एउटा काग मुखमा मासुको टुक्रो च्यापेर माथि माथि आकाशमा उडिरहेको थियो । एक हुल काग उसको पछि लाग्दै उसलाई खेदिरहेका थिए । काग अरू तीव्र गतिमा उडिरहेको थियो । ऊ धेरै आत्तिइरहेको थियो । परबाट एउटा बाजले उसलाई देखिरहेको थियो । ऊ उडेर कागको नजिक आयो र सोध्यो – किन यसरी आत्तिँदै उडिरहेको ? कागले भन्यो – देखेनौ मेरो पछाडि त्यत्रो हुल काग मलाई लखेट्दै छन् । मैले कसैको केही बिगारी दिएको छैन, मैले आफ्नै मेहनतले खाएको छु । मलाई किन यति धेरै दुःख दिन्छन् सबैले ।
कागको कुरा सुनेपछि बाज हाँस्यो र सोध्यो– किन तिमीलाई एक हुल कागले लखेटेका छन् थाहा छ ? कागले भन्यो, छैन । बाजले भन्यो–हेर यिनीहरूले तिमीलाई दुःख दिन लखेटेका होइनन् । तिमीलाई लखेट्नुको अरू केही कारण छैन । एउटा मात्र कारण छ । त्यो के हो ? कागले सोध्यो । बाजले भन्यो– तिम्रो मुखमा च्यापेको मासुको टुक्रो हो । त्यसलाई मुखबाट छोडिदेऊ त सबै आफ्नो बाटो लाग्छन् । कागले नभन्दै त्यसै ग¥यो, एक हुल काग तितर बितर भएर आ–आफ्नो बाटो लागे । बाजले त्यो कागलाई सोध्यो– अहिले कस्तो महसुस गरेका छौ ? कागले भन्यो– मेरो जीवनका सारा दुःख नाश भएर आनन्द मिलेको जस्तो भएको छ ।
बोध कथा हो, सायद बालककालमा पनि पढियो होला । कथा कत्तिको सत्य होला, आफ्नो ठाउँमा छ तर मानव जीवनका लागि गहिरो बोध गराउन सक्छ । संसारमा मानिस एकको पछि अर्को स्वार्थले लागोस् या प्रेमले, द्वेषले लागोस् या ईष्र्र्याले व्यक्तिको पछि होइन एकले अर्काको अहङ्कारमा चोट दिनको लागि पछि लागेको हुन्छ । व्यक्तिलाई गिराउन होइन, उसको अहङ्कारलाई गिराउन पछि लागेको हुन्छ । अहङ्कारका विभिन्न रूपलाई मनुष्य जातिले पनि छोड्न सक्नेबित्तिकै सबै स्वतन्त्र रूपमा आआफ्नै बाटो लाग्छन् ।
अनि मान्छेलाई मान्छेकै भय रहँदैन । मानिसले जीवनमा कैयौँ अहङ्कारका टुक्रा च्यापेर हिँडेको छ, त्यसलाई छोड्न सक्दैन, त्यसैले उसको जीवनमा भागदौड, भय र हतास छ । काम, क्रोध, लोभ, मोह, ईष्र्र्या र द्वेषको वरिपरि घुमिरहेको अहङ्कारलाई छोडिदिन सके मानिसले दुःख भेट्दैन तर गाह्रो छ अभ्यासमा ल्याउनका लागि । किनकि मेहनत त्यसकै लागि गरेको छ, छुटाउने मेहनत छैन ।
कामको टुक्रो
जसरी हुन्छ यश, सम्मान र प्रतिष्ठा प्राप्त गरौँ भन्ने भाव अर्थात् अपेक्षा नै काम हो । परिणामको ख्याल नगरी तत्कालका लागि पद, प्रतिष्ठा, सम्मान, यश चाहनुको कारण नै अन्ततोगत्वा मानिस दुःखको भुमरीमा परिरहेको पाइन्छ । बाहिरबाट हेर्दा जति पदवान् देखिन्छ, भित्रको दुःख अव्यक्त भएर बाँचेको हुन्छ । राजनीतिक, प्रशासनिक, रोजगारी; जुनसुकै क्षेत्रमा होस्, आफ्नो पद उच्च स्थानको हुनै प¥यो । मेहनत र सहजताले प्राप्त हुञ्जेल धैर्य गर्नै नसक्ने गरी अनेक प्रपञ्च रचेर पाउन चाहने कामनाले मानिस दुःखमा जेलिएको हुन्छ ।
