पूर्वमा आन्दोलित पहिचानवाद र सरकारबिचमा चर्किरहेको राजनीतिक झगडाले कसैलाई सामान्य कसैलाई असामान्य जस्तो परिदृश्य देखिन्छ । सरकारको डाडुपन्यु लिने व्यक्तिले सामान्य समाजलाई एक स्टेप अगाडि बढेर दबाबमा नराखेको घट्ना संसारमा बिरलै होला । मानवशास्त्रीय सिद्धान्तले पहिचान भनेको मानव उद्विकासको उच्चतम सांस्कृतिक सभ्यता हो । यो आफैँमा पूर्ण शब्दावली हो, हरेक समाजको आफ्नो पहिचान सभ्यता हुन्छ ।
१९५० को दशकमा एरिक एरिकसोनले मनोविज्ञानको क्षेत्रमा पहिचान शब्दलाई प्रयोगमा ल्याएका थिए । समाज तथा व्यक्तिलाई अध्ययन गर्न उद्विकास सैद्धान्तिकलाई पहिचान भनेका थिए । तसर्थ ! पहिचान शब्द व्यक्तिको सम्मान, गौरव तथा सामाजिक अस्तित्वसँग जोडिएको हुन्छ । यो शब्दले आफैँमा फरक अस्तित्व वा अरू जस्तै फरक देखाउँछ । भाषा, संस्कृति, भौगोलिक आधारमा समाज फरक हुन्छ भन्ने बुझाउँछ । यसले सजातीय परिभाषित गर्दछ । उनको विचारमा पहिचान वर्तमान विश्वको चर्चित शब्दावली पनि हो । प्रायः संस्कृति राजनीतिकसँग धेरै नजिक अन्तरसम्बन्धित छ । विशेषता आदिवासीहरूको अस्तित्व भौगोलिक इतिहाससँग जोडिएको हुन्छ । नेपालमा यो परिभाषा सान्दर्भिक देखिन्छ जस्तो शेर्पा छ, हिमाल छ, थारू छ तराई छ, खस छ, पश्चिम पहाडको सभ्यता छ । त्यसरी नै संयुक्त राष्ट्रसङ्घको आइ.एल.ओ.को १५९ को बुँदामा पहिचानको परिभाषा गरिएको छ – ‘जसको भाषा, संकृति, इतिहास, भूभाग, परम्परा अरू समूहको भन्दा प्राचीन र विशिष्ट हुन्छ । त्यो नेटिभ मूलवासीको मौलिक पहिचान हो ।’
आजको वैज्ञानिक भौतिकवाद वस्तुगत सत्य हुन्छ । मेटाफिजिकसँग सहयोग लिँदैन । आज जटिल हिंसा राजनीतिक कलहको वातावरण नेपालको पूर्वी १ नम्बर प्रदेशमा छ । त्यहाँ बस्ने मूलवासीले र अन्य जातिले सरकारको अहम्ताको विरोध गरिरहेका छन् । अधिकांश कोशी नामाङ्कनको विरोधमा छ । सरकार दमनबाट मान्छे मारिरहेछ । आदिवासीले आफ्नो अस्तित्व गुमेको महसुस गरेका छन् । २०७९ मङ्सिर १७ गते प्रदेशको ८२ सांसदबाट कोशी नामकरण संसद्मा पास गरेको अवस्था छ । जसपा, एकीकृत एमाले समाजवादी राजनीतिक दलहरूको मात्र असहमत विचार संसद्मा प्रक्षेपित भएको थियो । भौगोलिक इतिहासिकताको ख्याल नगरी अबौद्धिक, अवैज्ञानिक र नस्लिए भएको आवाज सरकारमाथि प्रत्येक दिन चौध जिल्लामा लगातार जुलुस प्रदर्शन भइरहेछ । किराँत प्रदेशको समर्थनमा हिंसात्मक आन्दोलन उत्रेका छन् । आन्दोलनमा लाजेहांग लिम्बुको प्रहरीको आव्रmमणबाट दुःखद मृत्यु भएको छ । सयौँ प्रदर्शनकारी प्रत्येक दिन गम्भीर घाइते भएका छन् ।
