• १३ मंसिर २०८१, बिहिबार

घारखोला जलविद्युत आयोजनाको परीक्षण सुरु

blog

पोखरेबगरमा निर्माण गरिएको आयोजनाको विद्युत गृह । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माण भएका १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ ।   

म्याग्दी हाइड्रोपावर प्रा.लि ले निर्माण गरेको उक्त आयोजनाको भौतिक निर्माण सकेर बुधबारदेखि डिसेन्डर, एप्रोच क्यानल, टनेल, पेनस्टकको परीक्षण सुरु गरिएको आयोजनाका आवासीय इन्जिनियर जोसेफ बज्राचार्यले बताउनुभयो । 

उहाँले भन्नुभयो, "बाँध र डिसेन्डर (पानी थिग्राउने पोखरी) मा पानी हालेर परीक्षण सम्पन्न गरेका छौँ । बुधबारदेखि टनेल र पेनस्टकको परीक्षण थालेका छौँ ।" प्रसारण लाइन र दानास्थित सब-स्टेसन परीक्षणको क्रममा रहेको उहाँले बताउनुभयो । 

आयोजनामा निर्माण भएका भौतिक संरचनाको अवस्था ठिक भए(नभएको पहिचान गर्न पानी हालेर परीक्षण थालेको उहाँले बताउनुभयो । भौतिक संरचनाको परीक्षण र मेशिनरी उपकरणको सफल  परीक्षण पश्चात् बिजुली उत्पादन थाल्ने आयोजनाले जनाएको छ । 

अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर)मा पानी हालेर परीक्षण गर्दा सबै ठिक भएको आयोजनाले जनाएको छ । 

डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेन्डर एप्रोच क्यानल जडान भएको छ । बाँध, डिसेन्डर र एप्रोच क्यानको दोस्रो चरणको परीक्षण बुधबारदेखि थालिएको आयोजनाले जनाएको छ । तीन हजार पाँच मिटर लामो सुरुङमा पानी बगाएर परीक्षण गरिने आयोजनाले जनाएको छ । 

अमिलाकाफलमा रहेको आउटलेटदेखि विद्युत गृह चार सय ८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेटदेखि विद्युत गृहको दुरी एक हजार दुई सय मिटर र उचाइ चार सय ८५ मिटर छ । पोखरेबगरस्थित गोजेखोल्सीमा पहाड काटेर विद्युत गृह निर्माण गरिएको छ । विद्युत गृहमा टर्वाइन, जेनेरेटर लगायत इलेक्ट्रोमेकानिकल तर्फका उपकरण जडान सम्पन्न भएको आवासीय इन्जिनियर बज्राचार्यले बताउनुभयो । 

उत्पादन भएको बिजुली पोखरेबगरदेखि दुई सय २० केभी क्षमताको दाना सब स्टेसनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रसारण लाइन मार्फत दाना सब-स्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।  

वि.सं. २०७४ चैतदेखि सुरु भएको घारखोला विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिए पनि कोरोना महामारीका कारण दुई वर्ष ढिला गरेर आयोजना सम्पन्न भएको हो। कूल २ अर्ब ४२ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैङ्कको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कमर्सियल बैङ्कले लगानी गरेका छन्। 

नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणको पनि आयोजनामा लगानी रहेको छ ।