संसारको दुई हजार वर्षदेखिको इतिहास र विकसित हुँदै आएको संस्कृति र सभ्यतामा चिनियाँ कन्फ्युसियसदेखि दक्षिण एसियाका चाणक्यसम्मका सिर्जना र कार्यहरू अध्ययन गर्दा कुनै पनि देशको राजनीतिमाथि विज्ञताको नियन्त्रण रहिआएको पाइएको छ । शिक्षा, विज्ञता वा ज्ञानको नियन्त्रण राजनीतिमाथि रहेको देश र त्यहाँका जनताको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि पक्षको विकास भएको पाइएको छ । त्यसको विपरीत देशको शिक्षा, ज्ञान वा विज्ञतालाई राजनीतिले नियन्त्रण गरेको देश र त्यहाँका जनताको अवस्था बिग्रँदै गएको देखिएको छ । त्यही बिग्रेको अवस्थालाई बौद्धिकको भूमिका उपयोगले सपारेको इतिहास जीवितै छ । विडम्बना, बौद्धिक इतिहासको लेखन भने देखिन सकेको छैन ।
प्राचीन ग्रिस, मिश्र, आर्य आदि सभ्यतामा पढ्नु, चिन्तन गर्नु र बौद्धिकताका कुरा गर्नु वर्गविशेषको प्राधिकार मानिन्थ्यो । ‘बुद्धिजीवी’ शब्दलाई सर्वप्रथम उन्नाइसौँ शताब्दीको जारकालीन रुसमा विश्वविद्यालयको शिक्षा हासिल गरेका र त्यस अन्तर्गत व्यवसाय गर्न योग्य ठहराइएका व्यक्तिलाई बोध गर्न प्रलचनमा ल्याइएको थियो । युरोपमा मध्ययुगीन विश्वविद्यालयलाई नै साधारणतया आधुनिक बुद्धिवादीको जन्मस्थल मानिन्छ । रूढीवादी चर्च तथा सत्तारूढ वर्गको विरोध गरेर समाजका आलोचकका रूपमा ती बुद्धिवादी स्थापित हुन सकेका थिए । विश्वमा बुद्धिवादीले समाजको आलोचकको रूपमा आफ्नो स्थान ओगटेको सायद यही नै पहिलो अभ्यास हो । हिटलर जस्तो तानाशाहले पनि केही बौद्धिकलाई ठाउँ दिनु र केही दार्शनिक र कलाकारलाई प्रश्रय दिनुको अर्थ सामाजिक क्रियाकलापमा बौद्धिकको सक्रियता र संलग्नतामा वृद्धि भएर नै हो ।
युरोपमा १४–१७ औँ शताब्दीसम्मको अवधिलाई बौद्धिक क्षेत्रको पुनर्जागरण कालका रूपमा लिइन्छ । १४ औँ शताब्दीमा सिसेरो, भर्जिललगायत विद्वान्ले बौद्धिक जागरणको अभाव खट्किएको महसुस भएपछि पुनर्जागरणको लहर फैलाएका थिए । त्यसपछिका शताब्दीमा थोमस हब्स, जोन लक, जिन ज्याक रुसो, निकोलो मेकियाबेली, जोन स्टुअर्ट मिल आदि विद्वान्ले उक्त जागरण अभियानलाई निरन्तरता दिएका थिए । बौद्धिक वर्गको अग्रसरतामा सञ्चालित उक्त पुनर्जागरण अभियानमा नागरिक र राजनीतिज्ञ दुवै पक्षको सहभागिता उल्लेख्य रूपमा बढ्दै गयो । यसरी युरोप महाद्वीपमा तत्कालीन सरकार र जनतामा जागरण ल्याउन चार शताब्दी लागेको थियो । यस बौद्धिक जागरणले मानव जीवनको नवीन मूल्यप्रति चेतना जगायो । त्यस जागरणले मानवीय समस्या र चासोको विषयमा सम्बोधन गरेको थियो । युरोपका विभिन्न विद्वान्को विचार अथवा दृष्टिकोणको पारस्परिक सङ्घर्षको कारण युरोपको विकास भएको थियो । बौद्धिक पुनर्जागरणको यस महान् अभियानमा इटालीको महत्वपूर्ण योगदान रहेको देखिन्छ ।
