विश्वमै इन्टरनेट सुविधा सुलभ हुनुअघि मूलधारका पत्रिका, रेडियो र टेलिभिजन मात्र सूचना वा समाचारका प्रमुख स्रोत थिए । मूलधारका मिडियामा आमपाठकका प्रतिक्रिया र विचारहरू सम्पादनपछि प्रस्तुत हुन्थे तर प्रविधिको विकाससँगै समग्र पत्रकारितामै आमूल परिवर्तन जारी छ । आमनागरिकको सञ्चार माध्यममा सक्रिय सहभागिता, योगदान अर्थात् नागरिक पत्रकारिता अचेल विकसित भइरहेको नयाँ आयाम हो । नागरिक पत्रकारिताबारे बुझ्न हामी विगतका केही घटना केलाऔँ ।
विसं २०७३ तिर ललितपुरमा सम्पन्न सार्वजनिक सुनुवाइको प्रतिवेदनमा नेपालभाषामा कुराकानीका कारणले कर्मचारीलाई कार्यसम्पादनमा अप्ठ्यारो परेको बुँदा सार्वजनिक भयो । उक्त प्रतिवेदनमाथि स्थानयीवासीले फोटोसहित फेसबुकमा धारणा राखे । नेवाः बाहुल्य यहाँ मातृभाषाको अनादर भएको भन्दै समर्थक बढे । यसबारे सञ्चार माध्यमहरूले पनि लेखे । नागरिक समाजका तर्फबाट विरोधस्वरूप ज्ञापनपत्र बुझाउने कार्य भए । यसपछि प्रतिवेदनमा सुधार पनि गरियो । तत्कालीन ललितपुर उपमहानगरपालिकाबाट नेपालभाषाको प्रयोग र प्रवर्धनका पक्षमा ‘नेवाः हेल्प डेस्क’ पुनः सञ्चालन गर्ने प्रतिबद्धता पनि आयो ।
यस्तै २०७४ सालको स्थानीय चुनावलगत्तै नगरको सेवाप्रवाह चुस्त बनाउने भनी काठमाडौँ महानगरको बोर्ड बैठकले कर्मचारी र बोर्ड सदस्यलाई मोबाइल खर्च उपलब्ध गराउने निर्णय ग-यो । सचेत नागरिकले उक्त निर्णयकोे विरोध गर्दै फोटोसहित सामाजिक सञ्जालमा पोस्ट्याए । भाइरल भएपछि यसबारे बहस चुलियो । नागरिककै प्रतिक्रियाका कारण उक्त निर्णय तत्कालका लागि लागु नगर्ने महानगरको अर्को बोर्ड बैठकबाट निर्णय भयो ।
विसं २०७४ मै काठमाडौँमा परेको झरीमा स्कुलबाट फर्केको एक बालकलाई ढलले बगायो । यस्ता घटना यसअघि पनि सम्प्रेषित भए होलान् तर एक प्रत्यक्षदर्शी नागरिकले उक्त घटना कैद गरेको भिडियो तत्काल सामाजिक सञ्जालमार्फत भाइरल भयो । उक्त भिडियोले सम्बन्धित निकायलाई तत्काल चासो राखेर समाधान गर्न दबाब दिएको थियो भने सो भिडियो सञ्चार माध्यमहरूबिच समाचारको स्रोत पनि बन्न पुग्यो । सम्भवतः माथिका तीन वटै घटनामा संलग्न व्यक्तिहरू पेसागत पत्रकार थिएनन् । अर्थात् घटनाको तथ्यगत, सन्तुलित र विश्वसनीयता खोजी गर्ने ज्ञाता पनि थिएनन् । यदि भएका भए घटनाविशेषको समाचार सञ्चार माध्यममा पहिला प्रकाशित हुन्थे । यस दृष्टिकोणमा नागरिक पत्रकारिता भनेको स्वयं सेवाग्राही वा पाठक वा साधारण नागरिकले देखेभोगेका घटनाक्रमको तत्कालीन तथ्यगत सूचना चाहे घटनाको वर्णन, फोटो वा भिडियो इन्टरनेट