क्रोधको टुक्रो
धैर्यता गुम्नु, होश गुम्नु, आफूले भने जस्तो नहुनासाथ अरूमाथि दोष दिनु र व्रmोध प्रस्तुत गर्नुको कारण मानिस अहङ्कारी छ, दुःखी छ । क्रोध मात्र छोड्ने प्रयास गरे उसको जीवनमा सुख र सफलता मात्र बोध हुन्छ । अधैर्यता र क्रोधमा आएर लिएको निर्णयले जीवनभर पछुताउनुभन्दा आफ्नो अहङ्कारप्रति जागृत हुन सके जीवन सुन्दर बन्ने थियो ।
लोभको टुक्रो
जीवनका अनुभवलाई हेर्दा कैयौँ अनावश्यक काम गरेको छ र अनावश्यक चाहना गरेको छ; जुन उसको आवश्यकता होइन, लोभको कारण हो । आवश्यक भएर होइन, लालचको धारणा नै लोभ हो । त्यो लालच अरूको धेरै देखेर, अरूको राम्रो देखेर, अरूकै प्रतिस्पर्धाबाट उत्पन्न भइरहेको हुन्छ । कैयौँ अर्ति दिन भ्याउँछ, आफूमा भएको लोभको टुव्रmा भने मुखमै च्यापेर हिँडेको हुन्छ, छोड्न गाह्रो हुन्छ । जहाँ लोभ आयो त्यहीँ छोड्न सके कुनै दुख आउँदैन मानिसको जीवनमा । लोभ छोड्यो कि बाँकी सबै सुख नै सुख, सन्तोष नै सन्तोष छ तर समस्या यही हो कि ऊ लोभबाट मुक्त हुन सक्दैन ।
मोहको टुक्रो
जरुरतभन्दा धेरै चाहना, आजलाई छ पुग्दैन त्यसैले भविष्यको जोहो, मोह च्यापेर बसेकै कारण वर्तमानमा दुःखी हुन्छ मानिस । अनिश्चित भविष्यको नाममा वर्तमानको सुख गुमाउने आदतरूपी मोहको टुक्रो मुखमा च्यापेर बस्ने र छोड्न नसक्नेले सुखको कल्पना नगर्दा पनि हुन्छ ।
ईष्र्र्याको टुक्रो
आफूसँग के छ हेर्ने, थाहा पाउने र धन्यवाद व्यक्त गर्न त जहाँसुकै जाओस् अरूको प्रगति, उन्नति र सफलताप्रति चित्त बुझ्दैन, डाहा लाग्छ त्यही ईष्र्या हो । यो स्वभाव मुखमा च्यापेर बस्नाले अरूको केही बिगिँरदैन तर आफ्नो मानसिक अवस्था बिग्रेर जान्छ, तनावमा पुग्न सक्छ व्यक्ति । अलिकति भएको सुख र सन्तोष पनि ईष्र्याकै कारण गुमाउँछ मानिस ।
द्वेषको टुक्रो
अरूप्रति प्रतिशोध साँध्ने अहङ्काररूपी स्वभाव हो द्वेष । क्षमाको भावना नभएपछि, दया, करुणा र प्रेमको अभावमा व्यक्ति प्रतिशोध साँध्न पुग्छ । यस्तो अहङ्कार मुखमा च्यापेर बस्नेले कहिल्यै सुखानुभूति गर्न सक्दैन । अहङ्कार अन्धकारभन्दा पनि डरलाग्दो अवस्था हो मानिसको जीवन विकासमा । बाहिरको अन्धकार त बाहिरै दियो बालेर उज्यालो पार्न सकिन्छ तर भित्रको अहङ्कारलाई सदाचार, सकारात्मकता र सत्यताको खोजले मात्र निस्तेज पार्न सक्दछ ।
अहङ्कारको शक्ति यति खतरनाक हुन्छ कि अब कुनै हालतमा व्यक्ति संयम र सरल हुने सक्दैन । आफ्नो अहङ्कार पोषणका लागि जे पनि गर्न तयार हुन्छ । अहङ्कार तिरोहित भएर निरङ्कारको अवस्थामा नपुगिकन व्यक्तिले कुनै क्षेत्रमा मानवीयताको उदाहरण पेस गर्न सक्दैन । निराकार र ओमकारको अवस्था, शून्यता र अस्तित्वगत आशीर्वादको अवस्थामा पुग्न केवल सरल, सहज, सत्य र प्रेमल भए पुग्छ तर सरल हुन नै कठिन छ मानिसलाई किनकि उसलाई अहङ्कारले ढपक्कै छोपेको छ निरङ्कारको बोध र खोजी गर्न भ्याएकै छैन ।
