• १२ असोज २०८१, शनिबार

नमुना बन्दै स्थानीय पूर्वाधार सहयोग कार्यक्रम

blog

योजना अन्तर्गत निर्माण गरिएको गाग्राखोला जलविद्युत योजनाको तटवन्ध । तस्बिर : सहदेव बसनेत

सहदेव बस्नेत

जाजरकोट, जेठ २३ गते । जाजरकोटमा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम नमुनाको रूपमा विकास हुँदैगएको छ । नेपाल सरकार, बेलायती राजदूतावास, विश्व खाद्य कार्यक्रम र कर्णाली प्रदेशका १५ वटा स्थानीय तहहरूसँगको साझेदारीमा सो कार्यक्रम सञ्चालन भएको हो । 

रुकुमपश्चिम बाहेक अन्य नौ जिल्लाका विभिन्न स्थानीय तहगरी १५ वटा पालिकामा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम–पाइलटचरण कार्यान्वयन भइरहेको विश्व खाद्य कार्यक्रमले स्पष्ट पारेको छ । 

कार्यक्रम अन्तर्गत जलवायु उत्थानशील, हरित पुनर्लाभ, दिगो भू–व्यवस्थापनजस्ता कार्य भइरहेको आयोजनाले जनाएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने प्रकृतिका आयोजनाहरू प्राथमिकीकरण गरी छनौट गर्ने र स्थानीय तहको पूर्वाधारको दिगो व्यवस्थापन गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजनाले जनाएको छ । 

बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले चालु आर्थिक वर्षमा वारेकोट गाउँपालिमा बनेका गाग्राखोला लघु जलविद्युत आयोजना मर्मत, फड्का खोला लघु जलविद्युत आयोजना मर्मत, रजुवासीर्प बालुवा तटबन्धन र दह जडीबुटी सङ्कलन केन्द्र नमुना पूर्वाधारको रूपमा बनेको जानकारी दिनुभयो । 

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत यस आर्थिक वर्षमा बारेकोटमा ४ वटा आयोजना सम्पन्न भएको जानकारी दिनुभयो । कार्यक्रमको १ करोड ३८ लाख र पालिकाको करिब ४५ लाख सहलगानीमा आयोजना सम्पन्न भएको अध्यक्ष गिरीको भनाइ छ ।  

जाजरकोटका नलगाड र वारेकोट गाउँपालिमा गरी चालु आर्थिक वर्षमा ११ वटा आयोजना कार्यान्वयन भएको विश्वखाद्य कार्यक्रमले जानकारी दिएको छ । मुख्यगरी कार्यक्रमले आयोजना कार्यान्वयनमा अवलम्बन गरेका सुधारिएको खरिदविधि कामदारको ज्याला भुक्तानी प्रक्रिया आयोजनाका उदाहरणयोग्य रहेको स्थानीयको भनाइ छ । 

त्यस्तै, सामाजिक समावेशिता, खरिदविधि, महिला–पुरुष समान ज्याला, मर्मत सम्भार कोष परियोजनाका नमुना कार्यशैली रहेको जनाइएको छ । 

यस विधिअन्तर्गत आयोजनाका लागि आवश्यक पर्ने गैरखाद्य सामग्रीहरू स्थानीय तहले नै सार्वजनिक खरिद ऐन २०६४ अनुसार खरिद तथा आपूर्ति गर्ने गरेको छ । त्यस्तै, अन्य कार्य व्यवस्थापन उपभोक्ता समितिमार्फत हुने र  आयोजनामा संलग्न कामदारको ज्याला भुक्तानी सिधै बैङ्क खातामार्फत हुने गर्छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यक्रममार्फत स्थानीय तहलाई नीतिगत दस्ताबेज निर्माणमा पनि सहजीकरण हुँदैआएको छ । स्थानीय पूर्वाधार विकास आयोजना सञ्चालन तथा व्यवस्थापन ऐन, सुझाव तथा गुनासो व्यवस्थापन कार्यविधि, वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कन दिग्दर्शनजस्ता स्थानीय नीति पनि स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत सहजीकरण गरिएका छन् ।

बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरी कार्यक्रमले निर्दिष्ट गरेको विधि र पद्धतिअनुसार स्थानीय पूर्वाधार विकास आयोजना सञ्चालन गर्दा विकास आयोजनाहरू दिगो र प्रभावकारी हुने बताउनुभयो ।