पछिल्ला दिनमा अमेरिका र चीनबिचको सम्बन्धमा चिसोपन बढेको छ । दुवै देशका अधिकारी एकअर्काविरुद्ध तातो बहस, आरोप–प्रत्यारोपमा उत्रेका छन् । विश्वको पहिलो महाशक्ति राष्ट्र अमेरिकासँग दोस्रो आर्थिक शक्ति राष्ट्र चीनको प्रतिस्पर्धा नै सबैका लागि चासो र चिन्ताको विषय हो । आजको वास्तविकता यी दुई महाशक्ति मिलेर स्वच्छ प्रतिस्पर्धा गरे विश्वमा शान्ति कायम हुन्छ, झगडा गरे अशान्ति र युद्ध । गत वर्ष इन्डोनेसियाको बालीमा अमेरिकाका राष्ट्रपति जोए बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबिच भेटवार्ता भएयता दुई देशबिच उच्चस्तरीय वार्ता हुन सकेको छैन ।
चिप युद्ध
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पालामा अमेरिका र चीनबिच व्यापार युद्ध सुरु भयो । चीनलाई कमजोर पार्न अमेरिकाद्वारा यो युद्ध सुरु भएको थियो । चीनमा उत्पादित सामानको प्रयोगमा कमी ल्याई अमेरिकामा उत्पादित सामानलाई बढावा दिने ट्रम्पको योजना थियो तर यो युद्ध प्रत्युत्पादक बन्यो । युद्धले चीनभन्दा अमेरिकामा बढी क्षति भयो । अहिले वर्तमान राष्ट्रपति जोए बाइडेनले चीनविरुद्ध प्रविधिमा आधारित चिप युद्ध सुरु गर्नुभएको छ । स्मार्टफोनदेखि सैन्य अस्त्रको निर्माणमा समेत अत्यधिक महìव बोकेको सेमिकन्डक्टर उद्योगमा चीनको प्रगतिलाई रोक्न यो अभियान चालिएको हो ।
सन् २०२२ को अक्टोबरमा वासिङ्टनले निर्यातमा व्यापक नियन्त्रण गर्ने घोषणा ग-यो । जहाँसुकै बनेको भए पनि अमेरिकी औजार वा सफ्टवेयर प्रयोग गरेर बनाइएका चिपलाई चीन निर्यात गर्न कम्पनीहरूले अनुमति लिनुपर्ने नियम लागु गरियो । यो नियमले अमेरिकी नागरिक वा त्यहाँ स्थायी बसोबासको अनुमति ग्रिनकार्ड प्राप्त व्यक्तिलाई चिनियाँ चिप कम्पनीहरूमा काम गर्न अनुमति दिँदैन । चीनतर्फ जान सक्ने अमेरिकी सिप र दक्षता रोक्ने यस प्रयासले उच्च प्रविधिका सेमिकन्डक्टर विकास गर्ने चिनियाँ उद्योगमा असर पर्न सक्छ ।
अत्याधुनिक चिपहरूलाई सुपर कम्प्युटर, कृत्रिम बौद्धिकता तथा सैन्य सामग्रीको क्षमता बढाउन प्रयोग गरिन्छ । त्यस्ता प्रविधिमा चीनको बढ्दो पहुँच र प्रयोगले आफ्नो राष्ट्रिय सुरक्षा खतरामा पर्ने अमेरिकाको दाबी छ । बाइडेन प्रशासनले एक प्रमुख चिप निर्माता वाइएमटिसीसहित थप ३६ वटा चिनियाँ कम्पनीलाई उसको ‘एन्टिटी सूची’मा राखेको छ । यसको अर्थ अमेरिकी कम्पनीहरूले ती चिनियाँ कम्पनीलाई निश्चित प्रविधि बेच्न सरकारको अनुमति लिनु पर्छ । त्यस्तो अनुमति लिन कठिन हुन्छ । सेमिकन्डक्टर तथा सम्बन्धित अन्य प्रविधिमा निर्यात नियन्त्रण गरेकोबारे चीनले अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठनमा उजुरी गरेको छ ।
बाइडेन राष्ट्रपति भएयता चीनले अमेरिकाविरुद्ध गरेको यो पहिलो उजुरी हो । उजुरीमा ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ अनि उत्पादन क्षेत्रमा आफ्नो प्रभुत्व’ बनाइराख्न अमेरिकाले निर्यात नियन्त्रणको दुरुपयोग गरेको चीनले आरोप लगाएको छ । ती कदमले विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरता खलबलिने चीनले चेतावनी दिएको छ । विश्लेषकहरूका अनुसार अमेरिकी नियन्त्रणहरूले चीनलाई चिप निर्माणको क्षेत्रमा अरूभन्दा पछि पारिदिन सक्छ । बेइजिङले आफूले सेमिकन्डक्टर उत्पादनलाई प्राथमिकता दिँदै त्यस क्षेत्रमा महाशक्ति बन्न चाहेको बताएको छ । अमेरिकाको पछिल्लो कदमले चीनको चिप उद्योगलाई एक्ल्याएको छ ।
रक्षा सम्झौता
