• ८ वैशाख २०८१, शनिबार

बजार नपाएपछि तरकारी खेतीमा गाईवस्तु चराउँदै किसान

blog

तुलसीपुर ११ मोतीपुर गाउँका किसानले उत्पादन गरेको बन्दागोभी खेतीमा बाख्रा चराउँदै । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, जेठ २३ गते । तुलसीपुर उपमहानगरपालिका –११ मोतीपुरका किसानले लगाएको बन्दागोभी बिक्री नभएपछि गाईवस्तु चराउन थालेका छन् । वडा नम्बर ११ मोतीपुरका किसानले करिब सात बिघा क्षेत्रफलमा बन्दगोभीको खेती गरेका छन् । बन्दागोभी बिक्री नभएपछि किसानले गाईवस्तु चराउन थालेका हुन् । 

तुलसीपुर –११ मोतीपुरका किसान यज्ञबहादुर खत्रीले एक बिघा क्षेत्रफलमा बन्दागोभी खेती गर्नुभएको छ । एक कठ्ठा जग्गामा १२ क्विन्टलसम्म बन्दागोभी उत्पादन भएको छ ।  खत्रीको मात्रै एक बिघा जग्गामा दुईसय चालिस क्विन्टल बन्दागोभी उत्पादन भएको छ ।

खत्रीका अनुसार सो गाउँमा मात्रै करिब १४ सय क्विन्टल बन्दागोभी उत्पादन भएको छ । किसान खत्रीले उत्पादित बन्दागोभी बिक्री नभएपछि गाईवस्तु चराउन थालिएको बताउनुभयो । एक बिघा क्षेत्रफलमा बन्दागोभी खेती गर्दा करिब एक लाख रुपियाँ लगानी लागेको थियो । उहाँले बजार क्षेत्रसम्म लैजाँदा ढुवानी खर्च नै नउठ्ने अवस्था आएपछि गाईवस्तु चराउन थालिएको बताउनुभयो । बजारमा प्रतिकेजी पाँच रुपियाँ रहेको छ । 


यज्ञबहादुर मात्रै होइन, यस क्षेत्रमा खेती गरेका सबै किसानको समस्या उस्तै छ । तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले किसानले उत्पादन गरेको बस्तु बजारीकरणमा समस्या सिर्जना भएको भन्दै पालिकातर्फबाट दुई वटा क्षेत्रमा हाटबजार स्थापनाका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो । 

किसानलाई पकेटक्षेत्र निर्धारण बेमौसमी तरकारी खेती उत्पादनका लागि प्रोत्साहन गरिने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले किसानले उत्पादन गरेका बेमौसमी तरकारी बिक्री वितरण र मूल्यमा समस्या नभए पनि मौसमी तरकारी खेतीमा भने विगतदेखि नै मूल्य र बजारीकरणको समस्या रहेको बताउनुभयो ।