फ्रान्सेली क्रान्तिको राजनीतिले बौद्धिकतालाई नियन्त्रण गर्न खोज्दाखेरि फ्रान्सको अवस्था नाजुक भयो । फ्रान्सेली क्रान्तिको बौद्धिकताले राजनीतिलाई नियन्त्रण गरिदिएको भए राम्रो लोकतन्त्र आउने थियो । फ्रान्सेली क्रान्तिमा भएको अराजकताविरुद्धमा भिक्टर ह्युगो, भोल्तेयर जस्ता बौद्धिकहरू बोलेका थिए । वास्तवमा राजनीतिज्ञले होइन, बौद्धिकले नै फ्रान्सेली क्रान्तिलाई सभ्य बनाएर फ्रान्सलाई अघि लगेका थिए ।
सन् १९६५ पछाडि चीनमा समस्याग्रस्त सांस्कृतिक क्रान्ति भयो । त्यसले निकै ठुलो नोक्सानी ग-यो र चिनियाँ नागरिकले त्यो क्षति बेहोर्नु प-यो । त्यसको विरुद्धमा पनि त्यहाँका बौद्धिक नै बोले । बौद्धिकको बोली सुनेर जनवादी गणतन्त्र चीनका प्रथम प्रधानमन्त्री चाउ एन लाइ र माओत्सेतुङ जस्ता शासकले बौद्धिकको विज्ञता प्रयोग गरी शासन चलाए । राज्यलाई नियन्त्रण गरी तिनले शासन गरेपनि बौद्धिकलाई शासकीय प्रबन्धमा उपयोग गर्नु पर्छ भन्ने कुरा महसुस गरे ।
राजनीतिक विकासका दृष्टिले अस्थिर मुलुकको शासन पद्धतिमा बौद्धिक वर्गले सकारात्मक नीतिगत हस्तक्षेप गरेका छन् । उदाहरणका लागि घानाका कार्यकारी प्रमुख डा एनक्रुमाले सन् १९५२ मा बाह्य तथा आन्तरिक राजनीतिक द्वन्द्वको अवतरण तथा सामाजिक–आर्थिक विकासका लागि बौद्धिक वर्गसँग रणनीतिक शासकीय साझेदारी नै गरेका थिए । ग्रिक र रोमन भाषामा लेखिएका प्राचीन ग्रन्थको परिशीलनबाट मध्ययुगीन अन्धकार चिर्दै कला, साहित्य, संस्कृति, राजनीति, अर्थतन्त्रलगायत युरोपको समग्र जनजीवनमा जागरण छाएको थियो । २० औँ शताब्दीको उत्तरार्धतिर विश्वको शासकीय अभ्यासमा बौद्धिक वर्गको स्थान सुरक्षित रहनुका साथै शासकीय भूमिका पनि उत्तिकै रूपमा रह्यो । भूमण्डलीकृत विश्वमा उदाउँदै गरेका अमेरिका, चीन जस्ता महाशक्ति राष्ट्रहरूको शासकीय प्रबन्धमा विज्ञकै भूमिका रहेको पाइन्छ । जसले बौद्धिक वर्गको भूमिका सरकारकै समानान्तरीय हैसियतमा निर्णायक बन्दै गएको प्रमाणित गर्दछ ।
हाम्रा पौराणिक ग्रन्थमा विभिन्न राज्यमा हुने विद्वान्को सभा सम्मेलनमा ऋषिमुनिबाट नयाँ नयाँ ज्ञान उत्पादन गरी न्याय सम्पादनको आधार फराकिलो पारिन्थ्यो भन्ने प्रसङ्ग उल्लेख छ । वेद, महाभारत, रामायण, भागवत गीता जस्ता हिन्दु धर्मावलम्बीका प्राचीन ग्रन्थहरू, बौद्ध धर्मावलम्बीको त्रिपिटक, इसाई धर्मावलम्बीको बाइबल र इस्लाम धर्मावलम्बीको कुरान जस्ता मुख्य ग्रन्थहरू त्यतिबेलाका बौद्धिक मानिने ऋषिमुनिले नै लेखेका थिए । ऋग्वेदले कल्पना गरेको राष्ट्र, संसद् जस्ता राजनीतिक शब्द तथा राजधर्म शिरोधार्य गरेर हाम्रा पुर्खाले हजारौँ वर्षपहिले सबैको हित होस् भन्ने मार्गचित्र देखाएका थिए ।