अमेरिका, बेलायत र अस्ट्रेलियाले हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्न रक्षा सम्झौता गरेका छन् । यसै सन्दर्भमा अन्तर्राष्ट्रिय प्रतिबद्धता तोड्दै अमेरिका र बेलायतले अस्ट्रेलियालाई परमाणु पनडुब्बी र यसको प्रविधि बेच्दै छन् । यसले क्षेत्रीय सन्तुलन होइन, झन् अविश्वास बढाउने खतरा उत्पन्न भएको दाबी गरिएको छ । चीनलाई रोक्न अस्ट्रेलियाले परमाणु पनडुब्बी किन्ने भएको छ । अमेरिका, बेलायत र अस्ट्रेलियाले हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई रोक्न परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने योजना गत मार्च १४ मा सार्वजनिक गरेका हुन् ।
त्रिदेशीय सुरक्षा सम्झौता (ओकस) अन्तर्गत अस्ट्रेलियाले आफ्नो पहिलो परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीका रूपमा अमेरिकाबाट कम्तीमा तीन वटा पनडुब्बी प्राप्त गर्ने छ । तीन देशका नेताबिच भएको सहमति अनुसार बेलायतमा निर्मित रोल्स–रोय रिएक्टरसहित अत्याधुनिक प्रविधि प्रयोग गरेर नयाँ पनडुब्बी बनाउन पनि काम गर्ने छन् । तीनवटै देशले हिन्द–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका लागि उक्त सम्झौता गरेको दाबी गरेका छन् । पछिल्ला दिनमा हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढेको छ । यस क्षेत्रमा चीनले ठुलो लगानी पनि गरेको छ । क्षेत्रीय सुरक्षा, सन्तुलन, शान्ति र समृद्धिका लागि लगानी गरिएको चीनको भनाइ छ । चीनको कदमले यस क्षेत्रमा सन्तुलन बिग्रिने अमेरिका, बेलायत र अस्ट्रेलियाको दाबी छ । अमेरिका, बेलायत र अस्ट्रेलियाबिच भएको त्रिदेशीय रक्षा सम्झौता आफूविरुद्ध लक्षित भएको भन्दै चीनले आपत्ति जनाएको छ ।
शङ्कास्पद उड्ने वस्तु
यस वर्षको सुरुमा अमेरिका र क्यानडाको आकाशमा उडेका चार वटा शङ्कास्पद उड्ने वस्तुले अमेरिका र चीनबिचको सम्बन्ध चिसिएको छ । अमेरिकाले उड्ने वस्तुमार्फत आफ्नो जासुसी गरेको आरोप चीनमाथि लगाएको छ तर चीनले त्यस्तो कार्य नगरेको बताएको छ । अमेरिकाको मोन्टाना राज्यको आकाशमा उडिरहेका तीन वटा शङ्कास्पद वस्तु क्षेप्यास्त्र प्रहार गरेर खसाल्यो । ती उड्ने वस्तु के हुन्, यकिन भएको छैन ।
त्यसै गरी क्यानडाको सिमानानजिक पर्ने ह्युरन तालमा एक उडिरहेको वस्तु पनि अमेरिकाद्वारा क्षेप्यास्त्र प्रहार गरी खसालियो । अमेरिकी रक्षा अधिकारीहरूले त्यस वस्तु मानवरहित अष्टभुज आकारको भएको बताएका थिए । अमेरिकी नोर्दन कमान्डका कमान्डर जनरल ग्लेन भ्यानहर्कले त्यसबारे धेरै कुरा थाहा नभएको तर ती वस्तुले कुनै खतराको सङ्केत नगर्ने पनि बताउनुभयो । ती वस्तु कहाँबाट आए वा तिनको उद्देश्य के थियो भन्नेबारे जानकारी दिइएको छैन ।
“मलाई के लाग्छ भने अमेरिकीहरूले अहिले यी वस्तुद्वारा सङ्कलित कुनै पनि विवरण उनीहरूले पुनः प्राप्त गर्न सक्छन् वा सक्दैनन् भन्ने पत्ता लगाउन खोजिरहेका छन्,” युनिभर्सिटी अफ ब्राडफोर्डका अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा विषयका प्राध्यापक व्रिmस्टोफ ब्लुथले भन्नुभयो । अलास्कामाथि, उत्तर–पश्चिम क्यानडाको युकोन र मिसिगनमा खसालिएका उडिरहेका ती शङ्कास्पद वस्तु जासुसी प्रयोजनका लागि हो कि होइन भन्ने स्पष्ट छैन ।
“यस्तो घटना पहिले पनि भएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाभर तीन वटा त्यस्ता बेलुन देखिएका थिए । यद्यपि तिनीहरू अमेरिकी हवाई क्षेत्र छोडेपछि मात्र देखिएका थिए,” रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका अनुसन्धान विश्लेषक जुलिआना जुसले भन्नुभयो । “बेलुनहरू तुलनात्मक रूपमा जासुसीका लागि कम प्रयोग गरिन्छन् किनभने तिनीहरूको गति निकै सुस्त हुन्छ । मानिसले तिनलाई अचेल कम महìवको प्रविधि ठानेका छन्,” प्राध्यापक ब्लुथले भन्नुभयो ।
