विकास बहुआयामिक र व्यापक अवधारणा हो । बेलायती लेखक ह्युगो स्लिम (१९६१) ले डिभलोपमेन्ट इन प्राक्टिस (१९९५) मा विकासलाई परिवर्तनको प्रक्रिया हो, जुन सधैँ जारी रहन्छ भनेका छन् । ब्लाक ल डिस्नेरीले विकासलाई मानव निर्मित परिर्वतन र सुधार जसमा भौतिक संरचना, भवन, खानी, खनिजको उत्खनन जस्ता कुरा उल्लेख गरेको छ ।
विकास एउटा मानवीय तथा सामाजिक प्रक्रिया हो । विकास निर्माणात्मक (कन्स्ट्रक्ट्रिभ) तथा ध्वंसात्मक (डिस्ट्रक्ट्रिभ) अवधारणामा हुन्छ भन्ने मान्यता छ । मानव समाजको विकास र मानवीय विकास प्रायः निर्माणात्मक नै हुने गरेको छ । प्रजातन्त्र, शान्ति, दिगोे विकास, समृद्धि, सुशासन, नागरिक अधिकार, सामाजिक विकास आदि सबै अन्तरसम्बन्धित विषय हुन् ।
अमेरिकी विद्वान् डेभिड कोर्टेन (१९३७) ले विकासलाई एउटा त्यस्तो अविछिन्न प्रव्रिmया जसमा समाजका सदस्यले तिनीहरूको व्यक्तिगत र संस्थागत क्षमता प्रयोग गर्दै प्राकृतिक र मानव निर्मित स्रोतको प्रयोग गरी आफ्ना लागि दिगो र सम्पन्न उत्पादनमा केन्द्रित हुन्छन् भनेका छन् ।
विकास हरेक मानिसका लागि आवश्यक छ । त्यसैले प्रत्येक सरकारको मूल मुद्दा विकास हुने गर्दछ । अर्थशास्त्री, नीति निर्माता र राजनीतिक नेतृत्वका लागि विकास एउटा गम्भीर र महìवपूर्ण अवधारणा हुन पुगेको छ । शासन र प्रणालीको पहिलो आवश्यकता र प्राथमिकता विकास हुनु पर्छ भन्ने छ । विकास र गरिबी एकअर्कासँग अन्तरसम्बन्धित अवधारणा हुन् । गरिबी, असमानता तथा सामाजिक विभेद तेस्रो विश्वका प्रमुख समस्या हुन् ।
विकासमा मूलतः राष्ट्रिय कुल आयलाई आधार मानिने भए पनि शिक्षाको अवस्था, रोजगारी, पूर्वाधार विकास, राजनीतिक अवस्था, स्थायित्व जस्ता कुरालाई आधार बनाइन्छन् । आयस्तर र गुणस्तरीय जीवन विकासको मापन गर्ने अर्काे माध्यम हो । यसरी समग्रतामा नाप्दा अमेरिकालाई विश्वको पहिलो नम्बरको विकसित मुलुक मानिएको छ भने दोस्रोमा चीन रहेको छ । विकास र समृद्धिको सूचीमा अमेरिका अगाडि रहेको भए पनि सुखीको विश्व मापदण्डमा युरोपका फिनल्यान्ड, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड जस्ता मुलुक अग्रणी देखिँदै आएका छन् ।
विकासका मान्यता
सन् १९४५ को दोस्रो विश्व युद्धपछि विश्वमा आर्थिक विकासलाई प्रमुख मान्न थालिएको देखिन्छ । राज्यहरू पूर्वाधार, निर्माण, उत्पादन जस्ता क्षेत्रमा लगानी गर्दै थप सम्पन्न भए । यसमा मानव स्रोतको विकास र विस्तार अर्काे महत्त्वपूर्ण सिद्धान्त र मान्यता हो । प्रत्येक विकासमा मूल रूपमा मानव नै व्रिmयाशील हुने गर्छ ।
हालैका दशकमा मानव विकाससम्बन्धी अवधारणाले पनि महìव पाएको छ । भारतमा जन्मेका अमेरिकी अर्थशास्त्री अमत्र्य सेन (१९३३) तथा पाकिस्तानको पञ्जाबमा जन्मेर अमेरिकालाई नै आफ्नो कर्मथलो बनाएका मोहबुब उल हक (१९३८–१९९८) आदिले मानव विकासमा जोड दिएका हुन् । सेनले सन् १९९८ को अर्थशास्त्रका लागि नोबेल पुरस्कार पनि पाए । उनीहरूले विकासमा नागरिक सहभागिता हुनु पर्छ भन्दै शिक्षा, क्षमता वृद्धि तथा राजनीतिक स्वतन्त्रताको पक्षमा वकालत गरे । सेनले मानिसको स्वतन्त्र छनोट गर्न पाउने अधिकार हनन हुनु मानव अधिकारको पनि हनन हुनु हो भनेका छन् ।
