विराटनगरमा मदनप्रसाद अर्याललिखित एउटा पुस्तक पाइयो । शीर्षक : ‘ऐतिहासिक विमान अपहरण २८ जेठ २०३० (१० जुन १९७३) । पुस्तकमा आइएसबिएन नम्बर छ । मनमा इतिहास जाग्यो, केन्द्रबिन्दुमा निःसृत घटना मौलाए । पुस्तकमा छ, विराटनगर–काठमाडौँ शानेवानि विमान अपहरण सूत्रपात ! सुराकी को थियो र उसबिना सम्भव थियो थिएन, प्रश्न अहिले गौण भइसके । सेरोफेरोमा यिनै तथ्य खोतलिन्छन् ।
त्यो बिहानी म र मेरा दौँतरी यिनका माइला दाजु आनन्दलाई भेट्न पुगेका थियौँ । यी पनि टुप्लुक्क आइपुगे, यिनको बोलाउने नाम चुनु । यिनका ठुल्दाजु विनोद । विनोदको अर्कै कथा छ । यी सात सालका बमकाण्डमा मावली दाजुु बद्रीसँग परेका । यिनको एक हात छैन भने स्वर्गीय बद्रीको गुप्ताङ्ग थिएन । अर्याल दाजुभाइका आआफ्नो आवास एकै थलो पैतृक अंशभागमा खडा छन्, न्युरो अस्पतालपूर्व जहदा, धर्मबाँध जोडिने मार्ग ।
यो खलकको मावली हजुरआमाका माइती बराल हुुन् । उहाँ मेरो बुवाका हातबाट टीका थाप्न दसैँमा हाम्रो तीनटोलिया आवास आउनु हुन्थ्यो, हाम्री काइँली दिदी । अर्याल परिवार हामी मावलीलाई जिबा भनेर बोलाउने गर्छन् । मेरा ठुला हजुरबुवाका नाति मनोहरि (मेरा सम्मानित दाजु, स्वर्गीय) पछिसम्म पनि जिबाका नामले कांग्रेसमा विख्यात हुनुहुन्थ्यो । विनोद र मनोहरि दाजु गिरिजाबाबुसँग सात सालअघिबाटै जीवनपर्यन्त गाँसिनु भयो । मदनका कान्छा भाइ अमृत हाल एक नं. प्रदेशका कांग्रेस सांसद हुनुहुन्छ ।
विमानको पाश्र्व चर्चा
चुनु राष्ट्र बैङ्कका कर्मचारी बन्नुअघि अनौपचारिक तवरमा त्यहाँ पस्थे एक मित्र भेट्न । मित्रलाई यदाकदा कामले भ्याई नभ्याई भए उनी ‘लेजर पोस्टिङ’ गरी सघाउँथे पनि । एक पटक एक कर्मचारीले अनकन्टारका गाउँलेलाई त्रुटिवश दस हजार रुपियाँ ‘ओभर पे’ गरी दिएछन् । यो सानो रकम थिएन । बिच राति केही बैङ्क कर्मचारी जिप गाडीमा यिनका घर आए र यिनको नाम काढेर बोलाउन थाले ! सुनेर बिउँझे, सबै ज्ञान भयो । रैथानेका नाताले लगत्तै उनीहरूसँग गाडीमा हाँकिए । अनुमानमा गाडी रङ्गेलीको धुलेबाटोतिर लाग्यो । चकमन्न मध्यरात, मान्छे हैन डाँका हिँड्थे ! लोहन्द्रा नदीमा गाडी तान्दै, घच्याट्दै पारि अझ पूर्व लागे । गाउँ, ठाउँ र अनुमानमा घर पैल्याए । सही निस्कियो ! रकम तत्काल उकासियो । कर्मचारीका निम्ति यो सानो सफलता र उन्मुक्ति थिएन । चुनु पत्यारिला, सरल र सङ्गतयोग्य थिए, बैङ्क प्रमुखका नजरमा परे, उनले त्यहीँ जागिर पाए ।
अपहरणको घडी – भारु ३० लाख लिएर काठमाडौँ उडेको यात्रु विमान ! उति नै खेर यो समाचार विराटनगर बजारमा उड्यो । उति खेर दूरसञ्चारमा टेलिफोन कमैका घरमा हुन्थे । मलाई मुखैमुखको समाचार थियो, अपहरणकारीमा मनोहरि दाजुको
