• ६ जेठ २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरण : लम्बियो थुनछेक बहस

blog

काठमाडौँ, जेठ ३१ गते । नक्कली भुटानी शरणार्थी प्रकरणका अदालतमा उपस्थित १८ मध्ये ११ प्रतिवादीका तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत काठमाडौँले बुधबारसम्म सरकारी वकिलका लागि जवाफको समेत समय तोकेको भए पनि बहस लम्बिएको हो। प्रतिवादी आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, हरिभक्त महर्जनलगायतका तर्फबाट अझै बहस हुन बाँकी छ। यसअघि इजलासले गरेको समय व्यवस्थापन अनुसार बुधबार बहस सकेर थुनछेक आदेशको तयारी थियो। 

मङ्गलबार पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस भएको छ। खाणका तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी तथा अधिवक्ता पङ्कज कर्णले बहस गर्नुभएको छ। बहसको सुरुवात गर्दै कर्णले खाणविरुद्ध कुनै किटानी जाहेरीसमेत नभएको अवस्थामा सहअभियुक्तको पोलका आधारमा प्रतिशोधपूर्ण मुद्दा चलाइएको जिकिर गर्नुभयो। 

कर्णले अपुष्ट र अप्रमाणित पत्र सहयोगीसँग फेला पार्नुले मात्र अभियोग पुष्टि नहुने तर्क पनि गर्नुभयो। शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले घटना मिलाउन पत्र लेखेको दाबी प्रहरीले गरेको छ। 

सहअभियुक्तले पोलेकै आधारमा अभियोग पुष्टि हुन नसक्ने कर्णको जिकिर छ। खाणबाट प्रमाण नष्ट गर्ने कुनै अवस्था नरहेको र तत्काल ठोस कुनै प्रमाणसमेत नरहेकाले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था नरहेको उहाँको जिकिर छ। 

यस्तै वरिष्ठ अधिवक्ता केसीले खाणविरुद्ध अभियोगमा कुनै ठोस प्रमाण पेस गर्न नसकेको जिकिर गर्नुभयो। खाणमाथि राज्यले सुनियोजित रूपमा मुद्दा चलाएको केसीको भनाइ छ। उहाँले खाणविरुद्ध तत्काल कुनै पनि ठोस प्रमाण नभएको तथा सहअभियुक्तको बयानका आधारमा मात्र प्रतिवादी बनाइएकाले साधारण तारेखमा रिहा हुनुपर्ने माग केसीले इजलासमा राख्नुभयो। 

शरणार्थी प्रकरणमा अदालतमा जेठ १० गते मुद्दा दायर भएको थियो। जेठ १२ गतेदेखि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान सुरु भएको थियो। बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलले अभियोगमा प्रतिवादीबाट २८ करोड ८१ लाख ७४ हजार पाँच सय रुपियाँ असुलउपर गरी जाहेरवालालाई भराउन माग गरिएको छ। कसुरदारबाट अपराध पीडित संरक्षण ऐन अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति भराउन पनि माग गरिएको छ। 

दुई पूर्वगृहमन्त्री, एक बहालवाला सचिवसहित ३० जनाविरुद्ध मुद्दा दायर भएको थियो। पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेसहित ३० जनालाई मुद्दा लगाइएको हो। ३० प्रतिवादीमध्ये १४ जनालाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेकोमा मुद्दा दर्तापछि दुई जना पक्राउ परिसकेका छन्। 

सुरुमा सरकारी वकिलले केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टङ्ककुमार गुरुङ, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, बालकृष्ण खाण, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाललाई अभियोगपत्र साथमै पेस गरेको थियो। 

यस्तै लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, सुनील बुढाथोकी र प्रतीक थापालाई फरार अभियुक्तका रूपमा मुद्दा चलाएको छ। लक्ष्मी र हरिभक्त पक्राउ परिसकेका छन्।