एक जना व्यक्ति पशुपन्छीलाई अति माया गर्थे, त्यसैले धेरै किसिमका पशुपन्छी घरमै पालेका थिए । उनी पशुपन्छीका भाषा पनि बुझ्दथे । एक दिन कुखुराले कुकुरसँग कुरा गरिरहेको सुने । कुखुराले भन्दै थियो– यहाँ भएको घोडा छिट्टै नै मर्ने छ । ती व्यक्तिले कुखुरा र कुकुरको संवाद बुझे र मर्ने नै छ भने म किन राखूँ यसलाई भन्ने सोचेर घोडा बेचिदिए । अर्को दिन कुखुराले कुकुरसँग भन्यो– अब यहाँको हात्ती मर्ने पालो छ । ती व्यक्तिले यो सुन्नेबित्तिकै हात्ती पनि बेचिदिए । केही दिनपछि कुखुराले कुकुरसँग भन्यो– अब यहाँको नोकर मर्ने छन् । ती व्यक्तिले आफ्ना नोकरलाई पनि बेचिदिए ।
दुई दिनपछि कुखुराले कुकुरसँग भन्यो– तिमीलाई थाहा छ, अब यो घरमा मर्ने पालो हाम्रो मालिकको हो । त्यसपछि मालिकले कुखुराको छेउमा गएर सोधे– अब के गरूँ म ? मलाई सल्लाह देऊ न । कुखुराले भन्यो– मालिक नियम त सबैलाई उही हो अब तपाईं आफैँलाई बेचिदिनुस् । सन्तले यो प्रसङ्गलाई उल्लेख गरेर भन्नुहुन्छ– वास्तवमा मानिसले आफूलाई बेचेर अहङ्कार किनिरहेको छ । मानिसले यो पृथ्वीमा आएर केही नौलो आर्जन गरेको छैन बरु जन्मँदा लिएर आएको गुणवत्ता पनि गुमाएको छ । यति धेरै ज्ञान बाहिरबाट आर्जन गरे जस्तो भयो कि उसले आन्तरिक स्वभाव नै बिर्सेको छ ।
राजा अकबरको आदत थियो– जसलाई भेटे पनि शिर झुकाएर नमस्कार गर्ने, आदर गर्ने । वीरबल प्रधानमन्त्रीलाई यो राजाको चाकडी जस्तो लाग्थ्यो र भन्थे– महाराज हजुर जस्तो मानिसले सबैको सामु शिर झुकाएको मलाई मन परेन । हजुरले कम्तीमा आफ्नो त सम्मान गर्नुस् । अकबरले यसो सोचे र भने– वीरवल भोलि तिम्रो एउटा परीक्षा लिने छु म तिमी सफल हुनु पर्छ नि किनकि वीरबल असफल भएको सुहाउँदैन । भोलि दरबारको पटाङ्गिनीमा एक जना सिपाहीले फाँसी पाउँदै छन् । फाँसीपछि तिनको शिर लगेर बजारमा बेचेर पैसा ल्याएर दिनुपर्ने छ तिमीले मलाई । वीरबलले भने– हस् महाराज ।
नभन्दै भोलिपल्ट मृत्यु भएको सिपाहीको शिर लिएर बजार डुले, कसैले किनेनन् । उनलाई लागेको थियो वीरबलले भनेको कुरा त जनताले मान्छन् । उल्टै सबै पसलेले तपाईं पागल त हुनुभएन प्रधानमन्त्रीज्यू भनेर खिल्ली उडाउन थाले । वीरबल हार मानेर दरबार फर्के, अकबरलाई सबै बेलिविस्तार लगाए । अकबरले भने–देख्यौ त वीरबल यो शिर जुन तिमी कसैको सामु झुकाउन दिँदैनौ नि त्यसको के मूल्य रहेछ त ? यो सब अहङ्कार हो वीरबल । कम्तीमा म जसको सामु झुक्छु मलाई त आदरभाव विकसित हुन्छ, म त खुसी हुन्छु । वीरबलले अकबरतिर हेरर शिर झुकाए र भने– महाराज यो शिर झुकाउनकै लागि रहेछ, नझुक्ने त अहङ्कार मात्र रहेछ ।
लेखक स्वतन्त्र सामाजिक परामर्शदाता हुनुहुन्छ ।