नाम ! यता बजारमा खैलाबैला, विमान नहरै नहर उडाएर लगियो रे ! हाम्रातिर कोशीको मूल नहर चतराबाट हुँदै शाखाहरू सुनसरी, मोरङ हुँदै उत्तरपूर्व हुँदै दक्षिण कोरिएका छन् । उता हिन्दुस्थानतिर मूल नहर भीमनगर ब्यारेज (बाँध) बाट पूर्व दक्षिण फारबिसगन्ज हुँदै गएको छ । उतातिर यो कोशीको ठूलै भँगालोसरि छ । यो नहर प्रणाली हिन्दुस्थान सरकारको विहार रिभर भ्याली प्रोजेक्ट अन्तर्गत बनेको हो ।
विमान फारबिसगन्जपारि दक्षिण एक खुला चौरमा झारियो ! अपहरणकारीका हातमा बम थिए ! ज्यानको त्रास, पाइलटको केही सिप चलेन । यात्रु त्राहिमाम्, आदेश भयो, आआफ्नो सिटमा बसिरहने ! अपहरणकारी तीन जना – दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुङ्गेल, बिसपच्चिसे लैन छोकडा । विमान चौरमा उभियो, पङ्खा निरन्तर घुमी रहे । तीन वटा बक्सा खँदारेर झारिए । बक्सैपिच्छे भारु दस लाख । घिसार्दै, खँदार्नेमा मनोहरि दाजु – जिउडालमा अग्लो, दोहोरो आङको । हतार हतार दोक्र्याउँदै ढ्याङग्य्राङ्ङ बजार्दा यौटा बक्साले उहाँको यौटा खुट्टाको बुढीऔँलासमेत किचिक्कै पारेछ ! मलाई उहाँले यो घटनाको झन्डै दस वर्षपछि सुनाउनुभएको थियो । बक्सासँग एक–दुई टोकरी आँपसमेत झरे रे ! झारी सक्नासाथ विमानलाई उडी हाल्ने आदेश भयो !
चौरमा केही पर्तिर रुखछहारीमा यौटा हिन्दुस्थानी जिपअघि नै खडा थियो । बिग्रेको निहुँमा चालकले कैले बोनट, कैले कता ठाकठाक ठुकठुक गर्दै पुर्जाहरू मर्मत गर्ने स्वाङ पारिरहेको । बक्सा त्यसै जिपमा राखिए । त्यहाँ सुशील कोइराला (पूर्वप्रधानमन्त्री), विनोदप्रभृति अरू थरी पनि थिए । पछि ती बक्सा कुुनै दार्जिलिङतिर र कुुनै दक्षिण, कता कता घुइँक्याइए रे ! मनोहरि दाजुले भने अनुुसार यसमध्ये केही रकम भर्खरै जन्मेको भूगोल ‘बङ्गलादेश’ बाट हातहतियार किनेर ट्रकमा नेपाल भिœयाउने जमर्को थियो । दलखोला (पश्चिम बङ्गाल र बङ्गलादेशको सिमाना ?) मा हिन्दुस्थान सरकारले जफत गर्न भ्याएछ !
सुराकी चुनुको अन्तर्कथा र अन्तव्र्यथा
एक देशबाट अर्को देश, आकासै फेरिएर भएको डकैती ! यो आफैँमा विस्मयकारी र चमत्कारी थियो । अपहरणकारीले कसरी सुइँको पाए र यस्तो मिलाए त ? सोही विमानमा यात्रु र यस्ता ठुल्ठुला रकम सँगै जान्थे । यात्रुमा न विमानले नगद बोकेको सुइँको, न केही चासो । अतः प्रश्न उब्जिन्छ – कसरी, कुन दिन वा के, कति गोप्य तवरमा विमानले यो बोक्थ्यो ! कर्मचारीबाहेक यसको सुइँको अरू कसलाई हुने ?
