• १२ मंसिर २०८१, बुधबार

भुमेपूजाको अस्तित्व हराउँदै

blog

संस्कृति नियमबद्ध, समयबद्ध र प्रतिबद्ध व्यवहारको समष्टि हो, जसले मानव व्यवहारलाई निर्देशित गर्छ । सिक्ने सिकाउने प्रवृत्ति रहने हुँदा नियमप्रतिको प्रतिबद्धताले नै संस्कृति जीवित रहन्छ । पुर्खाद्वारा आफ्नो ज्ञान र क्षमताबाट सिर्जित जीवन शैली समग्रमा संस्कृति हो । परापूर्वकालदेखि अठार मगरातका मगर समुदायले मनाउँदै आएको प्रमुख चाड हो – बलपूजा अर्थात् भुमेपूजा । मगर जातिले आफू बसेको भूमिको पूजा गर्नाले मातृभूमिप्रति श्रद्धा र आदर बढ्ने बताइन्छ । 

यो चाड मनाउँदा दैवी प्रकोपबाट जोगिन सकिने जनविश्वास छ, मगर खाम (भाषा) बोलिने मगर गाउँमा । भुमेपूजा मगरको ऐतिहासिकतासँग जोडिएको छ । प्राचीन समयमा मगर जाति अरू मानव जाति जस्तै वन, जङ्गल तथा खानी क्षेत्रमा बसोबास गथ्र्यो । जीविकाका लागि प्रकृतिसँग जुध्ने र प्रकृतिमै निर्भर रहने जाति हो । उनीहरूको अधिकांश समय जङ्गलमै बित्थ्यो । घरबाहिर रहेका मगर जातिका मानिस असार १ गतेसम्ममा अनिवार्य घर फर्किनुपर्ने प्रचलन बस्यो । असार १ गते सम्पूर्ण परिवार तथा समुदाय जम्मा भएर भुमेपूजा मनाउन थालियो । अनुपस्थित रहनेलाई मृत घोषित गरी उसको किरियासमेत गरिदिने परम्परा थियो उसबेला ।

अहिले पनि भुमेपूजाको दिन वार्षिक जनगणना गर्ने, समुदायको नयाँ पदाधिकारी चुन्ने, वार्षिक आय–व्यय सुनाउने र वर्षभरिको योजना बनाउने परम्परा मगर गाउँमा जीवित छ । भुमेनाच र बाजा भने अहिले लोप हुँदै गएका छन् । पुर्खौंदेखि चलनमा आएका भुमेपूजाका विधि बिर्सिंदै गएका छन् नयाँ पुस्ताले । बाजेका पालासम्म मेरो गाउँ तकसेराको भुमेपूजामा २२ वटा फरक फरक नृत्य र २२ वटै फरक बाजाको प्रयोग गर्ने परम्परा थियो । अहिले २२ मध्ये १२ वटा नृत्य र बाजा अस्तित्वमा छन् । 

भुमेपूजा मगर जातिको थातथलो भएको ठाउँमा मनाउने गरिए पनि अन्य ठाउँमा भने लोपोन्मुख अवस्थामा छ । खास गरी यो चाड अठार मगरात क्षेत्रका रुकुम, रोल्पा, प्युठान, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, कैलाली, सल्यान आदि ठाउँमा मनाइन्छ । हाल यसको वास्तविक अस्तित्व अठार मगरात क्षेत्रका मगर खामभाषीको बसोबास रहेको क्षेत्र रुकुम पूर्वको भुमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिका केही गाउँ सााथै रोल्पाको सुनछहरी गाउँपालिका र थवाङ गाउँपालिकालगायत केही गाउँमा मात्रै सीमित छ । मगर समुदायभित्रकै पनि बाह्र मगरात र काइके (भाषा) बोलिने गाउँमा यो संस्कृति मान्न छोडिसकेका छन् ।

चाडबारे जनश्रुति 

भुमेपूजाको उत्पत्तिका विषयमा रोचक मिथक आज पनि मगर गाउँमा सुन्न पाइन्छन् । मिथक अनुसार भुमेपूजा सुरु हुने बेला मगर जाति समुदायमा बस्न थालिसकेका थिए । खानेकुरा र कामको खोजीमा वनजङ्गल जाने गर्दथे । जङ्गल जाँदा प्राकृतिक विपत्ति भोग्नुपर्ने, बनैया (वनमा मृत्यु भएका जीवको आत्मा) ले दुःख दिने, जङ्गली जनावरको आक्रमणमा पर्ने आदि खतरा हुने गर्दथ्यो । यस्ता घटनाबाट बच्न त्यस बेला समुदायका अगुवाले समस्या समाधानका लागि व्यापक उपायको खोजी गरे । सेर्पाली नाम गरेका एक व्यक्तिलाई साहसिक कदमको जिम्मा दिइएको बताइन्छ । उनै सेर्पालीले घन र तातो सनासो लिएर अहिलेको भुमेपूजा स्थलमा पुग्दा एक्कासि भयानक हुरीबतास आई नागको उत्पत्ति भएको बताइन्छ । 