मानिसमा आधारभूत मानव अधिकार र विकासको निकटको सम्बन्ध हुन्छ भन्ने मान्यताको वकालत गर्नेहरूले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुन र संविधानले उल्लेख गरेका सबै अधिकारमाथि कुनै पनि संस्था र व्यक्तिले हस्तक्षेप गर्न नहुने बताउँदै आएका छन् । विकासका लागि नागरिक अधिकारको वहाली, सहभागिता, स्वतन्त्रता, विभेदको अन्त्य, पछि परेका समुदाय, वर्ग र क्षेत्रको उत्थान र विकासमा राज्यले लगानी र सुरक्षा गरिदिए विकासको वातारण बन्छ ।
मानव विकास प्रतिवदेनमा पनि विकासका लागि समाजमा रहेका विभेदको अन्त्य हुनुपर्ने उल्लेख गरिएका छन् । व्यक्तिगत स्वतन्त्रता र सुरक्षामा कतैबाट धम्की हुन नहुने, सबै खालका हिंसा हुन नहुने, बोल्ने–लेख्ने जस्ता प्रजातान्त्रिक अधिकारको हनन हुन नहुने, सामाजिक विभेद र अन्याय हुन नहुने आदि पक्षलाई विकासको आधार मानिएको छ । सहस्राब्दी विकास लक्ष्यले पनि विकासका लागि गरिबी र भोकमरीको अन्त्य, शिक्षा, लैङ्गिक समानता हटाउन जोड, बालमृत्युदरमा कमी तथा विकासमा सहभागिता वृद्धि गराउनु पर्ने जस्ता विषयलाई विकासका लागि आधारभूत वातावरण हो भनेको छ ।
विकासमा मूलतः तीन खालका पक्ष हुन्छन् । आर्थिक विकास, सामाजिक विकास र मानव विकास । विकासका तीन वटा मूल मूल्य (कोर भ्यालु) हरूमा आधारभूत आवश्यकताको आपूर्ति, छनोटको स्वतन्त्रता र व्यक्तिको क्षमता विकास पर्छन् । आर्थिकमा औद्योगिकीकरण, रोजागारीमा वृद्धि, आय वृद्धि, आधारभूत आवश्यकताका वस्तुको सहज र सरल आपूर्ति र पर्याप्त मात्रामा पूर्वाधारको विकास एवं विस्तार पर्छन् । सामाजिक पक्षमा विभिन्न विभेदमा कमी, न्याय, सुशासन, स्वतन्त्रता, सुरक्षा, समानता, सामाजिक कल्याण जस्ता कुरा पर्दछन् । मानव विकास पक्षमा जीवन बाँच्ने दरमा वृद्धि र सुखी जीवन जस्ता कुरा हुन्छन् । त्यसैगरी सामान्य पक्षमा प्रतिव्यक्ति आयमा वृद्धि, राष्ट्रिय आयमा वृद्धि, मानवीय आवश्यकताका वस्तुको उपलब्धता जस्ता कुरा पर्छन् ।
निष्कर्ष
विकाससम्बन्धी सबै मान्यताको निष्कर्ष भनेको मूलतः आर्थिक, सामाजिक र मानवीय जीवनमा समृद्धि, सुखी तथा सम्पन्नता ल्याउने हो । भौतिक साधन–स्रोत बढी हुनु मात्र पनि विकास होइन । मानवीय र सामाजिक जीवनसँग जोडिएका अनेकौँ विषयको सन्तुलन विकासमा खोजिन्छ । विकास तथा समृद्धिमा राज्य प्रमुख सेयरहोल्डर हो तर सम्पूर्ण सेयरहोल्डर होइन, हुन सक्दैन । नागरिकहरू विकासका सेयरहोल्डर सदस्य हुन् । तसर्थ उनीहरूको सार्थक सहभागिता र अपनत्व कसरी हुन सक्छ, त्यो नै दिगो विकास हुन्छ । नागरिक स्वतन्त्रता तथा अपनत्वसहित उनीहरूको आफ्नो आवश्यकताको सम्बोधन विकासको आधारभूत पक्ष हो । विकास कहिल्यै पूरा नहुने निरन्तर अघि बढ्ने प्रव्रिmया हो । भौतिक विकास महìवपूर्ण हुँदाहुँदै पनि त्यो मात्र विकास हो भन्ने साँघुरो सोच बदल्न सक्नु पर्छ । चिल्ला सडक, ठुला भवन, विज्ञान र प्रविधि विकासका प्रमुख माध्यम हुने भए पनि त्यसले मात्र मानवीय र सामाजिक विकास हुने चाहिँ होइन । विकास मानवको समग्र आवश्यकताको सन्तुलित वृद्धि हो ।
लेखक मानव अधिकार र संविधान विषयका विद्यावारिधिको शोधार्थी हुनुहुन्छ ।