विरासत अस्तित्वका लागि मृत्यु सामान्य हो जस्तो देखिएको छ । अन्य जातजातिको आवाज पहिचानवादीको आवाजसँग मिसिन थालेका छन् । उनीहरूले सरकारको अदुरदर्शिता माथि सामाजिक सद्भाव राजनीतिक रूपले बिगारेको आरोप लागिरहेका छन् । भनिरहेका छन् –हरेक दृष्टिकोणले किराँत सभ्यता हो । व्यक्ति जातीयता होइन । कुनै जाति विशेष होइन । किराँत नपालको अत्यन्त प्राचीन संकृति सभ्यता हो । आधुनिक नेपालको प्राचीन पहिचान नै किराँत धर्म परम्परा हो तर प्रदेश सरकार नसुनेर सुतेको अभिनयमा देखिन्छ । संसद्को राजनीतिक क्षेत्र र लोकतान्त्रिक अस्तित्व समाप्त गरिरहेको देखिन्छ । आफ्नो अविभावकत्व गुमाइरहेछ ।
नेपालमा किराँत सभ्यताको महìव छँदै छ, पछि मध्यकालीन सभ्यता निर्माण भएको छ । एकीकरण पछि आधुनिक नेपालको इतिहास बनेको छ । यो भन्दा अर्को वैज्ञानिक भरपर्दो नामकरणको विकल्प छैन । आफ्नो राजनीतिक अधिकारको माग गर्दै ज्यान बाजीको सङ्घर्षमा महिला, वृद्ध सरकारी आतङ्कको विरुद्ध उत्रेका छन् । एमालेको नेतृत्व प्रदेश सरकारले कोशीबाहेक अरू नामकरण सम्भव नभएको जिकिर गरेको छ । सङ्घर्षमा उत्रिएका पहिचानवादीलाई आतङ्ककारीको आरोपमा धडपकड गोलीबारुद गरिरहेको छ । कुटेर ठिक पार्न सकिन्छ भन्ने अहंकार देखाएको छ । सङ्घीय सरकारले मृतकको क्षतिपूर्ति दिने र वार्तामा बोलाएर पुनः विचार गर्ने निर्देशन दिइसकेको अवस्था छ । प्रदेश सरकार अप्रजातान्त्रिक चरित्र देखाउँदै कुनै पहल गरेको देखिँदैन । यसले स्पष्ट पर्छ, पहिचानवादी मूलवासीप्रति सरकार उदार छैन । एक निर्विकल्प जातीय व्यवस्थालाई मजबुत बनाउने उद्यत छ । निरङ्कुशताले लोकतान्त्रिक गणतन्त्रको आधारभूत मान्यता समाप्त गर्छ । माननीय संसदहरूको ज्यान सुरक्षित अवस्थामा नभएको स्वयम् माननीयले संसद् बैठकमा आवाज उठाइरहेका छन् । सहर जलिरहँदा पनि सुतिरहेका राजा निरो जस्तो हिक्मत कार्की सरकार सुतिरहेको देख्दा लाग्छ, बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने औषधिले मातेको हुनु पर्छ । यसले राजनीतिक, समाजवाद, राष्ट्रिय एकता बलियो हुँदैन । नस्लीय चिन्तनको कारण थुप्रै देशको हालत बिग्रेको कथा सबैलाई थाहै छ । छिमेकी देश श्रीलङ्का, म्यान्मार, भारतको पूर्वत्तोर आसम नागाल्यान्ड, कास्मिर, सुडान, युगोस्लोभाकिया, सिरियाका मानिस अझै उठ्न सकेका छैनन् ।
नेपालको प्राचीन इतिहास के हो
किराँत शब्द आफैँभित्र भूगोल तथा इतिहास हो । नेपालको प्राचीन सभ्यता किराँत हो । किराँत धर्म हो परम्परा हो । किराँत मानव सभ्यता इसापूर्वदेखि यो पवित्र भूमिमा थियो । प्रसिद्ध मानवशास्त्री डोरबहादुर विष्टको भनाइमा किराँत को अवधि ६२५ बिसीदेखि १०० एडीसम्म नेपालमा राज्य गरेका थिए (सोसाइटी एन्ड कल्चर इन् नेपाल, २०१२, पेज १२) । त्यसपछि मात्र मध्यकालीन