• १२ मंसिर २०८१, बुधबार

संसदीय मूल्यको चिरफार

blog

प्रतिनिधि सभाको गत हप्ताका बैठकका केही कामकारबाहीले संसदीय मर्यादा स्खलित हुन पुगेको भनी स्वयं संसद् सदस्य, राजनीतिक दलका नेता तथा आमनागरिकले समेत प्रश्न उठाइरहेको पाइन्छ। सामाजिक सञ्जाल र आम समाचार माध्यममा त निरन्तर संसदीय मर्यादा उल्लङ्घन भएका विषय आइरहेका छन्। संसद्का कामकारबाहीलाई आमनागरिकले नियाल्नुलाई स्वाभाविक रूपमा लिनु पर्छ। भनिन्छ, संसद्का गतिविधि सार्वजनिक गतिविधि हुन्, त्यस्ता कार्य जनताले जाँच गर्ने विषय पनि हुन्। 

आफूले निर्वाचित गरेर पठाएका सदस्यले मुलुकको सर्वोच्च निकायमा उपस्थित भएर के कस्ता कामकारबाही गर्छन्, ती कामकारबाही कति मर्यादित र प्रभावकारी छन् भनी जनताले हेर्नु सकारात्मक पक्ष हो। केही दिनयता संसद्मा देखिएका दृश्यमाथि बुद्धिजीवी र आमसर्वसाधारणले प्रश्न गर्ने अवस्था आएकोमा संसद् सदस्य, संसद्का पदाधिकारी साथै संसद् सचिवालयले समेत गम्भीर ध्यान दिनुपर्ने देखिन्छ। नयाँ राजनीतिक दलका सदस्य साथै पटक पटक संसद् सदस्य भइसक्नुभएका सदस्यसमेतको उपस्थिति रहेको प्रतिनिधि सभाको कामकारबाही मर्यादित र प्रभावकारी हुनका लागि सबैले संसदीय मर्यादा र आचरणका विषयमा जानकारी राख्नु र तदनुरूपको भूमिका निर्वाह गर्नु आवश्यक हुन्छ। 

३७ वर्ष भारतीय लोक सभामा सेवारत रही अवकाश हुनुभएका लोक सभाका पूर्वमहासचिव सुभाष काश्यपका अनुसार “व्यवस्थापिका अर्को क्लब मात्र होइन। तसर्थ यसका सदस्यको आचरण उच्च स्तरको गरिमा, अनुग्रह, पारस्परिक सम्मान र शिष्टाचारको विशेषता हुनु पर्छ, जहाँ राजनीतिमा सबै प्रतिस्पर्धी शक्तिलाई सङ्गठित अन्तर्वि्रmयाका लागि आमनेसामने ल्याइन्छ।” उहाँका अनुसार संसद् कुनै क्लबभन्दा विशिष्ट थलो हो र यसको आफ्नै मर्यादा, गरिमा र प्रक्रिया हुन्छ। यसका सदस्यको आचरण उच्च स्तरको, मर्यादित, सदस्यका बिच पारस्परिक सम्मान हुने खालको र शिष्टाचारयुक्त हुनु पर्छ। संसद्मा प्रतिस्पर्धी राजनीतिक शक्तिबिच सभ्य तवरले विचारको, तर्कको छलफल र प्रस्तुति हुनु पर्छ। 

संसदीय मूल्य

मुलुकको सर्वोच्च निकायमा सदस्यले गर्ने व्यवहार, पालन गर्न अपेक्षा गरिएको आचरण, शिष्टाचार, इमानदारी र नैतिकता जस्ता विषयलाई नै संसदीय मूल्य भनी बुझिन्छ। संसदीय मूल्य भनेको अपेक्षा गरिएको समग्र व्यवहार हो। यो संसद् र सांसदमा रहनुपर्ने मानिन्छ। मूल्य कुनै निश्चित सिद्धान्त वा लिखित प्रकृतिको हुँदैन र यो उच्च स्तरको सैद्धान्तिक मान्यतामा आधारित हुन्छ। नैतिकता, इमानदारिता, आदर्शता, विश्वसनीयता जस्ता मूल्य संसद् सदस्यमा अपेक्षा गरिएको हुन्छ। त्यसै गरी आधुनिक समयमा मुलुकको सर्वाेच्च जनप्रतिनिधिमूलक संस्था संसद् प्रतिनिधिमूलक, पारदर्शी, पहुँचयोग्य, उत्तरदायी र प्रभावकारी हुनुपर्ने संस्थागत मूल्य रहेको पाइन्छ। 