अपहरण भनेको विमान गन्तव्यमा खुत्रुक्क ओर्लेसरह हैन । यथार्थ यहाँदेखि प्रारम्भ छ । निःसन्देह यसमा एकातिर नगद जाँदै छ भन्ने पूर्वज्ञान, अर्कातिर अपहरणको पूर्वतयारी थियो । यो बैङ्कले अत्यन्त गोपनीय तवरले सङ्केत र कूटभाषामा आफ्नै
कर्मचारीसम्मलाई सुइँको नदिई गराउँथ्यो । तथापि कसले भेद खुस्कायो त ? सकसक र खुलदुली यसैमा छ ! किटान भने गर्न सकिन्छ, यसमा कोही अन्तरङ्ग कर्मचारी थियो । जस्तो नगद स्थानान्तरण गोप्य, अपहरण पनि उस्तै एक अत्यन्त गोप्य षड्यन्त्र थियो र एक दिनको हैन, अनेकौँ दिनअघिको । अपहरणकारी आफैँ पनि कुनै तालिमप्राप्त दस्यु थिएनन्, विमानभित्र हातका बमले उनमा कठोर दुस्साहस थियो– कि मरियो, कि काम फत्ते गरियो !
यसै खुल्दुलीमा छ चुनुको पाश्र्व भूमिका । तथ्य उनैको पुस्तकले प्रस्ट्याउँछ र षड्यन्त्रको प्रारम्भ देखाउँछ । अनि उनै किन मिसिए त ? यसका एकभन्दा बढी कारण हुन सक्छन् । १) त्यहीँका कर्मचारी, २) त्यही दिन नगद जाँदै छ भन्ने ज्ञान, ३) घरपरिवारमा राजनीतिप्रति चासो । उनमा राजनीतिप्रति झुकाव वा चासो थियो, थिएन भन्ने प्रश्न यहाँ गौण छ । मूल कुरा बरु के हो भने यी कोइराला निवास आउने जाने गर्थे, सहचरी प्रकाश, नीरञ्जन, सुजाता भेट्थे । अतः यिनलाई अपहरण षड्यन्त्रमा फस्न, फसाउन वा फन्दामा पर्न उति गाह्रो पनि भएन ! यसरी गोपनीयता चुहुनुमा उनीबाहेक अर्को कोही सम्भव थिएन ।
तथापि संयोग कस्तो थियो भने उनको र यो नगदसम्बन्धी कार्य ओल्लोपल्लो कोठाबाट हुने गर्थे । यसमा कार्यालय प्रयोजनको आफ्नै सङ्केत र कूटभाषा थियो । जोडिएको कोठा थियो, बिनापरिश्रम ती गुह्य सबै आफैँ अथ्र्याउनेसमेत भएछन् ! यी प्रमुखका अनन्य विश्वास पात्र पनि थिए । यी भने यस पटक नुनको सोझो चिताउनतिर लागेन छन् ! उनी आफैँ बोल्छन्, यो एक राष्ट्रघात थियो ! अपहरण काण्ड मच्चियो, केही कालमा शान्त पनि भयो । तथापि धेरै पछिसम्म उनको अन्तर्हृदय उद्वेलित भइरह्यो, र मनले लिइरह्यो, ‘राष्ट्रघात !’ अन्ततः निर्दोष प्रमाणित भएर पनि यसै उद्वेलनमा उनले जागिरलाई तिलाञ्जली दिए । उनको जागिर ०३४ सालसम्म कायम थियो ।
सुनेँ, चुनु झ्यालखानामा छन् ! तथापि उनी कहाँ, कुन झ्यालखानामा छन्, न मेरो चासो, न सोधीखोजीको विषय । उति बेला सरकारी दृष्टिका अपराधी भेट्न त परै जाओस्, सोधीखोजी गर्नसमेत डरमर्दो थियो । तथापि चर्चा भई रहन्थे, कोही भन्थे – चुनु निर्दोष हैनन् । फेरि कोही भन्थे – चुनु सर्वथा निर्दोष छन्, उनलाई बिनासित्ति यातना दिइँदै छ ! नत्र त्यत्रो नगद ओसार्दा सुरक्षाकर्मी चाहिँ नराख्ने अनि उनको के दोष ?
