• १२ साउन २०८१, शनिबार

घर सार्न र उचाइ बढाउन मिल्ने प्रविधि भित्रियो

blog

नेपालगञ्जको न्यूरोडनजिकै होचा घरलाई ‘लिफ्टीङ्ग सिफ्टीङ्ग’ प्रविधिमार्फत अग्लो बनाइँदै । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, जेठ २८ गते । नेपालगञ्जमा वर्षाको समयमा सयौँ घरहरू जलमग्न हुनेगरेका छन् । सडकभन्दा कम उचाइमा निर्माण गरिएका घरभित्र बर्सातको समयमा पानी पसेर दुःख दिनेगरेको छ । पहिले निर्माण गरिएका घरभन्दा पछि निर्माण भएका सडकको उचाइ बढी हुनेभएकोले घरभित्र पानी पस्ने समस्या यथावत् रहेको स्थानीयको भनाइ छ ।

पछिल्लो समय घरको उचाइ बढाउन मिल्ने र घर पनि निश्चित क्षेत्रसम्म सार्न सकिने प्रविधि नेपालगञ्जमा भित्रिएको छ । भारतमा दुई दशकदेखि घर सार्ने र उचाइ बढाउन प्रयोग हुने ‘लिफ्टीङ्ग सिफ्टीङ्ग’ मार्फत काम गर्दै आउनुभएका बाँकेको जानकी –३ मानपुरका भोलासिंह राठौरले गत पुसदेखि यो विधिमार्फत काम गर्दै आउनुभएको छ । 

हाल नेपालगञ्जको न्यूरोडनजिकै लोकबहादुर सुनारको घरको काम अन्तिम चरणमा छ । घरको उचाइ बढाएर अन्तिम चरणको काम भइरहेको राठौरले जानकारी दिनुभयो । 

नेपाल सरकारका उपसचिव रहनुभएका सुनारले प्रत्येक वर्ष डुबान हुने समस्याबाट दिक्क भएर यो विधिबाट घरको उचाइ बढाउन लाग्नुभएको छ । घरको करिब चार  फिट उचाइ बढाउने काम अन्तिम चरणमा छ । नेपालगञ्ज–गुलरिया सडक खण्डस्थित मानपुरमा सडक छेउमा परेका आफन्तका दुई वटा घर सारेपछि राठौरले हाल नेपालगञ्जमा यो काम गरिरहनुभएको छ । 

यसरी घर उठाउँदा ठूलाखाले मेसिनको प्रयोग गरिएको छैन । गाडी बिग्रिएपछि टायर झिकेर अडेस लगाउने फलामे विमहरु प्रयोग गरेर घरलाई सुरक्षा प्रदान गरिन्छ । घर सार्दा कुनै पनि क्षति हुँदैन । तर केही खर्चिलो भने छ । एक तल्ले घरको प्रतिस्क्वायर फिट ५०० रुपियाँ, दुई तल्ले घरको प्रतिस्क्वायर फिट ७५० र तीन तल्ले घरको प्रतिस्क्वायर फिट एक हजार रुपियाँ शुल्क तोकिएको उहाँको भनाइ छ । 

राठौरले घर भत्काउनुभन्दा यसरी काम गर्नु कम खर्चिलो हुने दाबी गर्नुहुन्छ । पछिल्लो समय धेरैतिरबाट यो विधिको बारेमा सोधी खोजी भइरहेको उहाँले बताउनुभयो । भारतमा लामो समय काम गरेका राठौर नेपालगञ्ज केन्द्रित भएर अहिले काम गर्न खोजेको बताउनुभयो ।