• १३ असोज २०८१, आइतबार

उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

blog

सम्मानित भएका शिक्षकहरु । तस्विर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, जेठ २८ गते । दोलखाको तामाकोसी गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको हो । 

उत्कृष्ट मूल्याङ्कन भई पुरस्कृत हुने विद्यार्थीमा एसइईमा उत्कृष्ट हुने छात्रतर्फ गोल्मेश्वर माध्यमिक विद्यालयका प्रशान्त पोखरेल र छात्रातर्फ नारायणी माध्यमिक विद्यालयका प्रश्न कार्की जनही १० हजार सहित नगद प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।

आधारभूत तह कक्षा ८ मा उत्कृष्ट हुनुहुने सितापाइला माध्यमिक विद्यालयका छात्रतर्फ संयोजन कार्की छात्रातर्फ सोही विद्यालयकी अनुपा पोखरेल नगद आठ हजार रुपियाँसहित प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।

गाउँपालिकाले एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका विषयगत शिक्षकहरूलाई सम्मानित गरेको छ । सम्मानित हुने शिक्षकहरूमा नारायणी माध्यमिक विद्यालयका सन्तोष कार्की, लक्ष्मी फुयाँल, केदारकुमार खड्का, सिद्देश्वर माध्यमिक विद्यालयका तेजसिंह भण्डारी, सरोज कोइराला र कालापानी माध्यमिक विद्यालयका सबिता पोखरेल सम्मानित हुनुभएको छ । उत्कृष्ट शिक्षकहरूलाई जनही नगद १० हजार रुपियाँ र प्रमाण पत्रले सम्मान गरिएको तामाकोसी गाउँपालिकाकी शिक्षा शाखा प्रमुख मेनुका बास्कोटाले बताउनुभयो ।

गाउँपालिकाले आधारभूत तहमा उत्कृष्ट हुनुहुने ९ जना शिक्षकहरूलाई नगद ८ हजार रुपियाँ र प्रमाणपत्रले सम्मान गरिएको शाखा प्रमुख बास्कोटाले बताउनुभयो ।

माध्यमिक तहमा उत्कृष्ट हुने नारायणी माध्यमिक विद्यालयलाई नगद ५० हजार रुपियाँ र प्रमाणपत्रले सम्मानित काठमाडौं गरिएको छ भने आधारभूत तहमा प्रथम हुने 

सितापाइला माध्यमिक विद्यालयलाई नगद ४० हजार रुपियाँ सहित प्रमाणपत्र, दोस्रो हुने नारायणी माध्यमिक विद्यालयलाई नगद ३० हजार सहित प्रमाणपत्र र तेस्रो हुने गणेश आधारभूत विद्यालयलाई नगद २० हजार रुपियाँ सहित प्रमाणपत्रले सम्मान गरिएको उहाँले बताउनुभयो ।

जेहेन्दार तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक तथा प्रधानाध्यापक र उत्कृष्ट शैक्षिक क्रियाकलाप गर्ने विद्यालयलाई पुरस्कृत गरिएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले बताउनुभयो । 

पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शिक्षा प्रदान गर्नमा प्रोत्साहन गर्न शिक्षकलाई सम्मान गरिएको सुवेदीले बताउनुभयो । सम्मानको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ । 

सम्मानले अरू शिक्षक विद्यार्थी र विद्यालयहरूलाई उत्कृष्ट हुन प्रतिस्पर्धामा ल्याउन सक्ने गाउँपालिकाको अपेक्षा रहेको छ ।