पक्राउदेखि उत्पीडन, अन्तव्र्यथा र कथा छन् उनका पुस्तकमा । उनी समातिएर भद्रपुरदेखि काठमाडौँ भद्रगोलसम्म थिए झ्यालखानामा ! उनका शरीरमा सेनाका लातबुटका निर्मम घात भए ! मध्यराति राजमार्ग पूर्वी जङ्गलमा सेनाले गोली ठोकेर मार्नै खोजे ! उनी भन्छन्, कसरी, कहाँ कहाँ र कस्ता कस्ता सङ्घातमा उनले ज्यान जोगाउन सके । तथापि विधिको विडम्बना, कि उनैलाई थाहा होला वा सुनेर अश्रुभेलका निर्दोष जहान परिवार र उनका आफन्तजनलाई ! अरू कति कतिलाई उनीप्रति सहानुभूति थियो रे ! अर्घेलो हुनु र भोग्नु त आखिर उनैले प¥यो !
अपहरणको सूत्रपात
सूत्रपात यसरी भएछ ! पारिपट्टिबाट गिरिजाबाबु (पूर्वप्रधानमन्त्री)ले भेट्न आऊ भनेर सन्देश पठाउनु भएछ । प्रस्ताव आयो, “नगदको सुराक देऊ !” यिनले भने, “नाइँ, यस्तो गर्न सक्तिनँ !” केही अन्तरालमा फेरि सन्देश आयो । अब दोस्रो भेट भयो । दुवै पटक परामर्श र षड्यन्त्र कक्ष भने अचम्मको र उही थियो – जोगबनी रेलवे प्लेटफार्ममा ‘सन्टिङ’ को रेलडिब्बा । भेटमा दुवै पटक उही तीन जना – गिरिजाबाबु, भाउजू नोना र एक सामान्य कार्यकर्ता प्रदीप ओझा ।
दोस्रो पटक चुनु चिप्लिए ! उनले सुइँको नदिएर अपहरण गर्न नसके हिन्दुस्थानमा भागेर बसेका दसौँ हजार कार्यकर्ता भोकभोकै मर्ने छन् । औँलामा गनिएका नेता त येनकेन पालिन्थे र ज्यान जोगाउँथे रे, ती दसौँ हजारको भने परदेशमा दुर्दशा थियो, कसले पत्याओस् वा सित्तै पालोस् ! एक जनालाई होटलमा एक छाक खान दुईदेखि तीन रुपियाँ भारु पर्ने । विहार, बनारसतिरको निर्वासन, सबैको अस्तित्व सङ्कटमा थियो । यस्तोमा पञ्चायती शासकविरुद्ध सशस्त्र युद्ध त के यसको कल्पनासमेत एक उपहास थियो । अतः बहुदल नबौरेसम्म कम्तीमा बाँचिरहन सकिने एक यही अपहरण थियो ।
चुुनु अब यतातिर ढल्के । के ठेगान उनका निमित्त विशेष पुरस्कारका वाचाबन्धन थिए र यसको पेटारो खोलिएको हुँदो हो ! तथापि उनी भन्छन्, त्यस्तो केही पनि थिएन । दोस्रो पटक भेटमा गिरिजाबाबुको भाषण पाए रे, धपक्कै आगो बल्ने ! निर्भीक बनाउने यही जन्तर उनले छातीमा भिर्छन्, चिप्लिन्छन् र हाम्फाल्छन् । हो, बिपीबाट सोधनी भएको थियो रे, “यो अपकार्यबापत मैले तिमीलाई के गर्दिनु पर्छ ?” यतिखेर साक्षीमा बिपी (पुत्र) प्रकाश थिए । (अपहरणकै बिहान प्रकाशलाई चुनुले यो हुँदै छ भनेर
थाहा दिइसकेका पनि थिए ।) तर चुनुले केही मागेनन्, भने, “मलाई केही चाहिँदैन !” बिपीले उनको भावनाको कदर गर्दै भन्नुभयो, “तिमी मात्र एक भयौ; जसले मसँग केही पनि चाहेन र अपेक्षा गरेन !”
ल, एकछिनलाई चित्त बुझाऊँ चुनु आँटिला, न आफ्नो, न लालाबालाको, कसैको चिन्ता भएन छ ! त्यो अपकर्मले चुनुमा विपत् वा सङ्कट आइपर्ला भन्ने त्यहाँ कसैले पनि कस्तो अनुमान नगरेका त ? एकातिर त्यत्रो षड्यन्त्र, अर्कातिर न उनको पूर्वपीडाबोध, न भविष्य, न त पूर्वसुरक्षा योजना, कस्तो लेखान्त ! नत्र उनले त्यो हन्डर र गोता खानु पर्दैनथ्यो कि ?
