• १० मंसिर २०८१, सोमबार

‘मधुपर्क’को ५६ औं वार्षिकोत्सव

मधुपर्क सम्मानबाट तीन स्रष्टा सम्मानित

blog

साहित्यकार पुष्कर लोहनीलाई सम्मान प्रदान गर्नुहुँदै पूर्व कुलपति कवि वैरागी काइँला साथमा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र साहित्यकार प्रभा भट्टराई । तस्बिर : कविन अधिकारी

काठमाडौं, जेठ ३० गते। मधुपर्क सम्मान-२०८० बाट वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ कथाकार पुष्कर लोहोनी र छन्द कवि प्रभा भट्टराई आचार्य पुरस्कृत तथा सम्मानित हुनुभएको छ। 

गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन ‘मधुपर्क’को ५६ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा मङ्गलबार आयोजित मधुपर्क सम्मान–२०८० समर्पण समारोहमा उहाँहरूलाई सम्मानित गरिएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि वैरागी काइँलाले उहाँहरूलाई नगद तथा सम्मानपत्रबाट सम्मानित गर्नुभयो। साहित्यकार कृष्णभक्त श्रेष्ठ भने स्वास्थ्य समस्याका कारण समारोहमा उपस्थित हुन सक्नुभएन।



वि.सं. १९९७ मा जन्मनुभएका वरिष्ठ कवि श्रेष्ठका ‘कृष्णभक्त श्रेष्ठका कविता (२०३३), मान्छेको कथा (२०५३), रातको दस बजे (२०६०), ठुलो मान्छे (२०६१)’ लगायतका कविता सङ्ग्रह प्रकाशित छन्। उहाँ आधुनिक कविताको प्रथम दशकबाट देखा परेका अस्तित्ववादी चिन्तक कवि हुनुहुन्छ। श्रेष्ठका कवितामा पाइने विविध भावचित्रणलाई मुख्यगरी मृत्यु चेतना, राष्ट्रिय चेतना, सामाजिक-सांस्कृतिक चेतना, मानवचेतनाका रूपमा वर्गीकृत गरेर हेर्न सकिन्छ।

सम्मान गर्ने गोरखापत्रको पुरानो चलन  : वैरागी काइँला



कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि वैरागी काइँलाले गोरखापत्रमा लेख्ने काम गर्नेलाई सम्मान गर्ने चलन अगाडिदेखि नै चल्दै आएको बताउनुभयो। दोस्रो विश्वयुद्धपछि विश्व दुई ध्रुवमा बाँडिएको भए पनि पछि बहुध्रुवीय संसारमा गएको र यसले नै आधुनिक विधाको श्रीगणेश गरेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “कुनै एक शक्तिको मात्रै नायक भन्ने छैन। बहुपक्षमा पनि अनेक रूपमा राजनीतिकदेखि विकासमा यसको प्रभाव छ। नयाँ रूप, नयाँ भाषा, शैली लिएर एउटा निरङ्कुशतालाई अटेर गर्दै, निर्विकल्प भनेको कहाँ हुन्छ ? भनेर नेपाली कवितामा एउटा लहर चल्यो।” आधुनिकताको नाममा पुरानो परम्परा तोड्ने प्रचलन बढे पनि पुरानोलाई सम्मान गर्नुपर्ने भनाइ उहाँको छ। उहाँले स्रष्टा सम्मान पुरस्कार राशिमा कर लगाउन नमिल्ने धारणा राख्नुभयो। 

यो सम्मान नेपाली साहित्य र स्रष्टाको हो  : लोहनी


कार्यक्रममा सम्बोधन गर्नुहुँदै साहित्यकार पुष्कर लोहनीको कृतिलाई यौनवादीका रुपमा बुझ्ने  यस ढङ्गले आलोचना हुने गरेका विषयलाई मधुपर्कले स्थान दिएको बताउनुभयो। उहाँले भन्नुभयो, “मधुपर्कमा सुरुमा मनोवैज्ञानिक रुपमा लेखिएका मेरा कथा छापिएका छन्, २०२६ सालमा गजुल्टो छापियो।’’ 

उहाँले भन्नुभयो, “यो मधुपर्क सम्मान मेरा लागि होइन, नेपाली साहित्यको भविष्यको बाटो देखाउनका लागि हो। नेपाली साहित्य, स्रष्टा र पाठकका लागि हो।”

वरिष्ठ कथाकार (पद्य) बाट सम्मानित पुष्कर लोहनीको जन्म १९९५ सालमा भएको हो। लोहनीको कृतिमा ऐक्य, अश्लील मानिएको विषयको चयन र विषयवस्तुको गहन ज्ञान जस्ता विषयवस्तु समेटिएका हुन्छन्। उहाँले १७ वर्षको उमेरमा पहिलो पटक यौन विषयमा कलम चलाउनुभयो। उहाँका २२ वर्षको उमेरमा इन्दु र २५ वर्षमा रुपरेखा नामको पत्रिकामा ‘परिस्थिति’ र ‘कौडी’ शीर्षकका यौन कविता प्रकाशित भएका छन्। यसमध्ये कौडी शीर्षकको कविता भने उहाँको साहित्यिक परिचयको कोसेढुङ्गा बन्न सफल भयो। उहाँको ज्योति पत्रिकामा सर्वप्रथम ‘चिसो चुह्लो तातो खरानी’ शीर्षकको कथा प्रकाशित भएको पाइन्छ। लोहनीका हालसम्म तीन दर्जन जति कथा र धरालोको टुप्पो कथा सङ्ग्रह प्रकाशनमा छन्। 

