नेपाल प्रतिभै प्रतिभाको जन्मथलो हो । हाम्रा पुर्खा कलाकौशलले निपुण भएका हाम्रा इतिहासले बोलिरहेका छन् । आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा नेपाल कोहीभन्दा कम थिएन । समयक्रमसँगै प्रविधिले हामी पछि पर्दै गयौँ । आज हाम्रा सिप, श्रम अनि सोच केही स्वदेशमै सड्दै छन् त केही विदेशी भूमिमा पोखिँदै छन् । गौतम बुद्ध, अरनिको, भीमसेन थापा, शङ्खधर साख्वा, पृथ्वीनारायण, भानुभक्त, पासाङ ल्हामु आदि प्रतिभाले आफ्नो भूमिलाई सिँगारेका छन् । गेहेन्द्रशमशेरदेखि महावीर पुनसम्मका हजारौँ प्रतिभाले विभिन्न क्षेत्रमा खोज र नवप्रवर्तन गर्दै आएका छन् । यस अर्थमा वैज्ञानिक आविष्कार तथा नवप्रवर्तनका दिशामा नेपाली कहीँ पछाडि नभएको यथार्थ हो तर पछिल्ला दिनमा यी कौडीका भाउमा मिल्किएका छन् । प्रतिभा पहिचान र संरक्षणतर्फ राज्यले ध्यान दिनै सकेको छैन ।
नयाँ शिक्षा नीतिसँगै प्रविधिको अध्ययन आएकै पनि आधा शताब्दी भइसक्यो । समृद्ध मुलुककै देखासिकीमा नेपालले पनि शैक्षिक नीति, योजना र कार्यक्रम ल्याएकै छ । यसमा राज्यको मात्र होइन दाता र नागरिकको ठुलो धनराशि खर्च भएको छ । समयानुकूल सुधारका प्रयास पनि नभएका होइनन् । तिनले नेपाली प्रतिभालाई तिखार्न र प्रतिस्पर्धी बनाउन नखोजेको पनि होइन तर हामी अध्ययनको बिचमै हराएका छौँ । दक्षता व्यवहारमा रूपान्तरित नहुँदासम्म काँचै हुन्छ । तसर्थ उत्पादित जनशक्तिलाई कार्यक्षेत्रमा लैजान नसक्दा आज हाम्रा होनहार प्रतिभा बरालिँदै र नासिँदै गएका हुन् । तिनको पहिचान र संरक्षणमा ढिलाइ भइरहेछ ।
आज अर्कैका बारीमा फक्रन र फुल्न अभिशप्त नेपाली युवालाई कसरी रोक्ने भन्ने विषय राष्ट्रव्यापी समस्या बनेको छ । राजनीतिकर्मी भोटका लागि चिल्ला कुरा गर्छन् । कोही विदेश जानै रोक्ने नीति ल्याउन चाहन्छन् त कोही लगानीको लोभ देखाउँदै उन्नतिको सपना बाँडेर राष्ट्रियताको आदर्श सुनाउँछन् । विदेशी भूमिमा वैज्ञानिक, प्रशासक, प्राविधिज्ञ तथा विषयविज्ञ बनेका नेपालीलाई नेपालले चाहिँ किन चिनेन होला ? यसको एउटै उत्तर हो काम वा रोजगारीका अवसर प्रदान गर्न नसक्नु । समयानुकूल पाठ्यक्रम परिमार्जन नहुनु, अदूरदर्शी प्रशासनले जरा गाड्नु, शिक्षामा राजनीति र गैरजिम्मेवारीपन हाबी हुनु, नीतिगत सुधारमा अलमल देखिनु, मूल्याङ्कन प्रणाली अस्तव्यस्त हुनु जस्ता परोक्ष कारणले युवा मानसिकतालाई विचलित बनाइदिएपछि शैक्षिक क्षेत्र तहसनहस भएको छ । मूलतः प्रतिभा पलायनलाई रोक्न सक्ने विश्वविद्यालयका नीति नै सकारात्मक देखिँदैनन् ।
हुन त प्रतिभा पहिचान र संरक्षणको दायित्व राज्यकै हो । उत्पादित जनशक्तिलाई प्रविधिमैत्री वातावरण दिन नसक्दा वा तिनका कार्यक्षेत्र सुनिश्चित नहुँदा प्रतिभा निरुत्साहित हुन्छन् । नेपाली प्रतिभाले कुनै नयाँ नौलो प्रयोग गर्दा प्रोत्साहन नीति नलिने, प्राकृतिक उत्पादनले बजार नपाउने वा कर्मचारी छनोटमा चरम अनियमितता हुने क्रमले निराशा नै जन्माउने हो । तिनलाई आवश्यक पर्ने सुविधा र सहयोगतर्फ ध्यान नदिँदा काम गर्ने वातावरण छैन भन्ने धारणा बन्ने गर्छ । यसैकारण प्रतिभामा उच्च मनोबल सिर्जना गर्नु आजको मुख्य चुनौती हो ।
