• १२ मंसिर २०८१, बुधबार

ढल्याे पत्रकारिताको धरोहर

blog

नेपाली पत्रकारिताका धरोहर गोविन्दप्रसाद प्रधानको ८६ वर्षको उमेरमा हालै निधन भयो । प्रधान नेपाली पत्रकारिताका हस्ती मानिनुहुन्थ्यो । आमपत्रकारका प्रिय अभिभावक बन्न सफल प्रधान जीवनको झन्डै ५० वसन्त नेपाली पत्रकारितामा क्रियाशील रहनुभयो । पत्रकारिता पेसालाई शालीनताको पर्याय बनाउनुपर्छ भन्ने मान्यता राख्ने प्रधानले सरकारी र निजी दुवै क्षेत्रमा रहेर पत्रकारिता र व्यवस्थापकीय जिम्मेवारी पनि सम्हाल्नुभयो ।

पत्रकारिता कसैको समर्थन र विरोधमा गर्ने पेसा नभई आमनागरिकलाई सुसूचित गर्ने माध्यमका रूपमा विकास गर्नु पर्छ भन्ने उहाँको ध्येय थियो । मुलुकको स्वाभिमान, मुलुकवासीको रक्षा र प्रजातन्त्रलाई केन्द्रमा राखेर सच्चा पहरेदारको भूमिकामा यो पेसालाई ढाल्नु पर्छ भन्ने पाठ उहाँले निरन्तर सिकाउनुभयो । 

उहाँले “तपाईंहरू पहाडबाट दुःखजिलो गरेर काठमाडौँमा पढ्न बस्नुभएको छ, खर्च चलाउन गाह्रो होला” भनेर १५/१५ दिनमा तलब दिनुभएको दृष्टान्त छ । तीन महिना काम गर्दा पनि तलब नपाएका पत्रकारलाई उहाँ जस्तो अभिभावक गुमाउँदा पीडाबोध भएको छ । पत्रकारिता पेसामा लागेपछि यसको मूल्य, मान्यता र मर्यादाको ख्याल गर्नु पर्छ भनेर उहाँले सधैँ सजग गराउनुभयो । पत्रकारितामा त्यत्तिको शालीन व्यक्तित्व गुमाउनु मुलुककै लागि ठुलो र अपूरणीय क्षति हो । 

प्रधान पत्रकारिता पेसामा प्रवेश गर्नुअघि न्याय सेवामा क्रियाशील हुनुहुन्थ्यो । उहाँ २०१६ सालमा पाटन अदालतको न्यायाधीशको भूमिकामा रहनुभएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस) को स्थापनापछि प्रारम्भिक कालखण्डमा उहाँ सम्पादकको जिम्मेवारीमा रहनुभयो । त्यसपछि गोरखापत्र दैनिकको महाप्रबन्धकको भूमिकामा पनि रहनुभयो । चालिसको दशकमा उहाँले ‘नयाँ नेपाल’ दैनिक पत्रिकाको प्रकाशक तथा सम्पादकको जिम्मेवारी पनि सम्हाल्नुभयो । पञ्चायतकालमा उहाँले किलागलस्थित आफ्नै निवासमा उक्त दैनिक पत्रिका सञ्चालन गर्नुभएको थियो; जसको उद्देश्य मुलुकमा प्रजातन्त्र स्थापना गरी जनअधिकार बहाली गर्नु थियो ।

विसं २०४६ को ऐतिहासिक जनआन्दोलनले बहुदलीय व्यवस्था पुनस्र्थापना गरेसँगै उहाँ फेरि सरकारी स्वामित्वका रहेको राष्ट्रिय समाचार समितिमा अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न पुग्नुभयो । 

पञ्चायतकालमा पत्रकारिताको माध्यमबाट बहुदलीय व्यवस्था स्थापनाका निम्ति गरेको योगदानको कदर गर्दै २०४७ जेठ २८ मा उहाँलाई राष्ट्रिय समाचार समितिको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा नियुक्त गरिएको थियो । उहाँ उक्त पदमा २०४९ मङ्सिर २५ सम्म रहनुभयो । प्रजातन्त्र पुनस्र्थापनापछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम मन्त्रीपरिषद्ले उहाँलाई उक्त जिम्मेवारी दिएको थियो । 

