• १६ चैत २०८०, शुक्रबार

कर्णाली वारपार गर्न तुइनकै भर

blog

ल्याप्चेमा तुइन तर्दै पैदल यात्रु ।

राजन रावत

हुम्ला, जेठ २१ गते । राष्ट्रिय सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्ला आउजाउ गर्न पैदल यात्रुहरूलाई अहिले पनि तुइनकै भरमा कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यता छ। तुइन निर्माण गरिएका स्थानमा झोलुङ्गे पुल निर्माण नभएको कारण पैदल यात्रुहरुलाई कर्णाली नदी तर्न तुइनको प्रयोग गर्नुपर्न अवस्था छ ।

सर्केगार्ड गाउँपालिका –२ को लेप्चेमा कर्णाली नदी पार गर्न तुईन तर्दै गर्नुभएको पैदल यात्रु युकेस बोहराले यसरी नदी पार गर्नु रहर नभएर बाध्यता भएको बताउनुभयो । सर्केगार्डबाट सिमकोटतर्फ आउँदै गर्नुभएका उहाँले स्याल्तडीको झोलुङ्गे पुल तर्दा डेढ घण्टाको बाटो लामो हिँड्नुपर्ने भएपछि ल्याप्चेमा तुईन तर्नु परेको बताउनुभयो । उहाँले पैदल यात्रुहरू जोखिम भएपनि बाटो छोटो हिँड्नुपर्ने भएपछि तुइनमै चढेर नदी पार गर्ने गरेको बताउनुभयो । 

तुइन चढेर तर्ने क्रममा हावा लागेर उहाँले आफ्नो टोपी समेत गुमाउनु परेको थियो । कर्णाली कोरिडोरको सडक निर्माण गरी रहेको नेपाली सेनाले ल्याप्चेमा तुइन निर्माण गरेको छ । यसअघि सो स्थानमा स्थानीयले निर्माण गरेको तुइन थियो । तर अहिले सेनाले आफू पनि नदी वारपार गर्नका लागि निर्माण गरेको तुइन भने राम्रो छ । सो स्थानमा तुइन नतरेर पैदल यात्रुहरूले जानुपर्ने रिपगार्ड, लिप्ने, राता पानी, जिउसा हुँदै स्याल्तडी निस्केर झोलुङ्गे पुल तर्नु पर्दा साढे दुई घण्टा हिँड्नुपर्छ । 

स्याल्तडीबाट सेना निर्माण गरेको सडकबाट आए पैदल हिँडे एक घण्टामा तुइन निर्माण भएको स्थानमा पुग्न सकिन्छ । अर्का पैदल यात्रु राजे बुढाले ल्याप्चेको तुइनमा दैनिक एक सयसम्म पैदल यात्रुहरूले तर्ने गरेको बताउँदै डर लागेपछि समय छोटो लाग्ने भएको कारण तुइन तरेर नदी पार गरेको बताउनुभयो । डर मान्ने यात्रुहरू भने झोलुङ्गे पुल तर्ने हिसाबले लामै बाटोबाट जाने गर्छन् । तुइन तार्नका लागि भने कोही पनि बसेको हुँदैन । यसका लागि पैदल यात्रु तुइन तर्न सक्ने हुनुपर्छ । 

तुइन तर्न नजान्ने पैदल यात्रुहरूले भने अन्य मानिस आउन्जेल तुइन पार गर्ने स्थानमा कुरेर बस्नुपर्ने हुन्छ । यस्तै, हाल तुइनमै नदी पार गर्नुपर्ने अवस्था खार्पुनाथ गाउँपालिकाको लालीबगर, सर्केगार्ड गाउँपालिकाको दुल्लीकुना, अदानचुली गाउँपालिकाको गल्फागार्ड रहेका छन् ।