सभ्यता प्रारम्भ हुन्छ । बालचन्द्र शर्माको भनाइमा किराँत हरूले त्रिशूलीदेखि पूर्वी नेपालसम्म लामो समयसम्म राज्य गरेका थिए । उनीहरूले काठमाडौँलाई ठुलो व्यापारिक केन्द्र बनाएका थिए । कृषि, ऊन, पोसाक, भाँडाकुडाको विकास गरेका थिए । जुन कुरा भारतीय शासकले प्रशंसा गरेका छन् । किराँत कालीन दरबार मठमन्दिर ठाउँको नामाङ्कनले प्रमाणित गर्छ । नेपालको ऐतिहासिक रूपरेखा, २००८, पेज ६४, ७१ टोनी हेगनले भनेका छन्– किराँत राई लिम्बुहरूको उत्पत्ति काठमाडौँ खाल्डोमा भएको थियो । बिस्तारै परुहाँग सुम्निमा आमाबुबाले दिएको अंश खोज्दै छोराहरू पूर्व गएका थिए । तीन भाइ तीनतिर बस्न पुगेका कारण ओल्लो किराँत सुनकोशीसम्म, माझ किराँत , पल्लो किराँत भनिएको हो । (नेपालको चिनारी, २०७८, पेज, ४६, ४७) । किराँत भाषाबाट नेपालको नामकरण भएको अवस्थामा प्रदेशको नाम राखिनु के आपत्ति हो ? इतिहासको निर्माणसँगै यो भौगोलिक क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण विभिन्न भाषाभाषी, धर्मावलम्बी किराँत थिए; जस्तो आज कुनै विदेशमा नेपाली भनेपछि अरू पहिचान भन्न जरुरी छैन । तसर्थ, किराँत सबैको गौरव हो । गौरवपूर्ण नेपाल देशको जग किराँतलाई बिर्सनु हुँदैन । बिर्सिने हो भने नेपालको प्राचीन इतिहास के र कुन समयलाई देखाउने ? गम्भीर प्रश्न उठ्न सक्छ । आफू ठिक अरू बेठिक भन्ने दलिल विचार राख्नु सोभनीय होइन । किराँत प्रदेशको माग गर्दा जातीय आरोप प्रदेश सरकारबाट लगाइएको छ त्यो कमजोर मनोदशा बदल्नु पर्छ । काठमाडौँदेखि पूर्वका हरेक ढुङ्गा खोला, पहाडका नाम किराँत भाषा मुन्धुमी सभ्यताभित्र रहेको छ । जस्तै दोलखा भनेको दोमुमा हो । यसको अर्थ हो मिलेर कुरा गर्न‘ हो, नेवा भनेको पानी, लुगा दिनु हो । नेवार आफैँमा किराँत को एक हाँगा हो । पहिलोपल्ट किराँतहरूले कपडा बुनेर टोपी, दौरासुरुवाल, छिटको सारी बस्त्रका आविष्कार काठमाडौँमा गरेका थिए । यो सभ्यता सम्पूर्ण नेपालीको होइन र ? कसरी यस्ता ऐतिहासिक सभ्यतालाई एक जातको भन्न सकिन्छ ।
संसद्को बहुमतबाट कोशी नामाङ्कन भएको जबर्जस्त विचारमाथि पुन : बौद्धिक विश्लेषण गरिन जरुरी देखिन्छ । प्रदेश सरकारबाट मानिसको भावनालाई सम्मान गरिनु पर्छ । राजनीति बहस जरुरी छ । सरकारको बोलीले झन् आगोमा घिउ थप्यो । राई लिम्बु सुनुवारलाई मात्र होइन किराँत प्रदेश माग गर्ने अन्य जातजाति समूहलाई अपमान गरिएको छ । मानव अधिकारमाथि हस्तक्षेप गरेको देखिन्छ । लोकतान्त्रिक गणतन्त्र खतरामा पुग्ने देखिन्छ । इतिहासलाई स्वीकार गर्दा कसैको हार देखिँदैन । झन् शिर उचो हुन्छ । जनताको भौतिकवाद र समाजवाद सहअस्तित्वको मजबुत हुन्छ ।
के हो कोशी ?