माध्यमबाट अभिव्यक्त गर्ने अभ्यास नै हुन् । एक सचेत नागरिक आफू पेसागत पत्रकार नभए पनि वास्तविक स्रोतका आधारमा पत्रकारिताको सिद्धान्तविपरीत, सम्पादन प्रव्रिmयाबिना नै कुनै किसिमको घटना वा समस्याबारे सूचना सङ्कलन, सम्प्रेषणमा सव्रिmय हुन्छ । अनि आफूलाई सामाजिक सञ्जाल वा सञ्चारजगत्मा उभ्याउँछ, उक्त व्यक्तिले स्वतः नागरिक पत्रकारिताको परिभाषालाई नजानीकनै प्रयोग गरिसकेको हुन्छ ।
ऐतिहासिक विकासक्रम
सन् १९९१ मा जब विश्वमा पहिलो वेबसाइट भौतिक विज्ञानका टिम बेनेर्स लीबाट सञ्चालित भयो; त्यस बेला अचेलको प्रयोगकर्तामैत्री ‘युजर फ्रेन्ड्ली इन्टरफेस’ प्रविधिको विकास कल्पनासमेत गरिएको थिएन होला । सन् २००४ सम्म पुग्दा बल्ल ‘वेब २.० प्लेटफर्म’ विकास भयो । सामान्य प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार वेबसाइट, ‘ब्लग’ वा ‘फिड’ लाई सरल तरिकाबाट सूचना प्रवाह वा विचार अभिव्यक्ति पोख्न एउटा प्लेटफर्मका रूपमा प्रयोग गर्न पाए । ‘वर्डप्रेस’ र ‘ब्लग साइट’ यसका उदाहरण हुन् । यसको विकासपछि स्वतन्त्र रूपले प्रकाशित हुने विषयवस्तुबाट मूलधारका सञ्चार जगत्समेत प्रभावित हुन थाले । डिजिटल प्रविधि र इन्टरनेटको विकाससँगै डिजिटल क्यामरा, स्मार्ट फोनहरूमा थपिँदै गएका सुविधाहरूबाट सर्वसाधारणले सुरक्षाकर्मी वा सञ्चारकर्मी पुग्न नपाउँदै कुनै घटना तत्काल पोस्ट गर्न सक्षम भइसकेका छन् । यसले आमनागरिक पनि अनलाइन मिडियामार्फत सामाजिक सञ्जालमा सक्रिय हुने अवस्था निर्माण गरिदिएको छ । नागरिक पत्रकारिताको विशेषता भनेकै यसमा नागरिकलाई आधारभूत पत्रकारिताको तालिमसमेत आवश्यक नदेखिनु हो ।
यसका फाइदा तथा बेफाइदा
सञ्चार क्षेत्रमा घटनाप्रधान समाचारको महत्व रहेको हुन्छ । घटनाप्रधान समाचार निर्माणका लागि पत्रकार आफैँ घटनास्थलमा हुनुपर्ने मान्यता छ तर मोबाइलका कारण घटनास्थलबाटै आमनागरिकले सामाजिक सञ्जालमा तत्काल पोस्ट गर्ने फोटो वा भिडियोको स्तर पत्रकारको भन्दा कम नहुने अवस्था छ । स्थानीय नागरिक सक्रिय हुने हुँदा घटनालाई हेर्ने दृष्टिकोण पनि सञ्चारकर्मीको भन्दा बहुआयामिक हुने सम्भावना बढेको पाइन्छ । यस कारण प्रविधि, स्मार्टफोन र इन्टरनेटको विकास र सुलभता नागरिक पत्रकारिता युगमा महŒवपूर्ण योगदान साबित भइरहेको देखिन्छ ।
