• १२ मंसिर २०८१, बुधबार

दुर्व्यसनी रोक्न किटको प्रयोग

blog

लागुऔषध प्रयोगबारे जानकारी दिने किटको परीक्षण नजिताबारे जानकारी दिदै प्रहरी प्रमुख । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, जेठ २२ गते । जिल्ला प्रहरी कार्यालय कालीकोटले लागुऔषध प्रयोगकर्ताको पहिचानका लागि किट प्रयोगमा ल्याएको छ । मान्मबजारमा लागुऔषध दुर्व्यसनी बढिरहेको आशङ्का प्रहरीले गरेपछि केही शङ्कास्पद युवाको परीक्षण गर्न दुई वटा कम्पनीको किट प्रयोग गरिरहेको छ ।

प्रहरीले आफ्नै लगानीमा दुई वटा कम्पनीका परीक्षण किट ल्याएर प्रयोग गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले कुनै विवाद गरेर नियन्त्रणमा लिनुपर्ने युवा र शङ्कास्पदलाई परीक्षण गरेर दुर्व्यसनी रोक्ने योजनाकासाथ आफूले किटको प्रयोग गरेको बताउनुभयो । 

आइतबार साँझ बजारमा विवाद गरिरहेका युवाको दुई समूहका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि लागुऔषध प्रयोगकर्ता हो, होइन भनेर यकिन गर्न परीक्षण गरिएको थियो । चार जनालाई गरिएको परीक्षणमा एक जनाले प्रयोग गरेको देखिएकाले उसलाई थप अनुसन्धान गरिएको छ ।    

लागुऔषध प्रयोगकर्ता हो भन्ने यकिन भएपछि उसले प्रयोग गरेको पसल र व्यक्तिका बारेमा सूचना लिन सहज हुने प्रहरीको विश्वास छ । प्रहरी प्रमुख रिमालले अन्य आरोपमा प्रहरी नियन्त्रणमा आएका युवाको पनि परीक्षण हुने बताउनुभयो । यस्तै, ज्यान सुकेका, विशेष गरेर तल्लो शरीर सुकेका युवालाई पनि किटको प्रयोग गरेर लागुऔषध प्रयोगकर्ता हो या होइन भनेर यकिन गर्न सहज हुनेछ । यो किटको प्रयोगले जिल्लामा लागूऔषध प्रयोगकर्ताको दर घटाउन सकिने प्रहरीको विश्वास छ ।