बेलुनको प्रयोग १८ औँ शताब्दीदेखि हुँदै आएको छ । फ्रान्सेली क्रान्तिताकाका युद्धदेखि नै बेलुन जासुसी प्रयोजनका लागि प्रयोग हुँदै आएको छ । आज आकाशमा देख्ने बेलुन सुरुवाती दिनहरूमा प्रयोग गरिएका पुराना शैलीभन्दा भिन्न छन् । आज बेलुनमा हाइड्रोजनको सट्टा हिलियम भरिएका हुन्छन् । तिनीहरू दिनमा माथि उड्छन् र रातको समयमा तल झर्छन् । बेलुनमा प्रयोग भएको हिलियम नसकिएसम्म तिनीहरू हावामा तैरिरहन्छन् ।
एक सामान्य जासुसी जानकारी सङ्कलन गर्ने बेलुनमा सामान्यतया त्यस्ता उपकरण हुन्छन्; जुन राडार वा सञ्चार प्रणालीमा जोडिन सक्छन् वा त्यसमा क्यामरा हुन सक्छन् । तिनले तस्बिर खिच्न सक्छन् । अचेल बेलुनले निकै कम महìवपूर्ण भूमिका निर्वाह गरेको छ किनभने अहिले मानिससँग भूउपग्रह प्रविधि छ, जुन निकै विशिष्टीकृत छ । जमिनमा रहेका निकै साना वस्तुलाई पनि क्यामरामा कैद गर्न सकिन्छ । भूउपग्रहहरू बेलुनहरूभन्दा धेरै माथि हुन्छन् । त्यसैले भूउपग्रह प्रविधि निकै विकसित भए पनि जति वस्तु निकट हुन सक्यो, त्यति राम्रो हुन्छ ।
अमेरिकी तथ्याङ्कका अनुसार चीनसँग अन्तरिक्षमा आधारित लगभग तीन सय भूउपग्रहको बृहत् निगरानी सञ्जाल छ । उक्त सङ्ख्या अमेरिकाको भन्दा दोस्रो धेरै हो । बेलुनहरू निकै सस्ता छन् र छिटो परिचालन गर्न सकिन्छ । भूउपग्रहहरू अनुमानित कक्षहरूमा मात्र घुम्छन् र एकै दिनमा एउटै क्षेत्रमा पटक पटक उड्न सक्छन् । विदेशी बेलुनहरूलाई अमेरिकी सरकारले आफ्नो आकाशमा उड्ने अनुमति दिँदैन तर जासुसी विमान आज पनि प्रयोग गरिएका छन् । अमेरिका स्वयंले थुप्रै जासुसी विमानहरू प्रयोग गर्छ । ती विमान अन्य देशको क्षेत्र वरपर छन् । त्यस्ता जासुसी विमान खसालिएका घटना पनि छन् ।
एक अमेरिकी जासुसी विमान चीनमा खसालिएको थियो र त्यो एक कूटनीतिक घटना थियो; जसबारे राष्ट्रपति जर्ज डब्लु बुसका पालामा केही समयसम्म चर्चा भयो पनि । पछिल्ला दिनमा आकाशमा उडिरहेका चार वटा वस्तु खसालेपछि अमेरिकी सेनाले उच्च सतर्कता अपनाएको छ । पहिलो बेलुन खसालिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनको चीन भ्रमण रद्द भएको थियो । चीनले उक्त वस्तु जासुसी प्रयोजनको
निम्ति नभई मौसम अनुगमन गर्न छाडिएको उपकरण भएको बताएको थियो । अमेरिकाले गत वर्ष मात्रै आफ्नो हवाई क्षेत्रमा १० पटकभन्दा बढी बेलुनहरू उडाएको चीनको विदेश मन्त्रालयले दाबी गरेको छ ।
अमेरिकी अधिकारीले हालसम्म अज्ञात रहेका वस्तुको उद्देश्य खोजिरहँदा जासुसी गरेको प्रमाण नभेटिएपछि ती वस्तु गैरसैनिक हुन सक्ने आकलन गरिएको छ । ती वस्तु वायुमण्डलको तल्लो तहमा थिए र तिनीहरूलाई तल खसाल्नुको उद्देश्य सम्भवतः व्यावसायिक हवाई उडानलाई असहज बनाएको हुन सक्ने ठानेर हो । अब यो बेलुन प्रकरणले नयाँ नियम अघि सार्न सकिने अनुमान गरिएको छ ।
अतः पछिल्ला दिनमा चिप युद्ध, रक्षा सम्झौता र शङ्कास्पद उड्ने वस्तु आदिले अमेरिका र चीनबिचको सम्बन्धमा जुन चिसो पसेको छ, यसलाई कूटनीतिक वार्ताद्वारा समाधान गरी विश्ववासीलाई सुखद सन्देश दिनु पर्छ । नत्र महान् कूटनीतिज्ञ डा. हेनरी किसिन्जरले भने जस्तै अमेरिका र चीन मिलेनन् भने विश्वमा शान्ति कायम हुन सक्दैन ।
लेखक गोरखापत्रका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।