संस्कृतवादी हिन्दु तथा बौद्धिवादी पुरोहितहरू लिच्छविकै समयदेखि राजदरबारमा बसोबास गर्थे । उनीहरू संस्कृतजन्य हुनुका अतिरिक्त तिनले दरबारमा स्वाभाविक रूपमा स्थान पाएका थिए । राजदरबारसँगको सम्पर्क तथा प्रभावका अतिरिक्त जनजीवनका दैनिक पुरातनवादी संस्कारमा पुरोहितको भूमिका थियो । इतिहासका अध्येता लिच्छवि र मल्लकालमै बौद्धिकताको अभ्यास सुरु भएको मान्दछन् ।
दशौँ–एघारौँ शताब्दीको उत्तर भारतको मगधकालमा रत्नकृति, विरोचन र कनकश्री जस्ता नेपाली विद्वान्को विक्रमशील महाविहारमा ठुलो इज्जत गरिन्थ्यो भन्ने तथ्य अभिलेखित छ । सो तथ्यबाट उक्त समयमा नेपालमा विद्वताको स्तर निकै माथि पुगेको दर्शाउँछ । प्राचीन नेपालमा पनि आध्यात्मिक प्रवचनमार्फत समाजलाई चेतना दिने प्रयास हुन्थ्यो भनिन्छ ।
उन्नाइसौँ शताब्दीको आधुनिक कालखण्डमा बौद्धिक चेतनाकै कारण तत्कालीन बाइसे–चौबिसे टुक्रे राज्यलाई एकीकरण गर्न सम्भव भएको थियो । पृथ्वीनारायण शाहले मुगल र बेलायती साम्राज्यलाई पराजित गरी नेपालमा बलियो र स्थिर राज्य स्थापना गरेका थिए । राणाकालमा तत्कालीन शासकले धर्मगुरु र पुरोहितलाई आमनागरिकको दिमाग सफा गर्न अस्त्रको रूपमा प्रयोग गर्थे । तत्कालीन समयका पण्डित, ज्योतिषि र पुरोहित बुद्धिका स्रोत थिए । राणा शासन तत्कालीन राजनीतिक चेतका बुद्धिजीवी वर्गको राजनीतिक जागरणबाट पतन भएको थियो । यसलाई नेपालको इतिहासमा बौद्धिक वर्गको मुख्य उपलब्धिको रूपमा लिने गरिन्छ ।
नेपाली आधुनिक चेतनाको निर्माण कसरी र कहाँबाट सुरु भयो भनेर आजसम्म नेपालको बौद्धिक इतिहास लेखिएकै छैन । विसं २००७ को आन्दोलनबाट प्राप्त उपलब्धिलाई राजनीतिक अभिप्रायले निर्देशित आधुनिक युगको बौद्धिक र सामाजिक चेतनामा भएको विकासको मिश्रित उपलब्धिको रूपमा लिइएको छ । २००७ सालको जनक्रान्तिको नेतृत्व गरेका विश्वेश्वरप्रसाद (बिपी) कोइराला बौद्धिक जागरण एवं बौद्धिक क्रान्तिका नायक मानिन्छ । बिपी आफैँमा बौद्धिक व्यक्तित्वका धनी थिए र अर्को दृष्टिले हेर्दा उनी प्रखर राजनीतिक चिन्तक थिए । उनमा भएको विद्वता र राजनीतिक ज्ञान जस्ता विलक्षण गुण र प्रतिभाकै कारण राजा महेन्द्रले उनलाई झमेरो इन्सुरेन्स पोलिसी होझ भन्थे रे । आधुनिक नेपाल निर्माणका प्रतिनिधिपात्र विश्वेश्वरप्रसाद कोइरालाले नेपाली समाजलाई बौद्धिक र सांस्कृतिक रूपमा आकार दिएका छन् । उनमा बौद्धिक क्षमता र प्रखर विश्वदृष्टि हुनुका साथै राजनीतिक नैतिकताप्रति अटल विश्वास थियो ।