अहिले सञ्चार माध्यमकै प्रतिस्पर्धी भएर नागरिक पत्रकारितामार्फत विविध जानकारीको बिगबिगी छ । यसमा स्वयं पत्रकारको वैयक्तिक अभिव्यक्ति पनि समावेश भएका देखिन्छन् । सञ्चार माध्यममा आउने सामग्रीकै स्तरमा नागरिक पत्रकारिता विकल्पका रूपमा उभिएको छ । यससँगै स्थानीय घटनाव्रmमका स्थलगत समाचार सङ्कलनदेखि मनोरञ्जन र समाचारमूलक प्रस्तुति स्वतन्त्र रूपले विकसित हुँदै छ । यस्तो अभ्यासको निरन्तरताले आमनागरिक सचेत भएर सामाजिक अभियन्ताका रूपमा देखिन थालेका छन् । सामाजिक विकास प्रवर्धनमा स्थानीय सव्रिmयता वृद्धि हुने खालका नागरिक खबरदारी जस्ता सबल पक्षको सम्भावना पनि बढ्दोे छ ।
सञ्चार क्षेत्रमा बहस
पेसागत सञ्चारकर्मी र सञ्चार क्षेत्रका अनुसन्धानकर्मीले नागरिक पत्रकारिताबाट प्राप्त हुने ताजा समाचारलाई उपलब्धिमूलक सबल स्रोतका रूपमा लिन थालेका छन् तर यसका बेफाइदा र चुनौतीलाई केलाउनुपर्ने यथार्थलाई विशेषतः सञ्चारकर्मी नै सचेत भएर बहसको थालनी गर्नुपर्ने बेला पनि भइसकेको छ ।
एक धारले नागरिक पत्रकारितालाई मान्यता दिनु स्वाभाविक हो । बेफाइदालाई न्यूनीकरण गर्नु पर्छ, सकिन्छ भन्नेतर्फ यो धार सकारात्मक छ । अर्कोे धारले यसलाई अपरिपक्व पत्रकारिता र परिवेशजन्य पत्रकारिता वा पाठक/श्रोता वर्गबाट आउने खुराकका रूपमा सीमित गर्नुपर्ने प्याख्या गर्छन् । ‘भाइरल हुने कुलत’ तर्फ चिन्तित हुँदै यो धारले नागरिक पत्रकारिताको आडमा नकारात्मक वा निहित स्वार्थ लुकेको मान्छन् । छद्मभेषी भएर झुट र भ्रमलाई तत्काल स्थापित गराउने दूषित प्रयास हुने उनीहरू ठान्छन् ।
आगामी बाटो
नागरिक पत्रकारिताका लागि पत्रकारिताबारे ज्ञानसमेत आवश्यक नदेखिँदा यसबाट सम्प्रेषित समाचार निष्पक्ष हुन्छ भनी निश्चिन्त हुने अवस्था छैन । पत्रकारिताका मूलभूत सिद्धान्त र आचारसंहिताको सामान्य जानकारीबिनै प्रस्तुत हुने समाचारबाट नकारात्मक असरहरू बढ्दै गएका छन् । विशेष गरी युट्युब र फेसबुकमा नागरिक पत्रकारिताकै आड लिई वा नलिई निजी वा गुटगत स्वार्थका लागि टिआरपी कमाउँदै आमजनतालाई दिग्भ्रमित गर्ने कार्य बढ्दो छ ।
अतः नागरिक पत्रकारिताका नाममा सामाजिक सचेतनाभन्दा पनि गैरजिम्मेवार र अराजक अभिव्यक्ति हाबी हुँदै जाने सम्भावना झन् डरलाग्दो हुन थालेको देखिन्छ । सूचनाहरू स्थानीय सक्रियता र पाठक चासोका विषयसँग केन्द्रित हुने हुँदा राष्ट्रिय सन्दर्भको अध्ययनबिना यसरी सूचना हाबी भएमा पेसागत तालिमप्राप्त पत्रकारको अवमूल्यन र वितृष्णा अझ बढ्नेमा सतर्क हुनै पर्छ । सञ्चारको पाँच शताब्दी पुरानो इतिहासका अगाडि भर्खरै दुई दशकमा उदाएको नागरिक पत्रकारिताबारे निष्कर्ष निकाल्ने बेला पनि भइसकेको छैन । विश्वभरिका प्रविधिको प्रयोग हेर्दा भने नागरिक पत्रकारिताको युग विकसित हुने नै देखिन्छ ।
लेखक पत्रकार हुनुहुन्छ ।