संसदीय मान्यता 

संसदीय कामकारबाही मर्यादित र प्रभावकारी तुल्याउन लिपिबद्ध गरिएको स्वीकारयोग्य मानवीय व्यवहार नै संसदीय मान्यताभित्र पर्दछन्। सदस्यले पालन गर्नुपर्ने आचरण र नियम कानुन नियमावलीमा व्यवस्थित गरिएको हुन्छ। संविधान र सभाका नियमावलीमा यस प्रकारका मान्यता उल्लिखित रहेका हुन्छन्। पदाधिकारी र संसद् सदस्यले संसद्भित्र र बाहिरसमेत पालना गर्नुपर्ने आचरण यसमा पर्दछन्। यी नियम र आचरण पालना नभएमा प्रश्न उठ्ने गर्दछ। कतिपय मान्यता अभ्यासद्वारा समेत स्थापित भइआएका हुन्छन्। दैनिक कार्यसञ्चालनका लागि मात्र नभई संसद् र सांसदको प्रतिष्ठाका लागिसमेत निश्चित मान्यतासहितका नियम आवश्यक पर्दछ। बैठकमा उपस्थित हुने, बस्ने, बोल्ने, व्यवहार गर्ने, अरू सदस्यसँगको बहस, छलफलको सम्बन्ध, वाद–प्रतिवादलगायत बैठक हलभित्र के कस्ता नियम र आचरण पालना गर्ने भन्ने सम्बन्धमा नियमावलीमा स्पष्ट रूपले व्यवस्था गरिएको हुन्छ। 

बैठकमा उपस्थिति 

बैठकमा समयमै उपस्थित हुनुपर्ने, तोकिएको स्थानमा बस्नुपर्ने, बैठकको सुरुमा सभामुख आउँदा उठ्नुपर्ने, निहुरिएर आसन ग्रहण गर्नुपर्ने, सभामुख नबसेसम्म हिँडडुल गर्न नहुने, बैठक चलिरहेको समयमा यताउता हिँडडुल गर्न नहुने, सभामा पस्दा र निस्कँदा साथै आसन ग्रहण गर्दा वा निस्कँदा कुर्सीप्रति शिर नुहाउनुपर्ने जस्ता मान्यता रहेको छ। सभा हलमा प्रवेश गर्दा, बस्दा, उठेर बाहिर निस्कँदा र बाहिरबाट सभा हलभित्र प्रवेश गर्दा सभामुखको आसनतर्फ शिर झुकाउनु पर्छ। यो सम्पूर्ण सदनप्रति गरिएको सम्मान हो।

बैठकमा बोल्दा

बैठकमा बोल्दा सभामुखको अनुमतिले मात्र बोल्नुपर्ने, एक पटकमा एक जनाले मात्र बोल्नुपर्ने, बोल्न समय माग गर्दा उठ्नुपर्ने, बोल्दा उठेर मात्र बोल्नुपर्ने जस्ता नियम हुन्छन्। समय माग गर्दा हात हल्लाउन नहुने, सदनको कार्यलाई बाधा पर्ने गरी बोल्न नहुने, अरू सदस्यले बोलेको समयमा कुनै आपत्ति गर्नु पर्दा उठेर सभामुखको अनुमतिपश्चात मात्र बोल्नुपर्ने, छलफल भइरहेको समयमा कुनै विषयमा अर्काे सदस्यसँग केही प्रश्न वा जिज्ञासा राख्दा सभामुखमार्फत राख्नुपर्ने हुन्छ। सदस्यले बोल्दा यो हेक्का राख्नु पर्छ कि सदनभित्र हुने सबै विचार छलफल हो न कि वार्तालाप। सदनमा बोल्दा सदस्यको विचारलाई तर्कले जित्ने कोसिस गर्नु पर्छ। अर्काे सदस्यसँग वादविवादको शैलीमा प्रस्तुत हुनु हुँदैन। 

