मौसम खुलेका बेला काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लंदै गरेका पर्यटकले खिच्ने फोटोको पहिलो ‘क्लिक’ उत्तरतिर लहरै देखिने हिमालको हुन्छ । भक्तपुरको नगरकोट डाँडामा पुग्ने बाह्य हुन् वा आन्तरिक पर्यटक तिनीहरूले हेर्ने दृश्य भनेकै हिमाल हो । चाहे हवाईजहाज चढेर आएका हुन् वा मोटर चढेर नेपाल भित्रेका सबै पर्यटकले नेपाल आएर हेर्न चाहने पहिलो दृश्य हुन्छ हिमाल । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नेपाली भू–भागको सबैभन्दा उत्तरमा अविछिन्न रहेको हिमाल नेपालको धेरथोर उचाइ भएको ठाउँबाट स्पष्ट देख्न सकिन्छ ।
काठमाडौँ उपत्यकाबाट ढाका टोपी लगाए झैँ देखिने लाङटाङ होस् वा पोखराका तालहरूमा आफ्नो प्रतिविम्ब सजाएको माछापुच्छ्रे । चाहे त्यो सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट देखिने जुगल हिमाल होस् या दोलखाबाट देखिने गौरीशङ्कर हिमशृङ्खला । विश्वभर नेपालको नाम फैलाउने सर्वोच्च शिखर सगरमाथा नै किन नहोस् नेपालका सबै हिमालले कुनै न कुनै रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रिय आगन्तुकलाई दशकौँदेखि लोभ्याइरहेका छन् ।
गीतकारले गीतमा, कविले कवितामा, फोटोग्राफरको फोटोमा र स–साना श्रव्यदृश्य सामग्रीदेखि विश्वप्रसिद्ध चलचित्र निर्माताले चलचित्रमा नेपालका सगरमाथालगायत विभिन्न हिमाल र हिमालको हिउँमा घाम पर्दाको मनमोहक दृश्यलाई मुक्तकण्ठले समेटेका छन् । यी सबैका पछाडिको एउटै कारण हो हिमालमा परेको हिउँ । अग्ला हिमालका शिरदेखि फेँदीसम्म हिउँदभर परेको बाक्लो हिउँमा सूर्यका किरण पर्दाको मनमोहक दृश्यले जो कोहीको ध्यान खिच्छ । यदि त्यो हिउँ नभएर काला पहाड मात्रै हुँदा हुन् त तिनै हिमाल कति नराम्रा, डरलाग्दा र उजाड देखिन्थे होला । हिउँ भएकै कारण हिउँ छिचोलेर हिमाल आरोहण गर्न आउने मान्छे किन आउलान् ? हिउँको भारीले आकर्षक भएका हिमालमा हिउँ नै नभएपछि रित्तिएको काला पहाडको तस्बिर खिच्ने रहर कस्लाई लाग्ला र ।
एकै क्षण सोच्दा मात्रै पनि नरमाइलो लाग्ने हिमालको यस्तो कल्पनाविम्ब पछिल्लो समयमा बिस्तारै यथार्थमा हाम्रै आँखाअगाडि झल्याकझुलुक देखापर्न थालिसकेको छ । मानवीय क्रियाकलापका कारण उत्सिर्जित हरितगृह ग्यास वायुमण्डलमा हाबी भएर पृथ्वीबाट परावर्तन भएका सूर्यका किरणलाई बाहिर जानबाट रोकेपछि पृथ्वीको तापक्रम बढेर गइरहेको विश्वव्यापी रूपमा पुष्टि भइसकेको छ । प्राविधिक भाषामा विश्वव्यापी तापमान वृद्धिका कारण भइरहेको जलवायु परिवर्तन भनिने यो प्रक्रिया छिटो छिटो भइरहेकोले यसको स्पष्ट प्रभाव हाम्रा हिमालमा देखिन सुरु भइसकेको छ ।
