भुवन कार्की
रुपन्देही, जेठ २३ गते । बुटवलस्थित शाइन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक सम्पर्कविहीन भएका छन् । सहकारीका अध्यक्ष प्रकाश खनालले बचतकर्तालाई रकम फिर्ता नगरी सम्पर्कविहीन भएका हुन् ।
तीन महिनाअघि सहकारीको साधारण सभा गरी बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने प्रतिबद्धता गरेका खनाल आफूले मागेको समय सकिएपछि एकाएक सम्पर्कविहीन भएको पीडितहरूले बताएका छन् ।
विगत तीन महिनादेखि बन्द रहेको सहकारीमा कार्यरत कर्मचारीहरूको समेत रकम लिएर अध्यक्ष सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरी प्रशासनमा उजुरी दिन पुगेका छन्।
सोमबार पीडितहरूले अध्यक्ष खनाल बस्ने घर बुटवल–११ देविनगरमा घेराउ गर्न पुगेका थिए । यसैगरी सहकारीको कार्यालयमा समेत पुगेका उनीहरू कार्यालयको मूल गेटमै ताला झुण्डिएको देखेपछि निराश हुँदै घर फर्केका छन् ।
बुटवलको देविनगरमा सामान्य पसल सञ्चालन गरेर बस्नुभएकी गोमा खड्काले खाइनखाई बचत गरेको ५० हजार रकम सहकारीबाट पाउन नसकेको बताउनुभयो । बुटवलमा व्यापार व्यवसाय गर्दै आएका योगेश पाण्डेले ७८ साल भाद्र महिनादेखि मासिक रूपमा रकम जम्मा गर्दै आएको ६० हजार रकम आफूले पाउन नसकेको बताउनुभयो ।
पीडितमध्येका बुटवलका प्रदीप थैवले सहकारीबाट तीन लाख रकम आफूले पाउनु पर्ने बताउँदै सञ्चालकलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दाबहादुर थापाले आवश्यक कारबाहीका लागि सहकारीका सञ्चालकलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।
करिब पाँच हजार साधारण सदस्य रहेको उक्त सहकारीमा नियमित बचत गर्ने १५ सय बढी सदस्य रहेको बताइन्छ ।