गोरखापत्र बालकदेखि वृद्वसम्मको पाठक भेला गर्ने चौतारी  :  भट्टराई


छन्द कवि एवम् साहित्यकार प्रभा भट्टराई आचार्यले गोरखापत्र बालसाहित्यदेखि युवाका लागि युवामञ्च, प्रौढ, सबै उमेर समूहको पाठक भेला गर्ने बुढो चौतारी रहेको टिप्पणी गर्नुुभयो। 

उहाँले भन्नुभयो, “तोते बोली बोल्दादेखि पत्रिका भनेकै गोरखापत्र हो भन्ने समय थियो। प्रौढ साहित्य, बालसाहित्य युवाका लागि युवामञ्च, पाठक भेला गर्ने बुढो चौतारी हो गोरखापत्र। योे परोपकारी काम गरेर अझ अमर रहोस् भन्ने शुभकामना छ।”

उहाँले मधुपर्कमा पहिलो पटक आफ्नो कविता छापिँदा नै सम्मानको महसुस भएको र सानैदेखि आफूले सम्मान गर्दै आएको संस्थाबाट सम्मान ग्रहण गर्न पाउँदा गर्वको अनुभूति भएको बताउनुभयो। 

साहित्यकार भट्टराईको जन्म विसं. २०२२ कात्तिक १६ गते चुँदी रम्घा, तनहुँमा भएको हो। उहाँको पोसिला कविता बाल संग्रह २०६०, मेरो सानो भाइ बाल कविता संग्रह (२०६०) प्रकाशित छन्। यसैगरी, सन्तु र सुगा बाल कथा सङ्ग्रह (२०६१), गीता पापा (२०६४) बालकाव्य, सरित्–सङ्गम (२०६८), छन्दोबद्ध कविता सङ्ग्रह उहाँको प्रतिनिधिमूलक सङ्ग्रह हो। 

पत्रकारितासँग साहित्य जोड्ने पुल हो मधुपर्क  : कार्यकारी अध्यक्ष सुवेदी


संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सम्मानित स्रष्टाप्रति सम्मान एवम् बधाई ज्ञापन गर्नुहुँदै मधुपर्कमार्फत धेरै साहित्यकार जोडिनु एवम् जागृत हुनुभएको बताउनुभयो। मधुपर्कले पत्रकारितासँग साहित्यलाई जोड्ने पुलको काम गरेको उहाँको भनाइ छ। 

अध्यक्ष सुवेदीले भन्नुभयो, “पत्रकारितासँग साहित्यलाई जोड्ने पुलको काम यो पत्रिकाले गरेको छ। साहित्यकारको रूपमा पहिचान बनाउन मधुपर्कमा लेख्नुपर्ने भन्ने कुनैबेला चर्चा हुने गरेको थियो।”

मधुपर्कलाई अझ उन्नत बनाउने चुनौती रहेको छ भन्नुहुँदै उहाँले भौतिक प्रकाशनको आफ्नै मूल्य भएको तर देश तथा विदेशमा रहेका करौडौँ पाठकसँग जोडिन डिजिटल मञ्चलाई अगाडि बढाउने कार्यमा व्यवस्थापन लागेको जानकारी दिनुभयो।  

अध्यक्ष सुवेदीले आगामी वर्षदेखि मधुपर्कको पुरस्कार राशि बढाएर ५० हजार रुपियाँ पुर्‍याउने घोषणा गर्नुहुँदै पुरस्कार राशिमा लागेको करको विषयमा पुनर्विचार गरिने बताउनुभयो। 

मधुपर्कले स्रष्टा र साहित्य जोड्ने काम गरेको छ  : महाप्रबन्धक ऐरी


गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सम्मानित सबै स्रष्टाप्रति सम्मान एवम् बधाई दिनुहुँदै मधुपर्कले नेपाली समाजमा स्रष्टा र साहित्यलाई जोड्ने काम गरेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “मधुपर्क नेपाली साहित्यको धरोहर हो। नेपाली समाजमा स्रष्टा र साहित्यलाई जोड्ने काम मधुपर्कबाट भएको छ। तपाईँहरूकै साथ सहयोगमा मधुपर्क ५६ वर्षसम्म पुग्न सफल भएको छ।”

महाप्रबन्धक ऐरीले भन्नुभयो, “साहित्यमा जीवन, भोगाइ, व्यवहार छ, सामाजिक बद्लावका रूपमा यसलाई अगाडि बढाउनुपर्छ। यी सबै कुराको मेटाफोर कहीँ छ भने त्यो साहित्यमा छ। जति शक्ति यसबाट प्रयोग गर्न सक्छौँ त्यो अन्य शक्तिबाट पाउन सक्दैनौँ।” उहाँले मधुपर्कलाई पाठकसँग जोड्न यसलाई अझ सशक्त बनाउँदै लैजाने बताउनुभयो।

स्रष्टा चयन समितिका संयोजक वरिष्ठ साहित्यकार गणेश रसिकले झण्डै ५० वर्षपछि सम्मानित स्रष्टा चयन गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले निर्णायक समितिको तर्फबाट सम्मानित स्रष्टालाई बधाई तथा शुभकामना ज्ञापन गर्नुका साथै गोरखापत्र संस्थानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। 

मधुपर्कका सम्पादक जयदेव भट्टराईको अध्यक्षता भएको कार्यक्रममा मधुपर्कका नायब कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्लेले मधुपर्क सम्मानका विषयमा जानकारी दिनुभएको थियो। 




भिडियो : मनोजरत्न शाही / तस्बिर : कविन अधिकारी