कुनै जमानामा बाह्रैमास बाक्लो हिउँसहित दन्तलहर झैँ सेताम्मे देखिने हिमालमा अहिले अलिअलि हिउँ र धेरैजसो कालो चट्टान धेरै देख्न पाइन्छ । हिउँदबाहेक पनि पहाडी र तराई भेगमा पानी पर्दा उच्च हिमाली भेगमा हिउँ पर्ने भएकाले हिमाली शिखरमा बाह्रैमास हिउँ रहनुपर्ने हो, जुन केही वर्षअघिसम्म कायम थियो । पछिल्ला वर्षमा भने जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै हिउँ पग्लिने क्रम तीव्र हुँदा हिमाल क्रमशः हिउँविहीन बन्दै गइरहेको जानकार बताउँछन् ।
वर्षौंदेखि हिमाल आरोहणसम्बन्धी आरोह अवरोह खेपिरहेका शेर्पा समुदाय, नियमित हिमाल आरोहण गर्ने आरोही, बर्सेनि नेपाल घुम्न आउने पर्यटक वा हिउँ खेल्दै हुर्केका स्थानीय सबैले हिमालमा हिउँ पर्ने क्रम घटेको, छिटोछिटो हिमगलन भइरहेको र हिमालमा हिउँ भन्दा धेरै कालो चट्टान देखिन थालेको बताइरहेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बु जिल्लाको नाम्चेबजार र स्याङ्बोचे क्षेत्रसम्म हिउँदमा हिउँले ढकमक्क हुने गरेकोमा गतवर्ष मध्य हिउँदसम्म ती क्षेत्र त परै जाऊन् ती क्षेत्रबाट देखिने हिमालका टुप्पामा समेत हिउँ नपरेको समाचारले सञ्चारमाध्यममा प्राथमिकता पाएका थिए । त्यसै गरी सिन्धुपाल्चोक, दोलखा, पोखरालगायत क्षेत्रबाट देखिने हिमालमा बर्सेनि हिउँ कम भइरहेको र काला पहाड धेरै देखिन थालेको व्यहोराका समाचार र तस्बिर केही वर्षदेखि सञ्चारमाध्यमको प्राथमिकतामा परिरहेका छन् ।
नेपालले हरितगृह ग्यास उत्सर्जन हुने वातावरण विरोधी उद्योग, कलकारखाना वा कुनै पनि क्रियाकलाप नगरे पनि विकसित देशले गरेको उत्सर्जनका कारण भइरहेको जलवायु परिवर्तनको असर भने नेपालका हिमालले भोगिरहेका छन् । सरकारी तथ्याङ्कअनुसार विश्वले १ डिग्री सेल्सियस तापमान वृद्धि खेप्दै गर्दा नेपालका उच्च हिमाली भेगमा त्यसको प्रभाव १.८ डिग्री सेल्सियस बराबर पर्दछ । यसको सोझो अर्थ हो नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका कारण हिमगलन सोचे र आकलन गरिएभन्दा तीव्र रूपमा भइरहेको छ । त्यसैले त १५–२० वर्ष अघि जस्ता हिउँ नै हिउँले भरिएका हिमाल अहिले छैनन् । भरिभराउ हिउँले देख्दै सेताम्मे र त्यसैमा सूर्यका किरण पर्दा देखिने सुनौला हिमशृङ्खलाको दृश्यको बिचबिचमा अहिले बग्रेल्ती काला पहाड देखिन्छन् । यसअघि हिउँको थुप्रोमा पुरिएर कहिले नदेखिएका र देख्दै उराठ लाग्ने खालका काला चट्टान स्पष्ट देखिँदै जाँदा हिमालको टुप्पोमा मात्रै हिउँ र तलतिर सबै सिङ्गै अजङ्गको कालो पहाडसहितको हिमालको नयाँ आकृति अहिले सामान्य बन्दै गइरहेको छ ।
