकुशलतालाई सञ्चय गरिरहेको हुन्छ । हामीले कुशल चित्त र अकुशल चित्त भेदलाई राम्ररी बुझ्यो भने अधर्म कार्यबाट वञ्चित हुन सक्छौँ । कुशल चित्तको कारणले दुःख भोग्नुपरे पनि अन्तिम परिणाम मिठो हुन्छ ।
सत्यवादी राजा हरिश्चन्द्र वशिष्ठका शिष्य थिए । वशिष्ठले विश्वामित्रलाई आफ्नो शिष्य जिउँदै स्वर्ग आउन सक्ने भनेपछि विश्वामित्रले राजा हरिश्चन्द्रको परीक्षा लिन थाले । विश्वामित्रको परीक्षामा राजा हरिश्चन्द्र चाण्डालासँग बेचिन पुगे । चाण्डालले हरिश्चन्द्रलाई मसानमा दाहसंस्कार काम लगाए । दाहसंस्कार गरेर पाएको पैसा हरिश्चन्द्रले चाण्डाललाई दिनुपथ्र्यो । एकदिन आफ्नी श्रीमती रानी शैव्या आफ्नो छोरो रोहितको मृत शरीर बोकेर त्यहीँ पुगिन्, जसको सर्पले डसेर मृत्यु भएको थियो । आफ्नो दुर्भाग्य देखेर हरिश्चन्द्रले आत्महत्या गर्ने मन गर्छन् । उनले अर्को जन्ममा त्यसको फल भोग्नुपर्ने महसुस गरी रोकिए । रानी दाहसंस्कार गर्न सुरसार गरिन् । हरिश्चन्द्रले पैसा नदिएसम्म दाहसंस्कार गर्न मिल्दैन भनी रोके । त्यो बेला सबै देवीदेवतासहित विश्वामित्र उपस्थित भए । देवीदेवताले हरिश्चन्द्रको सत्यवादिता र सत्गुणको प्रशंसा गरे । उनलाई स्वर्गमा निम्त्याए, त्यसैले राजा हरिश्चन्द्र जिउँदै स्वर्गमा गएको मानिन्छ ।
कुशल चित्तले मानसिक, शारीरिक सकुशल हुन सक्छ । चित्तसत्ताबाट विमुख नभएसम्म चित्त सुख हुन सक्दैन । आनन्द हामीबाट ताराझै टाढा हुन्छ । चित्त शुद्ध गर्न सके आनन्द स्वतः स्फूर्त हुन्छ । आत्मा ज्ञानबिना आनन्द नहुने कारणले धन, जन, मान आर्जनले आनन्द प्राप्त हुँदैन भन्ने अनुभवबाट सिद्ध भएको छ । आनन्द प्राप्तिका लागि धन, जन, मानको पछि लाग्नु यो दुःखका कारण बन्न जान्छ । चित्त शुद्ध गर्नसके मात्र चेतना जागृत गर्न सक्छ । चेतना जागृत गरी कर्मनिष्ठा र ज्ञाननिष्ठाबाट ब्रह्माकार वृत्ति उत्पन्न हुन्छ । यसबाट ब्र्रह्मस्वरूपको स्पष्ट भएपछि सदाका लागि अविर्मूत हुन्छ । यही अविर्मूतबाट दुःख चिन्ता, भय सदाका लागि निर्मूल हुन्छ । त्यसैले ऋषिमुनि कुशल चित्तका लागि एकान्त बनमा गई बस्थे । नानाथरीका मानिससँग भेटघाट गर्दा सम्बन्ध राख्दा नानाथरीका कुरा गर्नुपर्ने हुन्छ, जसबाट मनमा अशान्तिले पिङ खेल्न थाल्छ । कुशल चित्तले मनमा शान्ति र आनन्द प्राप्त गर्न सक्ने भएकोले भगवान् बुद्धले धर्मको प्रमुख कार्य कुशल चित्तलाई अपनाउनु भएको थियो । कुशल चित्त शान्तिको बगैँचा हो भने धर्मको स्रोत हो, आनन्दको उपज हो, प्रेमको प्रेरणादायक हो । यसैले कुशल चित्त प्रकृतिभन्दा सुन्दर, सफेद जलभन्दा पवित्र हुनाले इमानजमान पनि यसको सेवक बन्न थाल्छ ।
सम्पूर्ण क्रियाकलापको केन्द्रबिन्दु मन भएकोले मनलाई अज्ञानताको आश्रयस्थल बनाउन हुन्न । त्यसैले हाम्रो जीवनमा बुद्धिबाट आत्मालाई प्रभावित पारेर इन्द्रियलाई भौतिक भोग गर्ने आदत बसाल्छ । भौतिक भोगलाई वास्तविक वास्तविक आनन्द सम्झी इन्द्रियलाई तृप्त गर्न खोज्छ । अर्थात् संसारसित चलनचल्ती रीतिरिवाजसँग घुलमेलले विपत्तिलाई उत्पत्ति गरी प्रजनित भइरहेको हुन्छ । शुद्ध चित्तमा मात्र ब्रह्मअदिर्मूत हुन्छ, चित्तलाई अन्र्तमुखी तुल्याइ स्थिर स्थतिबाट अद्वितीय आनन्द पाउन सकिन्छ । जबसम्म कुशल चित्तले यथार्थ वस्तुलाई प्रज्ञाले चिन्न सक्दैन, तबसम्म प्रलोकधर्माले आर्यविनय भइरहन्छ । विपत्ति र आपत्तिको चक्रव्यूहमा फसिरहन्छ । यसलाई परकाष्ट गर्ने एउटै मात्र शस्त्र छ त्यो हो शुद्ध चित्त । यो चित्तको विचित्र चित्तलाई एकग्रहले शुद्ध गर्न सकिन्छ । चेतना जागृत गरी बोधिज्ञानसम्म प्राप्त गर्न सकिन्छ ।
लेखक दर्शनसम्बन्धी ज्ञाता हुनुहुन्छ ।