• १२ मंसिर २०८१, बुधबार

स्वाभिमानी नेपालीको पहिचान

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १७ देखि २० सम्म भारत भ्रमण सम्पन्न गर्नुभयो । प्रधानमन्त्रीले नेपाल राष्ट्रको प्रतिनिधित्व गरेर भारत गएको हामी सबैलाई थाहा छ । भारतीयले उहाँको सम्मान गरे हाम्रो सम्मान हुन्छ, नगरे नेपालको अपमान हुन्छ । यो सत्य नै हो । प्रधानमन्त्रीको नेतृत्वमा भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधि मण्डललाई नरेन्द्र मोदीले नेतृत्व गरेको भारत सरकारले अपमान ग-यो भनेर सामाजिक सञ्जालमा अफवाह फैलाइयो । यस्तो हर्कतमा रमाउनेहरू नेपाल र नेपालीको समृद्धिमा पनि रमाउन सक्दैनन् ।

भारत ठूलो गणतन्त्र र उदीयमान विश्वशक्ति हो । छिमेकी मुलुकलाई दबाएर भारतको पनि सपना पूरा हुँदैन । भारतले नेपाल र नेपालीलाई जति सम्मान गर्छ, उसको पनि त्यति नै सम्मान हुने हो । अन्यथा नेपाल र नेपालीको अपमानको बाटो लिँदा भारतको यश र सम्मान बढ्दैन । नेपालले विसं २०४७ को संविधान स्वीकार गर्न नसकिने राजनीतिक मुद्दा बनाएर नेकपा (माओवादी) को नेतृत्वमा भएको एक दशक लामो सशस्त्र द्वन्द्व भोग्यो । राज्य र विद्रोही गरी दुवै तर्फबाट करिब १७ हजारले ज्यान गुमाए । हजारौँ बेपत्ता बने र घाइतेको सङ्ख्या झनै ठूलो छ । सात संसदीय राजनीतिक दल र दरबारबिच चलेको शक्तिको छिनाझपटीमा नेकपा (माओवादी) को प्रवेशले परिवर्तन सम्भव भयो । 

२०६२/६३ को १९ दिने जनआन्दोलनको परिणामस्वरूप नेपालमा गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षता स्थापित भयो । २०६३ मा अन्तरिम संविधान घोषणा भयो । संविधानतः मुलुकमा संविधान सभा निर्वाचन सम्पन्न भयो । सभाको पहिलो बैठकले राजतन्त्र अन्त्य भएको घोषणा गरी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा ग-यो । संविधान जारी गर्न भने सकेन । दोस्रो पटक गठित संविधान सभाले २०७२ असोज ३ गते संविधान जारी ग¥यो । यी सबै घटना र प्रतिघटना नेपाल र नेपालीको हितमा थिए । त्यो सङ्घर्षपूर्ण समयबाट पाठ हामी सबैले सिक्नु पर्छ ।

संविधानतः देशमा दुई–दुई पटक स्थानीय तह, प्रदेश र सङ्घको चुनाव भइसकेको छ । अबको समय मुलुकको समृद्धिका खातिर समर्पण गर्नु पर्छ । दलहरूको अर्जुनदृष्टि नेपालीको पहिचान रक्षामा लगाउनु पर्छ । मुलुकलाई राजनीतिक अस्थिरतामा धकेलेर रमाउने छुट कुनै दल वा व्यक्तिलाई छैन । प्रधानमन्त्री भएर एकै दिन सिंहदरबारमा बसे पनि त्यो नेपालकै प्रधानमन्त्री हुने छ । देशमा चुनिने प्रधानमन्त्री विदेशमा पनि नेपालकै प्रधानमन्त्री हुन्छ भन्ने आफूलाई ठुलो ठान्ने सांसद र नेताले बुझ्नु पर्छ । 

नेपालका प्रधानमन्त्री भारत भ्रमणमा रहेका समयमा सामाजिक सञ्जाल, युट्युवसहित टिकटकमा देखिने उच्छृङ्खल शब्द, पदावली र वाक्यले नेपाललाई रुवान्डाको बाटोमा त धकेल्दै छैन भन्ने भान भयो । देश रुवान्डा बने पनि वा युक्रेनको बाटोमा गए पनि दुःख पाउने हामी नेपालीले नै हो र बिग्रने पुस्ता हाम्रै हो भन्ने कुरा हामीले बुझ्नु पर्छ । दुःखको कुरा नेपालका प्रधानमन्त्री भारत भ्रमणमा रहेको बेला “भारतले नेपाली प्रधानमन्त्रीलाई अपमान गरेर प्रचण्डको हैसियत देखाइदियो, खुच्चिङ” भनेर हामीले कसको सेवा गरेका छौँ ? प्रधानमन्त्रीको भ्रमणले मुलुकका लागि खासै उपलब्धि भएन भनेर केही पार्टीले निकालेको निष्कर्षले हामीलाई बलियो होइन, झन् कमजोर बनाउँछ । 

विमानस्थलमा प्रधानमन्त्री जस्तो व्यक्तिलाई स्वागत गर्न राज्यमन्त्री आयो भन्नुको कुनै तुक छैन । स्वागत गर्न को आयो वा आएन भन्ने कुराले खासै अर्थ राख्दैन । बरु हामीले अब पाहुनाको स्वागत र बिदाइमा उपस्थित हुने मन्त्रीको मापदण्ड बनाउँ । हाम्रो देशमा आउने पाहुनाको स्वागतमा परराष्ट्रमन्त्री नै जाने भनेर मापदण्ड बनाउन सक्नु पर्छ । छिमेकी देशले के गर्छ भन्ने विषय हाम्रो चासोको विषय बन्नु हुन्न । अपमानजनक शब्द बोलेर वा लेखेर हामीले कसको सेवा गरिरहेका छौँ हामी ? एक पटक ठण्डा भएर सोचौँ त !

