धर्म शब्द ‘धृ’ धातुबाट बनेको हो । यसको शाब्दिक अर्थ धारण गर्नु भन्ने हुन्छ । कुनै पनि असल कुराको धारण गर्नु नै धर्म हो । यसलाई मानवीय आचरण र व्यवहारका रूपमा लिइन्छ । नेपाली बृहत् शब्दकोश अनुसार लोकको हितका लागि अँगालिने कर्मलाई धर्म भनिएको छ । धर्मका बारेमा पूर्वीय विद्वान्मध्ये स्वामी विवेकानन्दले धर्मलाई अनुभूतिको वस्तु मानेका छन् भने परमहंस योगानन्दले जीवन सञ्चालनको कानुनलाई धर्म ठानेको पाइन्छ । यसै गरी स्वामी करपात्रीले अनिष्टबाट रक्षा गर्ने वेदाज्ञाको प्रमाणलाई धर्म मानेको पाइन्छ ।
पाश्चात्य विद्वान् दुर्खिनले विश्वास र अभ्यासको एकत्व विधिलाई धर्म मानेका छन् भने अक्सफोर्ड डिक्सनेरीमा ईश्वर र पूजामा विश्वास गर्ने कार्य नै धर्म हो भनिएको छ । टायनबीले धर्म मानवको स्वाभाविक गुण ठानेका छन् । त्यसै गरी गेलबेलेले पनि आफूभित्र वा बाहिरको शक्तिप्रतिको विश्वास नै धर्म हो भनेका छन् । यसै गरी माक्र्सले धर्मलाई अफिम मानेका छन् भने लेनिनले फल नलाग्ने फूल भनेका छन् । धर्म भनेको मानवीय आचरण र व्यवहार वा विश्वास हो । पूर्व र पश्चिममा धर्मका बारेमा समान खालको धारणा पाइन्छ । माक्र्सवादी विचारमा भने यसलाई समाजमा भ्रान्ति फैलाउने चालचलन हो । यसले मानवलाई वास्तविकताबाट टाढा राख्न सक्छ भन्ने धारणा रहेको पाइन्छ । यसरी धर्म मानवीय आचरण र व्यवहारलाई मानवीय रूप प्रदान गर्ने अदृश्य सोचाइ हो ।
संसारमा विभिन्न धर्मको विकास भएको पाइन्छ । यी धर्ममा महिनावारी भएकी महिलालाई हेर्ने दृष्टिकोण पनि फरक फरक रहेको पाइन्छ । यहुदी धर्ममा महिनावारी भएकी महिलालाई हात मिलाउन नपाइने, सामग्री दिँदा अलग्गै दिनुपर्ने, जथाभावी दिसापिसाब गर्न नपाइने, शारीरिक सम्पर्क गर्न नपाइने, अनिवार्य रूपमा नुहाउनुपर्ने र पाँच दिनसम्म बार्नुपर्ने चलन छ । महिनावारीको रक्तश्राव मात्र नभई वरिपरिको वायु पनि प्रदूषित हुन्छ भन्ने विश्वास यहुदी धर्ममा गरिन्छ । धेरै जसो इसाई सम्प्रदायले महिनावारीसम्बन्धी खास रीत तथा नियम पालना त गर्दैनन् तर उनीहरूमाथि केही सामाजिक प्रतिबन्ध लगाइन्छ ।
क्याथोलिक कानुनले महिला वा बालिकालाई चर्चको प्रार्थनासम्बन्धी भूमिकामा रहन बर्जित गरेको छ । रूढीवादी रसियन इसाई समाजमा पनि महिनावारीसम्बन्धी कुरीति रहेको पाइन्छ । ती समाजमा महिनावारी भएका महिलाले घरदेखि टाढा साँघुरो झुप्रोमा एक्लै बस्नु पर्छ । तिनीहरू चर्चमा हुने कुनै क्रियाकलापमा सामेल हुँदैनन् र पुरुषलाई समेत छुँदैनन् । यसका अलावा काँचो र पाक्य खाद्य सामग्रीसमेत छुँदैनन् । महिनावारी भएकी महिलाले रिसले घुरेर हेर्दा मौसममा समेत परिवर्तन आउँछ भन्ने विश्वास गरिन्छ । यसरी इसाई धर्ममा पनि छाउपडीलाई भेदभाव गरेको पाइन्छ । इस्लाममा पनि पुरुष महिनावारी भएकी महिलाबाट टाढा हुनु पर्छ भन्ने धारणा व्याप्त छ । महिनावारी भएकी महिलालाई धार्मिक अनुष्ठानमा भाग लिन बर्जित छ । महिला मस्जिदमा जाने, कुरान पढ्ने, सात दिनसम्म शारीरिक सम्पर्क गर्न नपाइने र मादानमा व्रत बस्ने गर्दिनन् । यसरी इस्लाम धर्ममा पनि छाउपडीलाई भेदभाव गरेको पाइन्छ ।