कोशी शब्द हिन्दु लोककथासँग जोडिएको देखिन्छ । भर्खरै भारतीय स्टार टेलिभिजनले कोशीको परिचय दिएका छन् – कोशीलाई नेपालमा सात कोशीको नामले सप्तकोशी भनिन्छ । सप्तकोशी ७२९ किलोमिटर हिँडेर भारतको भिमनगर हुँदै कटियार बिहारको गङ्गामा मिसिन आउँछ । त्यसपछि कोशी नदी भन्ने गरिन्छ । गङ्गा नदीको ठुलो सहायक नदी कोशी हो । कौशिकी ऋषिको नामबाट कोशी बिहारमा भएको हो । कोशी मिथिला सभ्यतासँग पनि जोडिएको छ । अर्को कहानी पनि छ । सात दिदीबहिनी थिए, एक दिन भेट भएर कतै जाने सल्लाह थियो । रामगङ्गा, काली, भागीरथी, गोरी, यमुना, सरयु छ दिदी तोकिएको समयमा उपस्थित नभएपछि कोशी बहिनीले छोडेर आफैँ गइन् । बहिनी कोशीले नपर्खी गएकी कारण कोशीलाई सबै दिदीले रिसाही, प्रेमहीन अनेक प्रकारले गाली गरे । बिहारमा कोशी पागल जस्तो भएर बग्ने भएकोले, कोशीलाई बिहारको दुःख पनि भनिन्छ । कोशीलाई दिदीबहिनीको पाप लागेको विश्वास बिहारमा गरिन्छ ।
हाम्रो सम्पदा सप्तकोशी नेपालको प्रख्यात नदीको नाम हो । सप्तकोशी जसमा; सुनकोशी, तामाकोशी, लिखु, भोटेकोशी, दुधकोशी, अरूण, तमर सात नदी मिसिन्छ । हामीले देशको विकासमा सप्तकोशीलाई भरपूर प्रयोग गर्न सकेको अवस्था छैन । केही घनमिटर पानी चतराबाट सुनसरी विराटनगर नहर भारत सरकारको सहयोगले लगिएको छ । अन्यथा प्रत्येक वर्ष नदीले नेपालीलाई रुवाएको छ । यो नदीको भरपूर प्रयोग भारतले गरेको देखिन्छ । भारत–नेपालले १९५८–१९६२ सम्ममा विशाल पुल भारतको भिमनगर र नेपालको भारदहमा बनेको छ । नदीको नाम हिन्दु धार्मिक कथाको आधारमा राखिएको देखिन्छ । कोशी नाम नेपाली खस भाषाको शब्दकोशमा केही ब्राह्मणहरूको काशी वंशीय गोत्र भएको पाइन्छ । जस्तै; रेग्मी, पौडेल, रायमाझी, खतिवडा आर्य समूहको वंश गोत्रसँग कोशीको इतिहास भएको देखिन्छ । अन्य किम्बदन्ती कथा कोशी नदीसँग जोडिएका छन् । कुशा नाम गरेका कौशिक थिए । एक दिन सिकार खेल्दै वशिष्ट ऋषिको कुटीमा पुगे । वशिष्टले कामधेनु गाइसँग सहयोग मागी पाहुनालाई मिष्टान्न खानाले सत्कार गरेछन् । खडेरी परेको समयमा पृथु राजाले कामधेनुसँग सहयोग मागेछन् तर पृथ्वीलोकमा पानीको सहयोग पाएनन् । राजाले गाईलाई मार्नलाई खेदे छन् । मार्ने डरले उनै राजाको स्वास्नी भएर कामधेनु बासिछन् । यसरी उनै कौशिक राजाको नामबाट कोशी नाम भएको भारतीय हिन्दुहरूको अलौकिक कथन भएको पाइन्छ ।