त्यसै गरी सदस्यले बोल्दा तृतीय पुरुषमा बोल्नु पर्छ, अर्थात् सदस्यको नाम तोकेर बोल्नु हुँदैन। मन्त्रीलाई सम्बोधन गर्दा आधिकारिक पद र मन्त्रालयलाई गर्नु पर्छ न कि मन्त्रीको नामलाई। बैठकमा उही कुरा दोह-याउनु हुँदैन, लामो र पट्यारलाग्दो बोल्नु हुँदैन, अपमानजनक, अशोभनीय, अपमानित शब्द बोल्नु हुँदैन, सभामुखलाई लागेमा वक्तालाई बोल्नबाट रोक्न र त्यस किसिमको बोलाइ संसदीय अभिलेखबाट हटाउन सक्ने अधिकार रहन्छ। बोल्दा अदालतको क्षेत्रभित्रका विषयमा बोल्नु हुँदैन। सदनको कामकारबाहीका सम्बन्धमा आक्रामक, अपमानजनक भनाइ राख्नु हुँदैन। कुनै सदस्य वा मन्त्रीलाई मानहानि हुने वा अभियोगात्मक प्रकृतिको आरोप लगाउनु हुँदैन भने बैठकमा अपमानजनक, उस्काउने र भड्काउने कुरा राख्नु हुँदैन। 

अर्कोसदस्यले बोल्दा

अर्को सदस्यले बोल्दा ध्यानपूर्वक सुन्नु पर्छ। अरूले बोलेको समयमा बाधा अवरोध पु-याउनु हुँदैन। बाधा पर्ने गरी ठूलो स्वरमा कुराकानी गर्नु हुँदैन, कार्यप्रक्रियासँग सम्बन्धित बाहेक, किताब, समाचार पत्र, चिठी पढ्नु हुँदैन। सभामुख बोलिरहेको समयमा सदस्य र सभामुखको बिचबाट हिँड्नु हुँदैन। अरूले बोलेको कुरा सुन्नु पर्छ। आफ्नो कुरा राखेर हिँड्नु हुँदैन किनकि आफूले राखेको विषयको जवाफ अरूले दिन सक्ने छन्। आफ्नो कुरा राखेर हिँड्ने कार्यलाई संसदीय शिष्टाचारको उल्लङ्घन मानिन्छ।

सभामुख बोल्दा

सभामुखले बोल्दा सदस्य चुप लागेर आफ्नो सिटमा बस्नु पर्छ। सभामुखले बोलिरहँदा सदस्यले फ्लोर क्रस गर्न नहुने, हिँड्न नहुने, उठ्न नहुने, सभाभित्र पस्न र बाहिर निस्कन नहुने संसदीय मान्यता छ। सभामुखमाथि लागेको महाभियोगको प्रस्तावको छलफलको समयमा बाहेक सभामुखको आलोचना गर्न नहुने, सभामुखको रुलिङको आलोचना गर्न नहुने, सभामुखको चेम्बरमा भएको छलफललाई सदस्यले प्रचार गर्न नहुने मान्यता रहेको छ।  

सामान्य आचरण

संसद् सदस्यले पालना गर्नुपर्ने सामान्य आचरणका सबै विषयलाई नियमावलीमा उल्लेख नगरिएको पनि हुन सक्छ। नियमावलीमा उल्लेख नभए पनि ती आचरण सदस्यले पालना गर्नु पर्छ। जस्तै– संसद्भित्र भोक हडताल, धर्ना अर्थात् कुनै किसिमको प्रदर्शन, कुनै किसिमको धार्मिक कार्यक्रम गर्न मनाही गरिएको हुन्छ। संसद्भित्र कुनै हतियार ल्याउन प्रतिबन्ध गरिएको हुन्छ भने पाखुरामा कोट झुन्ड्याएर भवनभित्र पस्ने, टोपी, कोट, जाकेट, सल जस्ता सामान डेक्समा राख्ने गर्नु हुँदैन। संसद्भित्र कुनै नारा लगाउने, झन्डा देखाउने, धूमपान गर्ने कार्य गर्नु हुँदैन। सभाहलको बाटोमा उभिएर सदस्यसँग कुरा गर्ने, छलफलको समयमा विरोध प्रदर्शन गर्ने, संसद् हाताभित्र कुनै साहित्य, प्रश्नावली र पर्चा बाँड्ने कार्य गर्नु हुँदैन। संसद्को मर्यादा र इज्जतका लागि ‘वाक्चापल्य’ अर्थात् चिप्लो कुरा गर्ने कार्यबाट टाढा रहनु आवश्यक हुन्छ। महिला सदस्यबाट यस किसिमको वाक्चापल्यबाट टाढा रहने अपेक्षा गरिएको हुन्छ। सदस्यले सभा र समितिमा आफ्नो स्वार्थ जोडिएको विषय उठाउनु र छलफलमा भाग लिनु हुँदैन। सदनमा उत्तर नदिँदासम्म प्रश्नलाई प्रचार गर्न हुँदैन भने समिति सदस्यका नाताले थाहा भएका विषय अन्यत्र दिन हुँदैन। व्यक्तिगत र आधिकारिक नभएको विषय संसद्मा उठाउन नहुने, आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक हित गाँसिएको विषयमा सरकारका अधिकारीलाई प्रभाव पार्न नहुने जस्ता सामान्य आचरणसमेत सदस्यले पालना गर्नु पर्छ। 

