• १२ साउन २०८१, शनिबार

विद्युत प्रसारण लाइन सहकार्यको कोशेढुङ्गा हुने विश्वास

उपप्रधानमन्त्री श्रेष्ठ र बङ्गलादेशका राजदूतबीच भेटवार्ता

blog

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठसँग भेट गर्नुहुँदै बंगलादेशका राजदूत सालाउद्दिन नोमन चौधरी । तस्बिर : उपप्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, जेठ ३२ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीबीच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। 

उपप्रधानमन्त्रीको निजी सचिवालयका अनुसार राजदूत चौधरीलाई मन्त्रालयमा स्वागत गर्दै नेपाल र बङ्गलादेशबीचको  सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइन सम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोशेढुङ्गा साबित गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो।  दुई देशबीच व्यापार सम्झौतामा काम भइरहेको आफूले बुझेको उहाँले सुनाउनुभयो।   

राजदूत चौधरीले द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत प्रसारण लाइन कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। यस विषयमा फलदायी छलफल भएको र दुई देशको व्यापार मन्त्रालयले समेत व्यापार सहजीकरण सम्बन्धमा काम गरिरहेको राजदूत चौधरीले बताउनुभयो। 

भेटमा बङ्गलादेशी राजदूतावासले २३ जुनमा कला प्रदर्शनीको आयोजना गर्न लागेकोमा उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति हुन उपप्रधानमन्त्री श्रेष्ठलाई राजदूत चौधरीले आग्रह गर्नुभयो। जवाफमा निमन्त्रणाको लागि कृतज्ञता व्यक्त गर्दै समयको उपलब्धता हेरेर उपस्थितिबारे जानकारी गराउने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो।

विश्व मातृभाषा दिवसको सन्दर्भमा जुन २३ मा ‘लभ एन्ड ल्याङ्ग्वेज’ शीर्षकमा हुने कला प्रदर्शनीमा नेपालका ३५ कलाकारको समेत कला प्रदर्शनी हुने जानकारी गराइएको छ।