नाम कसलाई जरुरी छ
जे होस् ! उदार राजनीतिक समाजवाद तथा भौतिकवादी युगमा बहुभाषी बहुधार्मिक समाजको हामीले सम्मान गर्न‘ पर्छ । अन्यथा कुनै पनि जैविक समाजले मौलिक रूपमा बाँच्न सक्दैन । ठुलो मूर्खता ठहरिन्छ । राजनीतिक शक्ति मानौँ मानवतावादको अगाडि मिथ्या हुन सक्छ । हाम्रो अन्तरजातीय अन्तरधुलित हिन्दु समाजभित्र राजनीतिक, आर्थिक, धार्मिक सयौँ विभेद यथावत् छन् । पूर्वका अन्य समुदायका मानिसले भनिरहेका छन्, किराँतीले हामीलाई माया गरेर बस्न दिएका हुन् । स्वयम् नेपालका धरोहर प्रसिद्ध कवि प्राडा अभि सुवेदीले आफ्नो इतिहासमा भनेका छन् तर आज समय बदलिएको छ । भौतिकवादी विज्ञान र विश्व भूमण्डलीकरणको प्रभावमा हामी छौँ । हाम्रा लोककथाले मानौँ अब खान लाउन सम्भव छैन । त्यसभित्र हामी आजको विकास खोजिरहेका छौँ । विज्ञानको युग सत्यपरक हुन्छ । भौतिक विज्ञानको अगाडि अध्यात्म विचारलाई पूर्ण स्वीकार गर्न सकिन्न । आध्यात्मिक विचारले मानिसको भौतिक अन्तर इच्छाको आवश्यकता पूर्ण गर्न सकेन । त्यसपछि भौतिकवादी विज्ञानको उद्विकास भयो । त्यसभित्र संसारमा सभ्यताको विकास भयो । यो वैज्ञानिक सत्य, प्रदेश नं १ को नामकरणमा लागु हुन्छ ।
२०३० सालसम्म पूर्वका मानिसले जग्गा कर टिप् रसिद वोल्लो किराँत, माझ किराँत र पल्लो किराँत सुब्बा, राईलाई बुझाएको प्रमाण छँदै छ । किराँतीको घरमा कुनै चाडमा हिन्दुहरूले घिउ चिउरा केरा बोकेर सम्मान गर्ने परम्परा तीसको दशकसम्म थियो । २०२१ सालको भूमिसुधारले जमिनसम्बन्धी अधिकार किराँतको समाप्त गरेको थियो । त्यसपछि राज्यमा किराँतको अस्तित्व लोप भयो । कोशी निर्जीव अध्यात्म चिन्तन हो । किराँत नाम आजको आधुनिक नेपालको भौतिकवादको जग हो । विकास पहिचान, गौरव सम्पूर्ण किराँत भूगोलमा बस्ने जातजातिलाई चाहिएको छ न कि निर्जीव खोलालाई हो ? किराँत प्रदेश भएमा कसैले मात्तिनु पर्ने कसैले अपमान ठान्नु पर्ने अवस्था देखिँदैन । किराँत प्रदेश नभएमा सिङ्गो देशले अपमान भएको अनन्तकालसम्म रहिरहने छ । जनताको विचारलाई उचाल्न पर्छ, दमनबाट कसैको अन्त्य हुँदैन । नेपालमा जनताको आवाजलाई कुनै बन्दुकले छेक्न सकेन । तसर्थ राजनीतिक रूपले लोकतन्त्रमा वैधानिक समाधानको उपाए खोजिन पर्छ । २०७२ को संविधानले कल्पना गरेको पहिचानको आधार र सामथ्र्यका आधारमा प्रदेशको नामाङ्कन हुने छ भनिएको सम्मान हुने छ ।