जलवायु परिवर्तन र यसको प्रभाव अनि आगामी भविष्यको विषयलाई मसिनो ढङ्गबाट नहेर्ने वा त्यस विषयलाई बेवास्ता गर्नेका लागि यो खासै संवेदनशील विषय नहोला तर जलवायु परिवर्तनको असर सोझै हाम्रा हिमालमा पर्नु र फलस्वरूप हिउँ घट्दै जानु सामान्य कुरा होइन । हिमालमा हिउँ भएर त हाम्रा हिमाल आकर्षक देखिएका हुन् अनि हिमालमा हिउँ छ हिमाल आरोहण गर्न बर्र्सेनि लाखौँ रुपियाँ तिरेर आरोहीहरू नेपाल आउँछन् । हिमालमा हिउँ छ र त्यसको दृश्यावलोकन गर्न पहाडी र हिमाली क्षेत्रमा पर्यटकको घुइँचो लाग्छ ।
त्यति मात्रै होइन, हिमालमा हिउँ छ र त हाम्रा नदीनालामा पानी छ । तिनै नदी नालामा आधारित जलविद्युत्ले तपाईं हाम्रो घरमा बिजुली बल्छ । त्यहीँ हिउँ पग्लेर बगेका नदीनालाबाट हाम्रा लाखौँ हेक्टर खेतीयोग्य जमिन सिञ्चित छ र हाम्रा फाँटमा अन्नपात फल्छ । त्यहीँ नदीको बहावमा -याफ्टिङ सञ्चालित छ । हिमाल हेर्न होस् वा आरोहण गर्न या नदीनालामा आश्रित विद्युत्, अन्नपात उब्जनी वा जलपर्यटन आदिका लागि हाम्रा हिमालमा हिउँ हुनै पर्छ ।
यतिबेला त्यहीँ हिउँ कम पर्ने, भएको हिउँ तीव्र रूपमा पग्लिने र हाम्रा हिमाल नङ्ग्याउने हाम्रो शत्रु जलवायु परिवर्तन हुन पुगेको छ । समयसँगै भइरहेको विकास र परिवर्तनलाई ध्यान दिँदा जलवायु परिवर्तन ठ्याप्पै रोक्न त सकिँदैन तर जति असर हाम्रा हिमालमा प-यो परिसक्यो अब बाँकी हिउँ र हिमाललाई क्षय हुन नदिन जलवायु परिवर्तनको असर कम गर्नतर्फ प्रयास भने गर्न सकिन्छ ।
जलवायु परिवर्तन कतिसम्म भइसकेको रै’छ भनेर सन् २०२२ का केही विश्वव्यापी घटनाले थप पुष्टि गरिसकेका छन् । बिबिसीकाअनुसार सन् २०२२ मा संसारभरि नै तापक्रमले नयाँ रेकर्ड कायम ग-यो । जुलाई महिनामा बेलायतमा ४० डिग्री सेल्सियस भयो भने त्यहीँ अवधिमा युरोपभरि, पाकिस्तान र चीनमा गर्मीले रेकर्ड ब्रेक गर्दै जनजीवनमा खैलाबैला मच्चायो । विश्वभर तातो हावाबाट बालबालिका र जोखिम समुदाय जोगाउन तत्कालै कदम चाल्न युनिसेफले चेतावनी जारी ग-यो । संयुक्त राष्ट्रसङ्घले अफ्रिकासहित विश्वभरका हिमनदी जलवायु परिवर्तनका कारण सन् २०५० सम्ममा हराएर जाने चेतावनी दियो । संयुक्त राष्ट्रसङ्घको विश्व सम्पदा सूचीमा रहेका एकतिहाइ हिमनदी तीन दशकभित्र पग्लिने युनेस्कोको प्रतिवेदनले देखायो । त्यस्तै जलवायु परिवर्तनको प्रभाव र प्राकृतिक समुद्री उतार–चढाव दुवैको संयुक्त अध्ययनले बढ्दो समुद्री सतहका कारण एसियाका ठुला सहरको भाग सन् २१०० सम्ममा पानीमुनि हुन सक्ने खतरा औँल्यायो ।