हिन्दु धर्म परम्परा महिनावारी भएकी महिलालाई अशुद्ध वा प्रदूषित मान्दछ । यस्ती महिलालाई घरभन्दा टाढा झुप्रोमा बसालिन्छ । उनीहरूलाई खाना पकाउन, पानी छुन, फलफूल छुन, पूजा गर्न, मन्दिर जान बर्जित हुन्छ । महिनावारीपछि भने फेरि महिलालाई सामान्य रूपमा लिइन्छ । बौद्ध धर्ममा महिनावारी भएकी महिलामा प्राकृतिक रूपमा महिनाको एक चोटि हुने शारीरिक तथा जैविक प्रक्रियाका रूपमा लिइन्छ । हिन्दु परम्परा र अभ्यासले बौद्ध धर्मका सम्प्रदायमा केही प्रभाव पारेको देखिन्छ । ताइवानमा महिनावारी भएकी महिलालाई अशुद्ध मानिन्छ । जापान र चीनमा समेत महिनावारीसम्बन्धी विभिन्न कुरीति रहेका पाइन्छन् । यसरी बौद्ध धर्ममा महिनावारीलाई शारीरिक र प्राकृतिक प्रक्रिया माने पनि हिन्दु धर्मको प्रभावका कारण गुम्बामा जान निषेध गरिन्छ ।
सिख धर्ममा महिनावारीको अन्धविश्वासलाई भ्रान्ति भनिएको छ । शिख धर्मका जन्मदाता गुरु नानकले महिनावारी भएकी महिलालाई अपवित्र मान्ने परम्परा राम्रो होइन भनेका छन् । यस बेला शिखको धार्मिक स्थल गुरुद्वार गई पूजाआजा गर्न निषेध गरिएको छैन र घरभित्रको चुलोचौको र घरबाहिर जता पनि जान पाइन्छ । शिखको धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ सहीव’ मा महिनावारी भएको बेला सहवासलाई भने प्रतिबन्ध गरिएको छ । यस धर्ममा महिनावारीलाई सामान्य प्रक्रिया मानिएको छ र सफा रहन मात्र भनिएको छ । उल्लिखित विश्वका प्रमुख धर्ममध्ये हिन्दु, बौद्ध, इसाई, इस्लाम, यहुदी, मुस्लिम धर्ममा महिनावारीसम्बन्धी धारणा धेरै हदसम्म समानता देखिन्छ । शिख धर्ममा भने महिनावारी भएका बेला पूजापाठदेखि घरभित्र बाहिर जहाँ पनि जान पाउने व्यवस्था रहेको पाइन्छ ।
संसारका विभिन्न देश र जातिको संस्कृतिमा महिनावारी भएकी महिलालाई कुनै न कुनै रूपमा भेदभाव गरेको पाइन्छ । इन्डोनेसियाको सेराम गाउँका हुलाल आदिवासी जातिमा महिनावारी भएका महिलालाई गाउँको छेउमा भएका गोठमा बस्ने, सिकार गर्न नपाउने, छुट्टै खोलाको झरनामा नुहाउने र पुरुष त्यो झरनामा जान नपाउने प्रचलन रहेको थियो । त्यसै गरी मालीका डोगन जातिका महिलालाई पनि महिनावारी भएका बेला गोठमा बस्नुपर्ने र कडा खालको कृषि कार्य गर्नुपर्ने, घरको आँगन र सार्वजनिक बाटाहरूमा हिँड्न नपाइने, शारीरिक सम्पर्क र खाना बनाउन नपाइने प्रचलन रहेको थियो ।
यसबाहेक फ्रान्समा महिनावारी भएकी महिलाले ‘मेयोनेज सस’ बनाउँदा त्यो जम्छ भन्ने विश्वास भएकाले त्यो सस बनाउन दिइँदैन, बेलायतमा पिरियडको बेला बाथटपमा नुहाउन नपाइने, पोल्यान्डमा पिरियडको समयमा सम्भोग गरेमा पुरुषको मृत्यु हुने विश्वास र क्याम्पिङमा गएमा रगतको गन्धले गर्दा जनावरले आक्रमण गर्छ भन्ने मान्यता रहेको छ । भारतको उत्तराखण्डमा पाँच दिनसम्म रजस्वला भएकी महिलाले व्यक्ति, तरकारी, वस्तु, फलफूल, हल्दी पिँडालुलाई छुन नपाइने, दुध खाने बच्चालाई लिँदा कपडा खोलेर दिने र घरमा ल्याउँदा गहुँत छर्केर मात्र ल्याउने, रजस्वला भएकी महिलाको आवतजावत गर्ने बाटामा पनि गौमूत्र छर्किने प्रचलन रहेको छ । विभिन्न देशमा भएका महिनावारीसम्बन्धी भेदभाव अहिले भने नहुन सक्छ ।