त्यसपछि सेर्पालीले तातो सनासोले सर्पको घाँटीमा अँठ्याई घनले हानेर मार्न खोज्दा नागले भनेछ, “म वनको राजा हुँ, मलाई नमार । मा-यो भने तिमीहरूले झनै ठुलो विपत्ति भोग्नु पर्ने छ । बरु मेरो पूजा ग-यो भने तिमीहरूको भलो हुनेछ ।” यति भनेर नाग अलप भएछ । त्यस दिनदेखि भुमेपूजाको सुरुवात भएको बताइन्छ । त्यसपछि गाउँमा दुःख दिने र जङ्गल गएका मानिस हराउने क्रम रोकिएको अनुश्रुति सुनाउँछन् लुकुम गाउँका अध्येता । यो इतिहास अन्य गाउँमा हराइसकेको छ । जे होस्, सोही दिनदेखि हरेक वर्ष भुमेपूजा मान्न थालियो । 

मनाउने विधि

असारमा भुमेपूजा गरिसकेपछि बाजा बजाउन नपाइने र बर्खे बाली भित्र्याएपछि मात्र बाजा फुकाउने चलन छ । बन्द गरिएको बाजा बजाएमा असिना, आँधीबेहरी आएर प्राकृतिक विपत्ति बेहोर्नुपर्ने जनविश्वास छ मगर गाउँमा । भुमेपूजाका लागि जेठ १ गते बाजा फुकाउने चलन छ । अहिले ठाउँ र गाउँ अनुसार इच्छा अनुसार फुकाउने चलन आएको छ । बाजा फुकुवा भइसकेपछि दमाहा, झ्याली, खरङ्गा र सहनाई बजाउँदै युवायुवती हातमा धागो बाँधेर अघिल्लो वर्ष ल्याइएको ‘धर्मढुङ्गा’ लाई छोएर वाचा कबोल गर्छन् । प्रत्येक दिन साँझ गाउँको चौतारामा भेला भई असार सङ्क्रान्तिसम्म नाच्ने चलन छ । बुकी फूल टिप्न जाने युवायुवती नै सो वर्षको भुमेपूजाको आयोजक (नोगोबाङ्गे) हुने गर्छन् । आयोजनामा लाग्ने सम्पूर्ण खाना, रक्सी, रोटी खुवाउने जिम्मा चेलीले लिन्छन् ।

असार सङ्क्रान्तिको दुई दिनपहिले युवायुवती विभिन्न खानेकुरा र बाजाहरूसहित फूल टिप्न जान्छन् । बाटोमा रहेका जलाकी र पूजा स्थलहरूमा धूप, ध्वजा र अक्षता चढाउँदै हिमाल पुग्छन् । चुनिएको पुजारी अर्थात् कन्याकेटी पनि उनीहरू सँगै जान्छिन् । बुकीमा एक रात बास बस्छन् । नाचगान गरी रात बिताउँछन् । उज्यालो हुनेबित्तिकै फूल टिप्न बुकी पाटनमा छरिन्छन् । ध्वजा, धूप र अक्षता चारै दिशातिर छर्केर पुजारीले फूल नटिपेसम्म अरूले टिप्न पाउँदैनन् । लुकुम गाउँको बुकीमा नाच्ने र फूल टिप्ने ठाउँ थर अनुसार पहिल्यै छुट्याइएको हुन्छ । एक थरले अर्को थरको बगैँचामा फूल टिपेमा वा नाचेमा जरिबाना तिर्नुपर्ने प्रावधान छ । फूल टिपेर एक ठाउँमा एकत्रित भई आ–आफ्नो चौपारीमा मुर्ला (लिङ्गो) गाडेर नाच्छन् । मुर्लामा सबैले ध्वजा बाँध्ने चलन छ । जसको ध्वजा जोल्ठिन पुग्छ, उसको विवाह त्यही वर्ष हुने जनविश्वास छ । 