जलवायु परिवर्तनले विश्वलाई सोच्न बाध्य बनाएका यीलगायत विषय, मुद्दा र घटनाबारे गत वर्ष इजिप्टको शार्म अल शेखमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय विश्व जलवायु सम्मेलन (पक्ष राष्ट्रहरूको २७ औँ) ले मानिसले अब आफ्नो ग्रह सुरक्षित राख्न र बाँच्न ‘सर्भाइभल गाइड’ (जीवित रहने मार्गनिर्देशिका) जारी ग-यो ।
जलवायु परिवर्तनको असर कम गर्न विश्वव्यापी रूपमा यत्तिको पहल भइसक्दा नेपालको पहल भने जलवायु सम्मेलनमा भाग लिन जाने, आफ्ना कुरा राख्ने र फर्केपछि अर्को सम्मेलन कुर्नेमा मात्रै सीमित देखिन्छ । एक दशकभन्दा अघि नै नेपालले कालापथ्थरमा मन्त्रिपरिषद् बैठक राखेर ‘जलवायु परिवर्तनको असर हिमालमा परेको छ, हाम्रो मुद्दा सुनुवाइ गर’ भनेर केही हदसम्म विश्वमञ्चको ध्यान खिचेको थियो ।
त्यसयता विश्वका अन्यत्र हिउँ पर्ने क्षेत्रका मुद्दाले सबैको ध्यान खिच्ने गरी बर्सेनि चर्चा पाउँदै गए । समुद्र भएका देशले समुद्री सतह बढेका मुद्दा उठाए । घनाजङ्गल भएर डढेलोका घटना भोगिरहेका देशले डढेलोका मुद्दा उठाए । त्यस्तै प्राकृतिक प्रकोप बढिरहेका देशले आफ्ना मुद्दा र माग विश्वसामु दृढतापूर्वक राखिसके तर नेपालले कुनै बेला आफ्नो अस्तित्व र पहिचान बनाएको हिमालका मुद्दा न कसैले सुन्यो, न ती मुद्दामा कसैले ध्यान नै दियो ।
जनजीवन, जीविका, खेतीपाती, पर्यापर्यटन, विद्युत्, सिँचाइ आदिलगायत प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपालको पहिचानसँगै जोडिएको हिमाल र हिमालको अस्तित्वसँग जोडिएको हिउँको मुद्दा अब पनि उठाउन र विकसित देशका व्रिmयाकलापका कारण हाम्रा हिमाल रित्तिदै छन् भनेर ती देशलाई स्विकार गराउन सकिएन भने कुनै दिन न हिमालमा हिउँ रहने छ, न नेपालीको पहिचान, हिमाल ।
विकसित देशहरू अनूकूलनमा गइसकेकोले तिनीहरू बदलिँदो र बढ्दो तापमानमा बाँच्न सक्षम हुने हुँदा तापक्रम वृद्धिलाई रोक्ने वा कम गर्नेतर्फ उनीहरूको चासो रहँदैन । यस्तोमा तापक्रम बढेको बढ्यै हुँदा हाम्रा हिमालको हिउँ तीव्र रूपमा पग्लिएर हिउँ सदाका लागि विलुप्त भइसक्दा पनि हामी टुलुटुलु हेर्नुसिवाय अर्को विकल्प नहुने अवस्था आउन सक्छ ।
यसर्थ नेपाल सरकारले बेलैमा हिमाल जोगाउन राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा आवाज बुलन्द गर्नुको विकल्प छैन । नत्र इतिहासदेखि नेपाललाई विश्वमा चिनाएको हिमाल हाम्रो आँखैअगाडि विलुप्त भएर भावी सन्ततिले ‘हाम्रो देशमा कुनै समय हिमाल थिए, र ती हिमाल आरोहण गर्न र हेर्न पर्यटक आउँथे रे’ भनेर इतिहासमा पढ्ने दिन नआउला भन्न सकिन्न ।
लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।