नेपाल सरकारले भर्खर ल्याएको बजेटमा कृषि, ऊर्जा र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ । यसले व्यापक रोजगारी सिर्जना गरी दिगो आर्थिक विकासको आधार तयार गर्ने लक्ष्य लिएको देखिन्छ । यस सिद्धान्तलाई व्यावहारिकता प्रदान गर्न तिनै प्रतिभा चाहिन्छन् । कृषक प्रतिभाले समयमा मल बिउ नपाउने र उसको उत्पादनले बजार नपाउने हो भने सोचे अनुसारको उत्पादन पनि हुँदैन र आर्थिक समृद्धि पनि हुँदैन । बरु त्यो प्रतिभा थप निराश भई खाडी मुलुक वा परदेश भासिन्छ ।
अहिले नेपाली गाउँ खाली हुँदै जानुको मुख्य कारण यही हो । यसलाई रोक्न राज्यले पालिकामार्फत कृषक, उद्योगी, व्यवसायी, जागिरे तथा रोजगारदाता प्रतिभाको तथ्याङ्क सङ्कलन गरी सरोकारवाला पक्षसँग समस्याबारे व्यापक छलफल चलाउनु पर्छ । उत्पादन र बजारीकरणको स्पष्ट योजना, कार्यनीति र कार्यव्रmम ल्याई सहजीकरणमा ध्यान पु-याउन सके कसैको श्रम खेर जाने थिएन । प्रतिभा पहिचान भनेकै खास अर्थमा कर्मशीलता वा उद्यमशीलताको संरक्षण हो ।
अहिले राज्यले शिक्षामा वार्षिक कुल बजेटको आठ प्रतिशत रकम छुट्याएको छ । यसको उद्देश्य नै दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने हो । यसमा शिक्षकको मुख्य भूमिका रहने हुँदा सबै विषय र क्षेत्रका योग्य नागरिकलाई शिक्षण अनुमतिपत्रको परीक्षामा सहभागी गराई प्रतिभावान्लाई तान्ने रणनीति सरकारले ल्याएको छ । यसै गरी विद्यार्थी ल्याउने, पढाउने र टिकाउने कार्यक्रम पनि अघि सारेको देखिन्छ । यिनले सामुदायिक विद्यालयको खस्कँदो नतिजालाई उठाउला र गिर्दो सङ्ख्यालाई सुधार्ला भन्ने कुरा कार्यान्वयनमा भर पर्दछ । त्यस्तै दिवा खाजा, स्यानिटरी प्याड, निःशुल्क पाठ्यपुस्तक तथा पोसाक आदि सुविधा दिने कुरा पनि सकारात्मक हुन् । मूलतः तल्लो तहदेखि नै व्यावहारिक, व्यावसायिक, प्राविधिक तथा रोजगारमूलक शिक्षा प्रदान गर्ने कार्यनीति अझै आउन सकेको देखिँदैन । हाम्रा प्रतिभाको एक हातमा प्रमाणपत्र भए पनि अर्को हात सिपविहीन खाली हुनु नै आजको विडम्बना हो ।
राज्यले आज प्रविधि तथा वैज्ञानिक अनुसन्धानमा पाइला सार्न खोजे जस्तो देखिन्छ । आविष्कार तथा नवप्रवर्तन केन्द्रलाई एक अर्ब रकम छुट्याएको छ । भलै त्यो कम भए पनि सकारात्मक सोचको समर्थन गर्नु पर्छ । त्यस्तै नास्ट, सेडा जस्ता अनुसन्धान केन्द्रमार्फत प्रतिभा पहिचानका कार्यक्रम चलिरहेका छन् । नयाँ कार्यक्रम आउने तर त्यसका लागि आवश्यक ऐन, कार्यविधि तथा सञ्चालन तथा अनुगमन समिति बन्न ढिलाइ हुने अनि निष्क्रियता देखिने महारोगले नेपाली प्रतिभालाई सताउँदै आएको छ । बजेट अभाव वा समन्वयको कमीले नवप्रवर्तन अभियानले गति लिन सकेको छैन । यस्ता विभिन्न विषय वा क्षेत्रका नवप्रतिभाको पहिचान गर्न पालिका स्तरमा कार्यशाला, प्रदर्शनी वा आविष्कारका नयाँ कार्यक्रम चलाउनु पर्छ । प्राविधिक अध्ययनको क्षेत्र फराकिलो बनाएर डाक्टर वा सीमित विषयको इन्जिनियर मात्र बन्ने चलनलाई बदल्नु पर्छ । क्षेत्रगत आवश्यक जनशक्तिको तथ्याङ्कबिना शिक्षण संस्थामा भर्ना गर्ने र बेरोजगार बनाइदिने परम्परा बदलेर मात्र प्रतिभा संरक्षण सम्भव हुने छ ।
सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका निकायले खोज, अनुसन्धान तथा परीक्षण र आविष्कारका कार्यक्रम अघि सारेका छन् । विभिन्न क्षेत्रका प्राविधिक तथा विशेषज्ञ जनशक्तिलाई स्थान दिँदै आइएको पनि छ तर धेरै प्रतिभाले तिनमा अवसर पाएकै छैनन् । यहाँ विशेषज्ञको अभाव पनि छ र बेकारी पनि छ । कति सरकारी स्तरका प्राविधिक कार्यक्रममा अप्राविधिकको बोलवाला छ । अनुमान, देखासिकी र हचुवाका आधारमा काम अघि बढाइनाले आयोजना अलपत्र छन् । कृषि उत्पादन, भौतिक पूर्वाधार निर्माण, वन संरक्षण र उपयोग, उद्योगको विस्तार, पशुपन्छीपालन, वातावरण संरक्षण आदि क्षेत्रमा विशेषज्ञ सेवा विस्तार गर्न सकिएको छैन । हामीलाई चाहिने प्रतिभा हामी नै उत्पादन गर्नतर्फ विशेष ध्यान दिनु पर्छ ।
वर्तमान सरकारले उच्च आर्थिक वृद्धिको आधार तयार गर्न प्राकृतिक साधनस्रोतको पहिचान, उपयोग र विस्तारमा विशेष ध्यान दिएको छ । यससँग पनि प्राविधिक जनशक्ति जोडिएको हुन्छ । जल, वनस्पति, खानी तथा ऊर्जाको उपयोगमा ठुलो धनराशि तथा प्रतिभाको प्रयोग हुन्छ । विडम्बना, हाम्रा प्रतिभाले उपलब्ध स्रोतको बेवास्ता गरेका पाइन्छन् । सम्भावना नै देख्दैनन् यहाँ । यतिबेला सरकारी सोच र प्रतिभाको मनोविज्ञानमा तालमेल देखिन्न । तसर्थ राज्यले सर्वसुलभ एवं सुपथ कर्जा प्रवाह गर्ने, विशिष्ट काममा पुरस्कार दिने, नीतिगत सहजताको खोजी गर्ने र लगानीमैत्री वातावरण तयार पार्ने कार्यमा गम्भीर हुनै पर्छ ।
अहिले हरित अर्थतन्त्र : दिगो विकासको मन्त्र भन्ने नारा अघि सारिएको छ । यो नेपालजस्तो जैविक विविधतायुक्त कृषि अनुकूल वातावरण भएको देशका लागि अति सुहाउँदो र सम्भावना बोकेको विचार पनि हो । अहिले विश्व आर्थिक मन्दी र धराशयी अर्थतन्त्रले आक्रान्त छ । बढ्दो व्यापार घाटा, जमिनको बाँझोपन र मरुभूमीकरण शृङ्खला रोक्न सकिएको छैन । यसको मूल कारण कृषिको व्यवसायीकरणको मर्म बुझाउन नसकिएको अर्थमा लिनु पर्दछ । मूल्यवान् काठ वा जडीबुटी वा पशुपालनलाई विकल्पका रूपमा अघि सार्न पनि हाम्रा प्रतिभाको सोच बदल्नै पर्छ । उन्नत जातका बाली, फलफूल अनि बिउबिजनमा परनिर्भरता हटाउनु पर्छ । अब नेपाली प्रतिभाले माटो सुहाउँदो उत्पादन बढाएर हरित क्रान्तिका माध्यमबाट दिगो अर्थतन्त्र निर्माणमा लाग्नु पर्छ ।
सरकारले ल्याउने प्रतिभा संरक्षणका कार्यक्रम सधैँ हात्तीका देखाउने दाँत बन्न नदिन कार्यान्वयनमा सावधानीपूर्वक लाग्नु पर्छ । यसका लागि पालिकाले प्रतिभाको खोजी र मार्गनिर्देशनका कार्यक्रम चलाउनु पर्छ । विदेश जान बैङ्कमार्फत लाखौँ ऋण दिने राज्यले शैक्षिक प्रमाणपत्र धितो राखेर स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्नु पर्छ । अभिभावकले विदेशी भूमिमा हुने दुःख र अपमानको पाठ पढाउँदै मनोबल उच्च पार्नु पर्छ । विशेषतः अनुसन्धान तथा विकास, आविष्कार र नवप्रवर्तनमा नेपाली युवालाई आकर्षित गरी सबै पक्ष मिलेर प्रतिभा पहिचान र संरक्षणमा जुट्नु पर्छ ।
लेखक त्रिविका उपप्राध्यापक हुनुहुन्छ ।