यो विधि तकसेरा गाउँमा हराइसकेको छ । हिमालको विधि सकिएलगत्तै नोगोबाङ्गे बाजा बजाउँदै र न्याँहो गीत गाउँदै समूहको महिलाको पछ्यौरी जोडेर लाम्बद भई गाउँ फर्कन्छन् । पुरुषले हिमालमा फुल्ने फूलका नाम पुकार्दै न्याँहो गीत गाउँछन् भने महिलाले औलमा फुल्ने फूलका नाम बताउँछन् । बुकीमा टिपेको फूल, बल (भूमिको नाममा चढाइने जनावरको बलि) चढाउनुभन्दा पहिल्यै गाउँ पुगेर पञ्चलाई बुजाइसक्नुपर्ने हुन्छ । ठिक समयमा सोही फूल गाउँमा नपु-याए दण्ड जरिबाना तिर्नुपर्ने र समयमा युवायुवती गाउँ पुगेमा भने पञ्च बिच बाटोमै भव्य स्वागत गर्न पुग्छन् । गाउँको कटुवाललाई भुमेपूजा सम्पन्न नहुँदासम्म खनजोत, काटमार आदि प्रकृतिसँग सम्बन्धित काम नगर्न भनी हाँक हाल्न लगाउँछन् पञ्चहरू । सोही समयमा कसैले नयाँ माटोको काम ग-यो भने गाउँमा बाढीपहिरो जस्ता विपत्ति सहनुपर्ने जनविश्वास छ । गाउँको पुजारीले भूमिलाई बलि दिएपछि मात्र वन फुकेको मानिन्छ ।

भूमिलाई गाउँ अनुसार फरक फरक पशुको बलि दिने चलन छ । कतै भेडा, कतै बाख्रा, कतै बोका, कतै सुँगुर र कतै भाले आदि । बललाई पूजा गर्नुपूर्व एक पटक पूरै गाउँ घुमाउने क्रममा गाउँलेले घर–घरबाट निस्केको ध्वाँसो, कुलपूजाका बेला पितृलाई चढाएको पुराना ध्वजा आदि निकालेर नाङ्लोमा हाली बल र बल तान्नेहरूको पछिपछि फाल्ने चलन छ । जसलाई मगर खाम (भाषा) मा ‘धुली ध्वंस ख्याने’ भनिन्छ । यसो गर्दा रोग कष्ट बलले लगेर जान्छन् भन्ने परम्परा छ मगर गाउँमा । पूजा गर्ने समयमा पञ्चहरूले बन्दुक पड्काएर सबै गाउँलाई जानकारी गराउँछन् । पुजारीले “भूमि देवता दाइना हुनु, वनझाँक्री दाइना हुनु, नाग दाइना हुनु, देउराली दाइना हुनु, यो साल बाढीपहिरो नजाओस्, अन्न राम्ररी फलोस–फुलोस्, समय साल राम्रो होस्” भनी पुकार्दै पूजा गर्ने चलन छ । 

लोप यात्रामा भुमेपूजा

भुमेपूजा ठाउँ अनुसार आ–आफ्नै अनुकूलतामा मनाउने चलन भए पनि यसको उद्गम थलोमा मनाए जसरी अहिले अन्य स्थानमा मनाइँदैन । ठाउँ अनुसार विधि र नामकरण फरक हुँदै गएका छन् । जस्तै– रोल्पाको थबाङ वरिपरि भलक÷नाम्क र भुम्या, रुकुमको कोल, महततिर भलक र झ्यामकरी अनि लुकुम र झाँक्रीमा नोगोबाङ्गेर भुमे भन्छन् भने तकसेरातिर बुल्क, बल्कु र बलपूजा भन्ने गर्छन् । यस्तै नृत्य र बाजामा पनि गाउँ अनुसार भिन्नता हुँदै गएको कुरा मगर संस्कृति अध्येता घर्ती मगरले सुनाए । 

अधिकांश मगर सहर ओर्लिने र विदेश उड्ने पखेटा हालेकाले नाच्ने युवा गाउँमा भेटिँदैनन् । आफूसँगै भुमेपूजा बोकेर सहर अनि विदेश पसेका मगरले यो संस्कृति जोगाउने प्रयास गरे पनि अर्थ, समय र विधि पूरा गरी मनाइरहेको पाइँदैन । बरु रमाइलोको नाममा जतिखेर मन लाग्यो, उतिखेर भुमेनाच र बाजा प्रयोग गरिँदै आएको पाइन्छ । भुमेपूजाको बेवास्ता गर्दै जाँदा प्राकृतिक विपत्ति बेहोर्नुपर्ने जनविश्वास छ मगर गाउँमा । यसरी नयाँ पुस्ताले आफ्नो संस्कृति बिर्सिंदै जाने र जहाँ मन लाग्यो त्यहाँ नाच्दै जाने हो भने यसको अस्तित्व हराउँदै जाने छ । प्रकृति र मगर समुदायबिचको सम्बन्धमा गजबले उनिएको धागो बिस्तारै चुँडिने छ । 

लेखक पत्रकार हुनुहुन्छ ।

  

Author

अनिल बुढा मगर