सरल, शालीन, भद्र, मिजासिला स्वभावका प्रधानले पत्रकारिता मात्र गर्नुभएन; यो पेसामा धेरैलाई आकर्षित पनि गर्नुभयो । बहुसङ्ख्यक पत्रकार उहाँद्वारा प्रशिक्षित भए । प्रधानले किलागलस्थित आफ्नै निवासबाट २०५९ सालमा ‘अन्नपूर्ण पोष्ट दैनिक’ को प्रकाशन सुरु गर्नुभएको थियो । यस दैनिकलाई रङ्गीन र ब्रोडसिटमा लैजाने श्रेय पनि प्रधानलाई नै जान्छ । ‘अन्नपूर्ण पोष्ट’ को प्रधान सम्पादकबाट अवकाश लिएपछि उहाँ मोर्डन टेक्निकल कलेजको अध्यक्ष बन्नुभयो । 

उहाँबाट दीक्षित भएर सँगै काम गरेका धेरै पत्रकार आज पनि सम्पादकलगायत निजी तथा सरकारी सञ्चार माध्यमको नेतृत्वदायी भूमिकामा पुगेका छन् । उहाँ पेसामा क्रियाशील रहुन्जेल भन्नुहुन्थ्यो, “जिम्मेवारीपूर्ण र जोखिममा काम गर्नुपर्ने पत्रकारले समाचार लेख्दा वास्तविक जानकारी पाठकले पाओस् भनी उत्तरदायी भई आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । सनसनी उत्पन्न गरेर छोटो अवधिका लागि आफ्नो हित खोज्दा समाजले पूर्ण वास्तविकता थाहा नपाउने अवस्था बन्छ, त्यसको मूल्य आफू र आबद्ध संस्थाले चुकाउनुपर्ने हुन्छ ।”

पत्रकार भएपछि गल्ती र खराब कामलाई उजागर गर्नुपर्छ तर कुनै पक्षको मात्र वकालत गर्दा पत्रकारले पूर्वाग्रहपूर्ण काम गरेको मानिन्छ भन्ने उहाँको दृढ मान्यता थियो । त्यस्तो पत्रकारिता सबै पाठकको नभई कसैको मुखपत्र मात्र हुन्छ । पत्रकार भएपछि मन पर्नेलाई ओतप्रोत गर्ने र अर्काे पक्षलाई दबाउने उत्तेजना देखाउनु हुन्न । यो सच्चा र संयमित पत्रकारको धर्म होइन । पत्रकारले समाजको आँखा र कानको भूमिका निर्वाह गर्नुपर्छ भन्ने गुरुमन्त्र प्रधानले दिइरहनुहुन्थ्यो । 

प्रधानले बहुदलीय व्यवस्था र लोकतन्त्रमा निरन्तर आस्था र विश्वास राख्नुभयो । व्यवस्था परिवर्तन हुँदैमा आस्था परिवर्तन गर्नु पर्छ भन्ने मान्यताको उहाँ सधैँ घोर विरोधी हुनुभयो । जीवनभर उहाँको निकटता प्रजातन्त्रवादी नेतासँग रहे पनि सिद्धान्त नमिल्ने पार्टीका नेताप्रति उहाँले कहिल्यै वैरभाव राख्नुभएन । मुलुकमा निरङ्कुश पञ्चायत व्यवस्था हुँदा पनि प्रजातन्त्रवादी नेताहरूलाई सहयोग गर्न उहाँले कुनै कसर बाँकी राख्नुभएन । पछिल्लो समय उहाँ २०४६ सालको जनआन्दोलनका कमान्डर एवं ‘लौहपुरुष’ नेपाली कांग्रेसका सर्वोच्च  नेता ‘गणेशमान सिंह फाउन्डेसन’ का उपाध्यक्ष हुनुहुन्थ्यो ।

उहाँले छाडेर जानुभएको पदचाप मात्र पछ्याउन सक्ने हो भने पत्रकारिताको मर्यादा कायम रहने छ । आज यो पेसाले आफ्नो धर्म निर्वाह गर्न सकेन, मुलुकलाई सही बाटो देखाएन भन्ने जनगुनासो व्याप्त छ । अधिकांश पत्रकार दल र व्यक्तिविशेषको भक्तिमा रमाइरहेका छन् भन्ने आमगुनासोको सम्बोधन भनेको प्रधान जस्ता अग्रज मार्गनिर्देशकको बाटोमा हिँड्न सक्नु हो; अनि मात्र पत्रकारिता पेसाको मर्यादा रहने छ । हामी सबैका मार्गदर्शक प्रधानप्रति हार्दिक श्रद्धासुमन !

लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।  

  

Author

विनोद न्यौपाने