आफू रमाउने माटो र देशको मानमर्दन गरेर कसैलाई फाइदा भएको होला र ? पीडाजनक शब्द ओकेल्ने शैलीबाट हामी मुक्त बन्न सक्नु पर्छ । मुलुकको अस्तित्वमै आँच आउने शब्दवाणले देश सम्पन्न हुन सक्दैन । पहिलो आफ्नो सोचाइलाई सम्पन्न बनाऔँ । प्रचण्डसँग पनि हाम्रा सयौँ असहमति होलान् । पार्टीगत भिन्न मत, रिस र डाह पनि होला । हामी सबैको राजनीतिक दर्शन नमिल्ला । राजनीतिक लक्ष्य प्राप्त गर्ने फरक कार्यनीति पनि होलान् । 

यति बेला हाम्रो प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ । अब सोच बदलौँ । विदेश भ्रमणमा रहनु भएका प्रधानमन्त्रीविरुद्ध विषवमन गरेर मुलुकको हित होला र ? हामीलाई संविधानले स्वतन्त्रताको अधिकार दिएको छ । त्यो सभ्य, सुसंस्कृत र सदाचारीका लागि हो । मुलुकको बदख्याइँ गर्नेको हकमा होइन । स्वतन्त्रता मुलुक हितमा हो । सार्वभौम देश नेपालको प्रतिनिधित्व गरेर छिमेकको भ्रमणमा गएको समयमा नेपालीले आफ्नै प्रधानमन्त्रीको अपमान गर्ने शैली कसरी उचित हुन सक्ला ? 

नेपाल संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र सदस्य देश हो । राष्ट्रसङ्घले अमेरिका, भारत, चीन होस् या नेपाललाई हेर्ने दृष्टिकोण एउटै हुन्छ । एउटा सार्वभौमसम्पन्न मुलकका रूपमा नेपाल विश्वमा परिचित छ । चीनका राष्ट्रपति सी चिनफिङ वा भारतका प्रधानमन्त्री मोदी जस्तै प्रचण्ड पनि नेपालको प्रधानमन्त्री हुनुहुन्छ । संसारले यति बेला प्रचण्डलाई नेपालका प्रधानमन्त्रीको हैसियतमा चिन्छ । अमेरिका, बेलायत, चीन वा भारतमा हुने भ्रमणबाट हामीले के पाउने र त्यो कसरी पाउने भन्ने कुरामा ध्यान दिऊँ । 

नेपालको संविधान अनुसार मुलुकको हितमा हुने सन्धि–सम्झौतामा हस्ताक्षर गर्ने काम नेपालका प्रधानमन्त्रीको हो । यद्यपि त्यसलाई नेपालको संसद्ले सहज रूपमा अनुमोदन गर्न सकोस् । मुलुकको हित नहुने विषयमा कुनै पनि सन्धि–सम्झौता गर्नु हुन्न, चाहे जुनसुकै दलको प्रधानमन्त्री किन नहोस् । विसं २०५४ मा नेपाल–भारतबिचको महाकाली सन्धिले बिर्सेका तथ्यका कारण हामी अहिले समस्यामा छौँ । हामी भन्छौँ, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, महाकालीको पानी आधा–आधा हो । भारत कालापानी र लिम्पियाधुराको नाम सुन्न चाहँदैन । यसका लागि हाम्रो आन्तरिक एकता नै पहिलो सर्त हो । २०५४ मा भएको महाकाली सन्धि किन लागु भएन ?

प्रधानमन्त्री प्रचण्डले २०८० मा गरेको भारत भ्रमणबाट केही कुरा प्राप्त भएका छन् । भारतले भैरहवा विमानस्थलमा राडर प्रयोग गर्न दिने भएको छ, सिमराबाहेक भैरहवाका लागि जहाजको उडान अनुमतिको सहमति दिएको छ । बङ्गलादेशमा ऊर्जा निर्यातका लागि बाटो खुल्ने पनि अर्को महìवपूर्ण काम हो । भारतले १० वर्षमा १० हजार मेघावाट बिजुली किन्ने भएको छ । यसबाट नेपालमा ठुलो लगानी भित्रिने छ । 

प्रधानमन्त्रीका रूपमा अरू कसैले पनि नेपाल र नेपालीको हितमा काम गर्छ/गराउँछ भने त्यो नेपालको पक्षमा हुने छ । अबको २१ औँ शताब्दीमा नेपालले आफ्नो दीर्घकालीन हित हेरेर सामूहिक लक्ष्य बनाउनु पर्छ । आशा र विश्वास गरौँ, हाम्रा पुराना सङ्कीर्ण सोच अब बदलिने छन् । हामीले फरक किसिमले नेपाल र नेपालीको पहिचान सुरक्षित हुने काम गरौँ । एकले अर्कोलाई सम्मान गर्ने संस्कृतिको विकास गरौँ । सामाजिक सञ्जालदेखि युट्युब र टिकटकमा हामी मर्यादित र सभ्य भएर प्रस्तुत होऔँ । सदाचारी, सहृदयी, सुसंस्कृत र सहिष्णु भन्ने नेपालीको पहिचान संसारभर फैलाऔँ ।

लेखक हाम्रो समृद्ध नेपालका अध्यक्ष हुनुहुन्छ ।

   

Author

सर्मिला बगाले