नेपालमा सैद्धान्तिक अवधारणा अनुसारको ‘पब्लिक इन्टेलेक्चुअल’ को अभ्यास भने २००७ सालको सेरोफेरोमा सुरु भएको मानिन्छ । विसं २०१७ पछि अर्थात् महेन्द्रकालीन राज्यसत्तामा योगी नरहरिनाथ, स्वामी प्रपन्नाचार्य जस्ता उच्चस्तरीय चिन्तक पनि देखापरेका थिए । पञ्चायती शासन व्यवस्था स्थापना गरिएपछि नेपालीको चेतनामा सुषुप्त अवस्थामै भए पनि बौद्धिकताको अभ्यास रोकिएको थिएन तर त्यसकालमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता भने निषिद्ध थियो ।
विसं २०१७ पछि राजा महेन्द्रले कुनै निर्णय गर्नुअघि त्रैलोक्यनाथ उप्रेती, सरदार यदुनाथ खनाल, डा हर्क गुरुङ जस्ता बुद्धिजीवीको प्रत्यक्ष र परोक्ष राय बुझेर काम गर्थे । साहित्यकार श्यामदास वैष्णव बताउँछन्, “उनीहरूका प्रतिक्रिया , धारणा र टिप्पणी दरबारको ‘रोयल इन्टेलिजेन्स ब्युरो’ समक्ष पु¥याएर बुद्धिजीवीमध्येका केहीले पारिश्रमिक पाउँथे ।” राजा महेन्द्रको पालामा केही विज्ञले परराष्ट्र मन्त्रालय, योजना आयोग, विश्वविद्यायालय आदिमा काम गर्ने मौका पाए । ती निकायमा बौद्धिकलाई शासकीय कामको जिम्मेवारी दिएर समाजको रूपान्तरण गर्ने काम भयो ।
राजा वीरेन्द्र बौद्धिकदेखि आफूलाई एकदमै असुरक्षित महसुस गर्थे र बौद्धिकलाई नजिक ल्याउने जोखिम कहिल्यै उठाएनन् । राजा महेन्द्रको मृत्युपछि दरबार अल्मलियो, विज्ञता पनि सिद्धियो । राजाको शासन दरबारमा मात्र केन्द्रित भयो । चाटुकार शासनमा प्रवेश गर्न थाले । असल विज्ञहरू हराए । २०४६ सालपछि बौद्धिकताको नाम निशानै नरहने गरी नामेट पारिएको गुनासो व्यापक छ । बौद्धिकता सबै समाप्त पारियो । देशभित्र बस्नै नसक्ने स्थिति सिर्जना गराइयो । यसले गर्दा बौद्धिकताको अपमान र अवमूल्यन मात्र होइन, अवसान नै गराइयो ।
समग्रमा भन्दा, बौद्धिक अभ्यासका निम्ति पञ्चायती व्यवस्था प्रतिकूलै थियो । बौद्धिक अभ्यास निषेध रहेको पञ्चायती कालमा पनि आर्थिक इतिहासकार महेशचन्द्र रेग्मी, अङ्ग्रेजी भाषाविद् प्राडा. कमलप्रकाश मल्ल, कूटनीतिज्ञ ऋषिकेश शाह, लेखिका पारिजात आदि निर्भीक र जुझारु प्राज्ञहरूले तटस्थ र स्वतन्त्र रही कलम चलाएका देखिन्छ । नेपालमा २०४६ सालपछि राजनीतिक दलैपिच्छेका बौद्धिक सङ्गठन खडा भए । तिनीहरू कुनै पेसागत त कुनै नागरिक समाजको हैसियतमा स्थापना भए तर अहिलेसम्म उनीहरूले बौद्धिक इतिहास लेख्ने चासो देखाएनन् । अब लेख्नु भने जरुरी छ ।
लेखक वन विभागमा शाखा अधिकृत हुनुहुन्छ ।