अब दिन वा वर्ष गन्ती नगरौँ ! हेर्दाहेर्दै छयालिस साल र बहुदल आयो ! गिरिजाबाबु प्रधानमन्त्री बन्नुभयो । चुनुलाई बैङ्कको ऋणभार थियो, अब पुस्तक वृत्तान्तमा उनी ब्याज मिनाहा गराउन अनुनय विनय गर्दै हिँडेका छन् । यिनका अन्तर्मनमा स्वाभिमान र आत्मसम्मानले छाड्दैनन्, बरु अझ दृढ बन्छन् । भेट्छन्, मनसाय बुझेपछि भेट्न छाड्छन् । नोना भाउजू र सुजाताले समेत उनीनिम्ति केही नौलो बर्साउन सक्दैनन् । उनी कस्ता त ? षड्यन्त्रमा
लाटा ? सहयोगमा सोझा ? आखिर ऋणभार थेग्न सकेनन् र पैतृक सम्पत्तिका दस कट्ठा जमिन बेचे । सुन्दा कति नराम्रो र
मन कुँडिने ! अहिले गिरिजाबाबु, नोना भाउजू र ती सामान्य कार्यकर्ता प्रदीप ओझा कोही जीवित छैनन् । यता चुनुको
मर्मान्त र मरणान्त ! बहुदलको अध्यात्म र वेदान्त खाएर आँत भरिने जस्तो !
चुनुका पोल्टामा कस्तो आयो त बहुदल ? कैले अर्थमन्त्री महेश आचार्यकहाँ र कैले रामशरण महतकहाँ धाए । यी दुवै अर्थमन्त्री । रामशरणले बैङ्कको कति ब्याज मिनाहा गराइदिए, चुनु नै जानुन् ! महेश आचार्यले उनलाई दिएनन् भन्न मिल्दैन, फरक यत्ति थियो, गिरिजाबाबुको पाँच लाखको तोकमा पचास हजार ! चुनु आखिर कतिसम्म मनकारी रहेछन् भने यिनले सशस्त्र प्रहरी कार्यालय (नेपाल सरकार) निम्ति आफ्नो विराटनगरछेउ गाउँ (बखरी) को अहिले करोडौँ पर्ने चार कट्ठा घडेरीसमेत निःस्वार्थ दान दिए ।
हाल यसैमा सशस्त्र कार्यालय ठडिएको छ । अब बाँकी रहे चुनुका वृत्तान्त र लेखान्त, उनलाई झुटा करार गरे भयो ! गिरिजाबाबु आफैँले निर्वासनकालबारे टिभी प्रसारणमा जीवनी खोल्नुभएको छ, “जाली नोटहरू चलाउन लाएको !” अपहरणको सुइँकोसम्म थिएन रे सुवर्ण शमशेरलाई, उता भने भागेर बसेका कार्यकर्ता उहाँकै थैलीमा बाँचेका थिए । माथि उल्लेख गरिएका कार्यकर्ता प्रदीप ओझा पछि मेरै घट्टेकुलो घर छेउछाउ घरभाडामा छोराका कमाइमा बाँचेका थिए ।
त्यो बिहान चुनुमा शान्ति, सन्तुष्टि, स्वस्थता र घरगृहस्थीका ओज झल्किन्थे । उनको मुहार आत्माभिमान, स्वाभिमान र मुस्कानले टल्किरहेका थिए । हाल उनका एक मात्र पुत्र दमकमा कुनै बैङ्क प्रमुख छन् ! उनका ओज र भाग्यमा योभन्दा अझ गहन र गूढ यथार्थ थियो – धर्मपत्नी धैर्यशीला ‘सुशीला’ का अदम्य साहस र बुई चढेर उनी यहाँसम्म आए ! अहिले म अन्तर्आत्माले राजनीति र सत्ताका सहस्र जिब्रामा अलमलिएको छु !
लेखक अवकाश प्राप्त सहप्राध्यापक हुनुहुन्छ ।