यसरी नेपालमा मात्र होइन, संसारमा रजस्वला भएको बेला महिलालाई भेदभाव गरेको पाइन्छ । नेपालमा ४३ वटा विभिन्न प्रथा रहेका छन् । जसमध्ये ३६ वटा प्रथा महिला हिंसासँग सम्बन्धित छन् । तिनैमध्येको छाउपडी प्रथा पनि एक हो । यस प्रदेशमा महिनावारीलाई ‘छाउ’ र महिनावारी भएकी महिलालाई छाउपडी भनिन्छ । नेपालमा महिनावारी भएका बेला महिलालाई देशैभरि जातिगत, क्षेत्रगत र सांस्कृतिक रूपमा केही न केही भेदभाव गरेको पाइन्छ किनभने नेपाल एक बहुसांस्कृतिक मुलुक हो ।
महिनावारी भएकी महिलालाई कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी स्थानमा अशुद्ध मानी नछुने, छुट्टै छाउगोठमा राख्ने, नुहाउने धारा अलग्गै बनाउने र पोषणयुक्त खानेकुरा नदिने सामाजिक प्रथा प्रचलनमा छ, त्यसलाई छाउपडी प्रथा भनिन्छ । यसले महिलाका विभिन्न प्रकारका अधिकार हनन गरेको छ र महिला हिंसालाई प्रोत्साहन गरेको छ । नेपालको सुदूरपश्चिम प्रदेशमा पनि सबभन्दा बढी हिन्दु धर्मवलम्बी र जातिहरूमा क्षेत्रीको सबभन्दा बढी जनसङ्ख्या र त्यसपछि ब्राह्मणको रहेकाले पनि यस प्रदेशमा यो प्रथाले जरा गाडेको हुन सक्छ । तथ्याङ्क अनुसार २०७४ सालसम्म छाउपडी गोठमा बसेका कारण १४ जनाले मृत्यु वरण गरिसकेका छन् ।
यो त ज्ञात तथ्याङ्क हो, अन्य अज्ञात तथ्य त अझै धेरै हुन सक्छ । नेपाल सरकारले छाउपडी प्रथा उन्मूलनका लागि २०६४ सालमा छाउपडी उन्मूलन निर्देशिका जारी गरी छाउपडी प्रथालाई कुरीतिजन्य प्रथा मानेको भए पनि भिन्नै कानुन बनाएको थिएन । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ को उपदफा ३ मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडी राख्न र अन्य कुनै किसिमको भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कार्य गरेको ठहरिएमा तीन हजार रुपियाँ जरिबाना र तीन महिना जेलको कानुनी व्यवस्था गरेको छ । सार्वजनिक पदधारण गरेको व्यक्तिले यस्तो कार्य गरेको ठहरिएमा अन्य व्यक्तिलाई हुने तीन महिना कैदमा थप तीन महिना कैद सजाय हुने व्यवस्था गरिएको छ ।
मुलुकी अपराध संहिता, २०७४ मा छाउपडी प्रथा गैरकानुनी हुने व्यवस्था २०७५ भदौ १ गतेदेखि लागु भइरहेको छ तर पनि हालसम्म छाउपडी प्रथाबाट आफू प्रताडित छु भनेर छाउपडी प्रथाको विरुद्धमा कुनै पनि निकायमा मुद्दा परेको पाइँदैन । यसबाट यस प्रथालाई अधिकांशले सहर्ष स्वीकारेको देखिन्छ । कुनै पनि प्रथालाई हटाउने कुरा समाजमा नै निर्भर हुन्छ । बिस्तारै आफैँ यो कम हुँदै जान्छ भन्ने सामाजिक मान्यता रहेको पाइन्छ ।
छाउपडी प्रथालाई हटाउन विभिन्न गैरसरकारी सङ्घसंस्था सामाजिक अभियन्ता लागिपरे पनि हट्न सकेको छैन । पहिलेभन्दा केही सुधार भने अवश्य भएको पाइन्छ । समयसापेक्ष अझै सुधार गर्दै लैजानु पर्छ ।
लेखक सामाजिक अभियन्ता हुनुहुन्छ ।