उल्लिखित संसदीय मूल्य मान्यताको कसीमा हाम्रो अभ्यास हेर्दा प्रशस्त सुधारका पक्ष देखिन्छन्। विगतमा मन्त्रीमाथि हातपात गर्ने, कुर्सी फ्याँक्ने, अर्थमन्त्रीको ब्रिफकेस खोस्ने, सभामुखलाई माइकले हान्ने जस्ता घटना भएका थिए। प्राडो, पजेरो, सुत्केरीले खाने औषधी खाने, चप्प्पल प्रहार गर्ने, कुर्सी तोडफोड गर्ने, आफैँ लुगा च्यात्ने, लगातार बेल घेराउ गर्ने जस्ता कार्य भएका थिए। वर्तमान संसद्मा समेत अर्धनग्न हुने, सदस्यले एक अर्कामा आरोप प्रत्यारोप गर्ने, नाम तोकेर बोल्ने, आरोप लगाउने, संसद् बैठकभित्र नै पर्चा बाँड्ने, मौन धारण गर्ने, रोस्ट्रममा उभिएर श्रद्धाञ्जली अर्पण गर्ने, पटक पटक रेकर्डबाट हटाउनुपर्ने शब्द बोल्ने, प्रधानमन्त्रीले वक्तव्य दिएको समयमा अनेकौँ प्रश्न गर्ने, खेद प्रकट गर्ने जस्ता कामकारबाही भए गरेका देखिएका छन्।

त्यसै गरी प्रधानमन्त्रीलाई सदनमा सोधिने प्रश्न प्रधानमन्त्रीबाट संसद्मा उत्तर आउनुभन्दा पहिले बाहिर आउने, सभाका छलफलमा सभामुखलाई सम्बोधन नगरी अर्काे सदस्यलाई सिधै सम्बोधन गर्ने, सभामुखको आचरणको आलोचना गर्ने, हाम्रो सदस्यले त्यसरी बोल्नु हुँदैनथ्यो, बोल्नुभयो तर त्यस्ता शब्द संसद्को रेकर्डबाट हटाउने गरिएको छ भन्ने विषयमा प्रधानमन्त्रीले डेढ मिनेटको वक्तव्य दिने जस्ता कार्य भएका छन्। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले आफ्ना सदस्यबाट संसदीय मर्यादा कायम राख्नमा केही कमीकमजोरी भएकोमा आत्मालोचनासमेत गर्नुभएको छ तर उहाँ जुन समयमा आत्मालोचना गर्न रोस्ट्रममा पुग्नुभयो, ठिक अगाडि संसद् बैठक कक्षभित्र पर्चा बाँड्ने कार्य गर्नुभएकोसमेत देखिन्थ्यो। 

अन्त्यमा संसदीय मर्यादा कायम राख्न स्वयं संसद्का सदस्य जिम्मेवार हुनुपर्ने देखिन्छ। साथै पदाधिकारी र संसद् सचिवालयको पनि महत्वपूर्ण भूमिका रहन्छ। संसद् सदस्यलाई यस सम्बन्धमा अभिमुखीकरण गर्नुका साथै सभा सञ्चालनका समयमा पदाधिकारीलाई उचित समयमा उचित तवरले सल्लाह र सुझाव दिने दायित्व सचिवालयको हुन्छ। देखिएका कमीकमजोरीमा सुधार ल्याई संसदीय मर्यादाको जगेर्ना गर्नु लोकतन्त्र सुढृढीकरणका लागि अपरिहार्य छ।

लेखक सङ्घीय संसद्का सचिव हुनुहुन्छ।   

Author

सुदर्शन खड्का